केन्द्रलाई चाप दिन जीएसएसएसले सोमबारदेखि धरना शुरु गर्ने

0
1690

दार्जीलिङ, 16 नोभेम्बरः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले  आउँदो सोमबारदेखि जन्तर मन्तरमा साङ्केतिक धरना कार्यक्रम शुरु गर्नेछ। दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानको वचन गर्न पूरा गर्नका लागि केन्द्रमाथि चाप सृष्टिका लागि जीएसएसएसले धरना कार्यक्रम गर्ने निर्णय लिइएको प्रवक्ता अञ्जनी शर्मा भुजेलले जानकारी गराएकी छन्।

“आउँदो सोमवारदेखि शीतकालीन सत्र शुरु हुँदैछ। यसैले हामीले केन्द्रमाथि हाम्रो माग प्राप्तिका लागि दबाउ दिन धरना शुरु गर्न लागेको हौं’’, उनले थपिन्, “हामी शीतकालीन सत्र सम्पन्न भइञ्जेल प्रत्येक सोमबार साङ्केति धरना दिनेछौं।”

अर्कोतिर जीएसएसएस अध्यक्ष किरण बिकेले पनि सोशल मिडियामार्फत् साङ्केतिक धरनाबारे जानकारी गराएका छन्।

पछिल्लो लोकसभा चुनाउमा भाजपाले आफ्नो चुनावी सङ्कल्प-पत्रमा समावेश गरेको गोर्खाहरूको स्थायी राजनीतिक समाधानबारे केन्द्र र सांसद राजु विष्टलाई अवगत गराउन तथा चाप दिनका लागि जीएसएसएसले यस्तो धरना कार्यक्रम गर्ने निधो गरेको उनले बताएका छन्।

‘‘वर्तमान स्थितिमा स्थायी राजनीतिक समाधान के हो भन्नेबारे गोर्खाल्याण्डपन्थी दलहरूका भिन्नभिन्नै मत भएको तथा जनप्रतिनिधि र सरकारपक्षको कुनै ठोस टेक नरहेको महसुस गरेपछि साङ्केतिक धरनाद्वारा गोर्खाहरूका लागि स्थायी राजनीतिक समाधान भनेको छुट्टै राज्य हो। साथै यथाशीघ्र यसको पहल गरिनुपर्छ भन्ने स्पष्ट सन्देश दिनहेतु उक्त धरना आयोजना गरिएको हो’’, जीएसएसएस अध्यक्षले भनेका छन्।

यसका साथै उनले सम्पूर्ण राजनीतिक दल, सङ्घ-संस्था, व्यक्तिविशेषहरूलाई धरनामा सामेल भई सकारात्मक समयमा गोर्खाहरूको न्यायका लागि आवाज चर्को बनाउने आह्वान पनि गरेका छन्। धरना बिहान 11 बजेखि शुरु हुने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here