स्थायी राजनीतिक समाधान र जनजातिको माग पूरा गर्न प्रधानमन्त्रीलाई विष्टको अनुरोध

0
2210
प्रधानमन्त्रीलाई सङ्कल्प-पत्रमा जताएका प्रतिबद्धताबारे अवगत गराउन ज्ञापन चढ़ाउँदै सांसद राजु विष्ट।

दार्जीलिङ, २७ नोभेम्बरः बुधवार सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी दार्जीलिङ संसदीय क्षेत्रका विभिन्न मुद्दाबारे अवगत गराएका छन्। स्वयं विष्टले एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीसँगको भेटवार्ता र यसअवधि उठाएका मुद्दाहरूबारे जानकारी गराएका छन्।

सांसद राजु विष्टका अनुसार प्रधानमन्त्रीसँगको भेटवार्ताअवधि उनले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान, ११ जातगोष्ठीलाई जनजातिको मान्यता, चियाबारी-सिन्कोना बगान र वनबस्तीको मुद्दा, क्षेत्रको भाषा, संस्कृति र परम्पराको जगेड़ालगायत अन्य मुद्दा उठाएका छन्।

यसअवसरमा प्रधानमन्त्रीअघि लोकसभा चुनाउमा पार्टीले सङ्कल्प-पत्रमा प्रतिबद्धता जनाएका दुई मुद्दा दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान र ११ जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गर्ने वाचाबारे पनि आफूले अवगत गराउनका साथै यसबारे पहल गरिनुपर्ने माग गरेको यी सांसदले बताएका छन्।

‘दीर्घकालीन शान्ति र समृद्धका लागि पार्टीले सङ्कल्प पत्र २०१९-मा दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि गरेको प्रतिबद्ध पूरा गर्नका लागि प्रधानमन्त्रीलाई हस्तक्षेपका लागि अनुरोध गरेको छु’, विज्ञप्तिमा विष्टले थप भनेका छन्, ‘यसका साथै मैले थाँतीमा रहेको ११ जातगोष्ठीको जनजातिको मुद्दाबारे पनि अवगत गराएको छु। साथै यो मागलाई पूर्ण गर्नका लागि तीव्र प्रकिया चाल्नुपर्ने उनीसँग माग गरेको छु।’

विज्ञप्तिका अनुसार उनले यी दुई मुद्दाबाहेक चियाबारी र सिन्कोनावासीहरूको जीवनशैली र यी दुई उद्योगको खस्किँदो अवस्थाबारे पनि प्रधानमन्त्री अवगत गराउँदै चिया र सिन्कोना उद्योगलाई पुनः जीवन्त गर्नुपर्ने माग गरे। साथै उनले वनबस्तीका मानिसहरूको सुरक्षा र क्षेत्रका भाषा, संस्कृति, परम्परालाई जगेरा गर्नुपर्ने माग गरेको पनि बताइएको छ।

यसैगरी दार्जीलिङ र कालेबुङ जिल्लालगायत चोपड़ा र उत्तर बङ्गालका अन्य ठाउँहरूलाई बुनियादी संरचना र सुविधाबाट वञ्चित राखेर कसरी दशकौंदेखि उपेक्षा गरिँदै आइरहेको छ त्यसबारे पनि आफूले प्रधानमन्त्रीलाई अवगत गराएर यी क्षेत्रहरूको कायाकल्पको अनुरोध गरेको विष्टले थप बताएका छन्।

अर्कोतिर, उनले सिलगढ़ी भारतका उत्तर-पूर्वी राज्यहरू र दक्षिणपूर्वी एशियाका लागि एक मुख्य प्रवेशद्वारको रूपमा रहेको तथा यो क्षेत्र अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र वाणिज्य हब बनिने प्रचुर सम्भावना रहेको भेटवार्ताअवधि प्रधानमन्त्रीलाई जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा सांसद राजु विष्टले दाबी गरेअनुसार प्रधानमन्त्रीले क्षेत्रको शान्तिलाई महत्त्व दिनका साथै क्षेत्रको मुद्दालाई समाधान सरकार समान रूपले गम्भीर रहेको बताएका छन्। प्रधानमन्त्री मोदीकै सुझाउमा यी मुद्दाहरूलाई अब गृहमन्त्री अमित शाहसमक्ष राखिने पनि सांसद विष्टले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here