सिलगढ़ी, २० नोभेम्बरः भारतीय गोर्खा परिसङ्घ सिलगढ़ी क्षेत्रीय समितिको प्रतिनिधि टोलीले बुधवार सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्यसँग भेटवार्ता गऱ्यो।
यसअवसरमा भागोप टोलीले मेयर भट्टाचार्यलाई पारिजातको सालिक रहेको चेक पोस्ट चोकलाई मूर्धन्य साहित्यकार विष्णुकुमारी वाइबा उर्फ पारिजातको नाममा पारिजात चोक राखिनुपर्ने माग गरेको छ।
यसका साथै सिलगढ़ीका कुनै प्रमुख सड़क या चोकलाई सिलगढ़ी नगरपालिका पहिलो कमिश्नर एवं खरसाङ-सिलगढ़ीका विधायक जर्ज महाबर्ट सुब्बाको नाममा राखिनुपर्ने पनि सुझाएको छ। यससम्बन्धमा भागोप टोलीले आज मेयरलाई एक ज्ञापन पनि चढ़ाएको छ।
भागोप प्रतिनिधि टोलीमा सिलगढ़ी एकाइका अध्यक्ष भानुप्रकाश मार्मिक, महिला परिषद्की राष्ट्रिय संयोजक डा. पूनम सुब्बा, भागोप राष्ट्रिय महासचिव अभय खालिङलगायत अन्य थिए।
उल्लेखनीय छ, सिलगढ़ी नगरनिगमले हालै लिएको प्रस्ताव अनुसार शहरका विभिन्न चोक र सड़कको नाम फेरेर नयाँ नाम राख्ने कार्य गरिरहेको छ।
तथापि प्रस्तावित नामहरूमा एउटै पनि गोर्खा समुदायका विशिष्ट व्यक्तिहरूका छैनन्। त्यसैले भारतीय गोर्खा परिसङ्घले आज मेयरलाई भेटेर यससम्बन्धमा ज्ञापन चढ़ाएको हो।