नेहरु रोडका विस्थापित हकरहरूले नगरपालिकाको निर्देश नमान्ने, भोलिदेखि कसैगरी दोकान थाप्ने

0
1665
पत्रकारहरूलाई सम्बोधन गर्दै युनियनका पदाधिकारीहरू।

दार्जीलिङ, 16 नोभेम्बरः दार्जीलिङ नगरपालिका र नेहरु रोडका विस्थापित फुटपाथ व्यवसायी (हकर्स)-बीच विवाद चुलिने आशङ्का देखिएको छ। किनभने आयआर्जनको माध्यम बन्द भएपछि समस्यामा परेका ती फुटपाथ व्यवसायीहरूले   भोलि अर्थात् आइतवार अपराह्न  4 बजेदेखि कुनै पनि अवस्थामा दोकान थाप्ने निर्णय गरेका छन्।

स्मरणरहोस्, पछिल्लो 6 नोभेम्बरको दिन दार्जीलिङ नगरपालिकाले नेहरु रोडसहित चौरस्ता वरिपरिको फुटपाथमा दोकान थाप्ने व्यवसायीहरूलाई  नोटिस जारी गरी आ-आफ्नो दोकान उठाउने निर्देश दिएको थियो।

m°यसपछि नै व्यवसायीहरूले 7 नोभेम्बरदेखि चौरस्ता वरिपरि र  नेहरु रोडमा दोकान थाप्न पाइरहेका छैनन्। जसको फलस्वरूप उनीहरूको आयआर्जनमा नराम्रो गरी प्रभावित भएको छ।

उल्लेखनीय छ, यहाँ चिया, कफी, आइसक्रिम, पुच्का, मःमः र चाउमिन आदि बेच्ने करिब 150 हकर्सले आफ्नो दोकान उठाएका छन्।

शनिवार प्रेस गिल्डमा एक पत्रकार सम्मेलन गरी यी व्यवसायीहरूले भोलि  अपराह्न 4 बजेदेखि नेहरु रोडमा दोकान थाप्ने घोषणा गरेका हुन्। उनीहरूले भोलि अपराह्न 4 बजेखि राति 9 बजेसम्म कुनै पनि अवस्थामा दोकान थाप्ने घोषणा गरेका छन्।

यसका साथै आ-आफ्नो दोकान उठाइसकेपछि त्यहाँ राम्रोसँग सरसफाइ गर्ने आश्वासन पनि दिएका छन्। अर्कोतिर विस्थापित यी हकर्सहरूको पक्षमा नेशनल हकर फेडरेशन र हकर सङ्ग्राम कमिटी पनि अघि आएका छन्।

विशेष गरी नेहरु रोडका फुटपाथ व्यवसायीहरूलाई दोकान थाप्ने अनुमति नदिएको खण्डमा यी दुई सङ्गठनले कानुनी पदक्षेप उठाउने पनि चेताउनी दिएका छन्।

यसबारे बोल्दै दार्जीलिङ हकर्स युनियनकी महासचिवा सृष्टि छेत्रीले नेहरु रोडको किनारमा दोकान थापेर जीवन धान्नेहरूमध्ये कतिजना 24-25 वर्षदेखिको रहेको पनि बताएकी छन्।

उनका अनुसार यति पुराना व्यवसायीहरूलाई पनि दोकान थाप्न दिइरहेको छैन। छेत्रीका अनुसार धेरै दोकानदारको अवस्था सोचनीय बन्न थालेपछि अब उनीहरू कसै गरी पनि दोकान थाप्न बाध्य बनिरहेका हुन्।

यसैबीच, नेशनल हकर फेडरेशनका संयुक्त सचिव एवं हकर सङ्ग्राम कमिटीका अध्यक्ष असित शाहले यहाँका हकरहरूलाई हटाउनु पूर्ण रूपले अवैध रहेको दावी गरे।

“स्थानीय अधिकारीवर्गले माथिल्लो स्तरबाट अर्डर आएको कारण नै यहाँका हकरहरूलाई हटाइएको बताइरहेका छन्। तर, उनीहरूले माथिल्लो स्तरबाट आएको अर्डर देखाउन सकेका छैनन्”, उनले थपे, “स्ट्रीट भेण्डर्स एक्ट 2014 -अनुसार फुटपाथ व्यवसायीहरूको जीवन धान्ने सुरक्षा ऐन बनिएको थियो। त्यस ऐनको पनि यहाँ उल्लङ्घन गरिएको छ।”

“राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नै हकरहरूलाई दोकान थापेर आफ्नो जीवन धान्ने अधिकार दिएकी छन् भने यहाँका 4-5 जना अधिकारीले त्यसको पनि उल्लङ्घन गरिरहेका छन्। यदि मल रोड र चौरस्ता वरिपरिका फुटपाथ व्यवसायीहरूलाई हटाइए यहाँ आउने पर्यटक साथै स्थानीय जनता यहाँका ठूल्ठूला दोकानहरूमा सामान किन्न, चिया, मःमः खान खान बाध्न बन्नेछन्। जसका लागि जनताले मोटो रकम चुकाउनुपर्नेछ। कतै यहाँ ठूला उद्योगपतिहरूको निर्देशमा नै फूटपाथ व्यवसायीहरूलाई हटाउने कार्य गरिएको होइन?”, उनले शङ्का गरे।

यसरी नै दार्जीलिङ हकर्स युनियनकी महासचिवा सृष्टि छेत्रीले थपिन्, “हामीले दिनभरि-रातभरि पनि यहाँ दोकान राखेका छैनौं। पर्यटन मौसममा केवल साँझपखदेखि राति 9-10 बजेसम्म मात्र दोकान राख्ने गरेका छौं। यसै दोकानको भरमा धेरै परिवारको जीवन अघि बढ़िरहेको छ। तर, गत 10 दिनदेखि यहाँ करिब 150 जना सदस्यले दोकान थाप्नै नपाएपछि उनीहरूको आर्थिक स्थिति सङ्कटमा पर्नु स्वाभाविक नै हो। यसैले भोलि साँझ 4 बजेदेखि हामी नेहरु रोडमा दोकान थाप्नेछौं।”

अर्कोतिर, नगरपालिकाका एक अधिकारले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भोलि चौरस्ता  वरिपरि र नेहरु रोडमा ती फुटपाथ व्यवसायीहरूलाई दोकान थाप्न नदिने स्पष्ट बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here