दार्जीलिङ, २२ नोभेम्बरः भारतीय जनता पार्टीका सांसद अशोक महादेवराव नेते आज छुट्टै राज्य विदर्भ गठनका लागि सदनमा प्राइभेट मेम्बर बिल ल्याउनेछन्।
सांसद नेतेले उक्त बिलमा छुट्टै विदर्भ राज्य गठनका लागि संवैधानिक कमिटी गठन गरी यसका लागि पहल शुरु गरिनुपर्ने माग गरेका छन्।
महाराष्ट्रलाई विभाजन गरी छुट्टै राज्य विदर्भ गठनको माग पुरानो हो। यो मागलाई नितिन गडकरीलगायत अन्य भाजपाका शीर्ष नेतृत्वले समय समयमा समर्थन गर्दै आइरहेका छन्।
अर्कोतिर, नेशनल फेडरेशन फर न्यू स्टेटका महासचिव डा. मुनिष
तामाङले विदर्भ राज्य गठनका लागि भाजपा सांसद नेतेलेको प्राइभेट मेम्बर बिललाई
समर्थन जनाएका छन्।
‘हामी नेशनल फेडरेशन फर न्यू स्टेटको पक्षबाट यो बिललाई समर्थन जनाउँछौं। साथै
सरकारले यसका लागि ठोस पहल गरुन् भन्ने माग पनि गर्छौं’, उनले थपे, ‘विदर्भजस्तै
छुट्टै राज्य गोर्खाल्याण्डको माग पनि धेरै पुरानो हो। अझ विदर्भभन्दा पनि पुरानो।
यसैले हाम्रो गोर्खाल्याण्डको मागलाई पनि सरकारले गम्भीरतासँग लिएर यसका लागि ठोस
पहल गर्नुपर्छ भन्ने हाम्रो माग छ।’
उनका अनुसार दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानबारे भाजपाले गरेको चुनावी वाचाअनुसार छुट्टै राज्य गोर्खाल्याण्डका लागि पहल शुरु गर्नु नै उपयुक्त हुनेछ।
उल्लेखनीय छ, विदर्भ राज्य गठनका लागि सदनमा प्राइभेट बिल ल्याइएपछि दार्जीलिङका सांसद राजु विष्टमाथि पनि गोर्खाल्याण्डका लागि ठोस कार्य गर्ने दायित्व बढ़्नेछ।
सदनमा मुद्दा मात्र उठाउने कि यसका लागि ठोस कार्य गरी इमानदारी देखाउने? सांसद विष्टतिर फर्केको अहिलेको प्रश्न यही हो।
हुन त प्राइभेट बिल पास हुने सम्भावना अत्यन्त न्यून रहन्छ। किनभने भने अहिलेसम्म सदनमा पेश गरिएका प्राइभेट बिलहरूमा एकाध मात्र पास भएर कानून बनिएका छन्। यद्यपि आज विदर्भ राज्य गठनको प्राइभेट बिलले यो राज्यको गठनप्रति भाजपाको प्रतिबद्धता र उद्देश्यलाई भने स्पष्ट पार्छ।