असममा दुर्गा मल्लको सालिक तोड़फोड़, 24 घण्टाभित्र दोषीहरू पक्राउ गर्नुपर्ने विनयको माग

1
1625
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 27 नोभेम्बरः असमको कार्बी आङलोङ जिल्लाको तुम्प्रेङ थानाअन्तर्गत् गोर्खाबाहुल मुगासङमा स्थापना गरिएको स्वतन्त्र सेनानी शहीद मेजर दुर्गा मल्लको सालिकलाई असामाजिक तत्त्वहरूले तोड़फोड़ गरेको बताउँदै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले तीखो शब्दमा निन्दा गरी दोषीहरूलाई 24 घण्टाभित्र पक्राउ गरी कठोर कारबाही गर्नुपर्ने माग गरेका छन्।

बुधवार तामाङले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्। उनका अनुसार असामाजिक तत्त्वहरूले शहीद मेजर दुर्गा मल्लको सालिक तोड़फोड़ गर्नका खुकुरी समाएको हातै भाँचिएको छ भने खुकुरी पनि लगिएको छ।

विनयले यो घटनालाई असमका गोर्खाहरूका लागि मात्रै नभएर समग्र भारतेली गोर्खाहरूका लागि अत्यन्त ठूलो बेइज्जती ठहर गरेका छन्। साथै यस्तो घृणित घटनाको घोर विरोध जनाएका छन्।

‘आउँदो 24 घण्टाभित्र स्थानीय प्रशासनले ती कुतत्त्वहरूलाई पक्राउ गरी कठोरभन्दा कठोर कारबाही गरिनुपर्ने म माग गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्। विनयले विज्ञप्तिमा थप भनेका छन्, ‘शहीद दुर्गा मल्ल गोर्खा जातिका लागि मात्र होइनन्, तर समग्र भारतवासीका लागि सम्माननीय हुन्। स्वतन्त्र भारतका लागि अङ्ग्रेजअघि शिर झुकाउनुभन्दा शिर कटाउनु स्वीकार गरी उनले फाँसीको सजाय स्वीकार गरेका हुन्। उनको देशप्रति साँचो वीरगति र बलिदानको सम्मान गर्दै दिल्लीको संसद भवनअघिल्तिर पनि पनि उनको भव्य सालिक अनावरण गरिएको छ।’

तामाङले यस्ता महान् स्वतन्त्रता सेनानीको सालिग तोड़फोड़ गरिनु अक्षम्य अपराध बताउँदै यस्ता अपराधीहरूमाथि सरकारले कुनै पनि दया भावना राख्न नहुने मागसमेत गरेका छन्।

असमको कार्बी आङलोङ जिल्लाको तुम्प्रेङ थानाअन्तर्गत् मुगासङ गाउँमा यसरी शहीद दुर्गा मल्लको सालिग तोड़फोड़ गरिनु भनेको देशभरिका समग्र गोर्खाको जातीय भावना अनि स्वाभिमानमा चोट पुर्‍याउनु हो’, तामाङले विज्ञप्तिमा भनेका छन्, ‘यसैले उक्त घटनामाथि निष्पक्ष छानबीन गरी चाँड़ोभन्दा चाँड़ो अपराधीहरूलाई पक्राउ गरी कठोर सजाय नदिएको खण्डमा राष्ट्रव्यापीरूपमा गोर्खाहरू आन्दोलित हुनसक्नेछन् भन्ने चेताउनी पनि हामी उक्त क्षेत्रका प्रशासनलगायत असम सरकारलाई पनि दिन चाहन्छौं।’

यसैले उक्त घटनाले राष्ट्रव्यापी रूपमा आन्दोलनको रूप लिनुअघि नै 24 घण्टाभित्रै  अपराधीहरूलाई पक्राउ गरिनुपर्ने विनयको माग छ।

अर्कोतिर, यो घटनाले असमका गोर्खाहरूको सुरक्षा र सम्मानमाथि प्रश्न खड़ा गर्ने गोजमुमो दोस्रो खेमाका अध्यक्षको भनाइ छ।

‘यदि गोर्खाहरूको योगदानलाई असम सरकारले सम्मानित रूपमा हेर्छन् भने गोर्खे विभूतिको सालिगमाथि भएको यस प्रकारको अवहेलित कार्यविरूद्ध गम्भीर भएर पदक्षेप लिउन् भन्ने पनि हामी चाहन्छौं’, विनय तामाङले भनेका छन्।

उक्त सालिक 5 मई 2018 को दिन कार्बी आङलोङ स्वायत्त शासित परिषद्का णुख्य कार्यकारी सदस्य तुलिराम रङहाङले अनावरण गरेको पनि उनले बताएका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here