एचपीडब्ल्यूयू र विमलपन्थी डीटीडीपीएलयूका प्रतिनिधिहरूद्वारा केन्द्रिय मन्त्रीसँग भेटवार्ता

0
1082
केन्द्रिय श्रम तथा रोजगार सचिव हीरालाल सामरियासँग प्रतिनिधि टोली।

दार्जीलिङ, १९ नोभेम्बर: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू) र विमलपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का प्रतिनिधिहरूले हिजो केन्द्रिय श्रम तथा रोजगार राज्यमन्त्री (स्वतन्त्र प्रभार) सन्तोष गङ्गवारसँग भेट गरे।

सांसद राजु विष्टको अगुवाइमा गएको उक्त प्रतिनिधि टोलीमा एचपीडब्ल्यूयूबाट कार्यकारी अध्यक्ष डीके गुरुङ, महासचिव एसके लामा र गोरामुमो मिडिया सेल प्रभारी दिनेश साम्पाङ तथा विमलपन्थी डीटीडीपीएलयूबाट सुरज सुब्बा र गणेश गोपाल रुचाल उपस्थित थिए।

यसअवसरमा उनीहरूले पहाड़का चियाकमान र चियाश्रमिकहरूका विभिन्न समस्याबारे केन्द्रिय मन्त्रीलाई अवगत गराउँदै यी समस्याहरूको समाधानका लागि शीघ्र पहल गरिनुपर्ने माग गरेका थिए। यो मागसम्बन्धमा प्रतिनिधि टोलीले मन्त्रीलाई एक ज्ञापन पनि चढ़ाएको छ।  

गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी गराएअनुसार उक्त संयुक्त प्रतिनिधि टोलीले हिजै लोकसभा अध्यक्ष ओम बिड़ला र केन्द्रिय श्रम तथा रोजगार मन्त्रालयका सचिव हीरालाल सामरियासँग भेट गरी क्षेत्रका चियाकमान र चियाश्रमिकहरूको अवस्था र समस्याबारे अवगत गराएका थिए। केन्द्रिय श्रम तथा रोजगार मन्त्री सन्तोष गङ्गवारसँगको भेट एचपीडब्ल्यूयू महासचिव एसके लामाले सकारात्मक रहेको बताएका छन्।

लामाका अनुसार भेटवार्ताअवधि केन्द्रिय मन्त्रीले यसै शीतकालीन अधिवेशनमा सरकारले चियाश्रमिकहरूलाई फाइदा पुग्ने निर्णय लिने आश्वासन दिएको बताए। यसका साथै सरकारको ओएसएच बिल २०१९-ले चियाश्रमिकहरूका लागि ठूलो फाइदा पुग्ने पनि मन्त्रीले भेटवार्ताअवधि आश्वासन दिएके लामाले थप बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here