दार्जीलिङ, १९ नोभेम्बरः पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि भूमिगत अवस्थामा रहेका गोजमुमो नेताद्वय विमल गुरुङ र रोशन गिरीको अन्तरिम जमानती याचिकामाथि मङ्गलवार कोलकाता उच्च न्यायालयमा सुनवाइ हुनसकेन।
सूत्रका अनुसार हिजै ‘फुलकोर्ट मिटिङ’ रहेकोले सुनवाइ हुननसकेको हो। यसभन्दा अघि कोलकाताको ७ नोभेम्बरका दिनदेखि गोजमुमो पहिलो खोमाका अध्यक्ष-महासचिव गुरुङ-गिरीमाथि पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि लागेका १२६ र अन्य नेताहरूको ३१ गरी कुल १५७ मुद्दाको सुनवाइ शुरु भएको थियो।
यद्यपि त्यसदिन यी मुद्दाहरूको सबै केस डायरी नआइपुगेको भनेर सरकारीपक्षले थप समय मागेपछि न्यायालयले थप १० दिनको समय दिँदै १९ नोभेम्बरदेखि नियमित सुनवाइ हुने निर्देश दिएको थियो। यो सुनवाइ अपराह्न ३.३० बजेदेखि हुने तय गरिएको थियो। तथापि हिजो त्यसैसमय कोलकाता उच्च न्यायालयको फुलकोर्ट मिटिङ परेकोले सुनवाइ हुननसकेको बताइएको छ।
अब आगामी सोमवारदेखि नियमित सुनवाइ हुने पनि सूत्रले बताएको छ।