विनयपन्थी मोर्चाले दिसम्बरदेखि तराई-डुवर्समुखी कार्यक्रम गर्ने

0
1095
विनय तामाङको हातबाट झण्डा ग्रहण गर्दै रोहित थापा।

दार्जीलिङ, 28 नोभेम्बरः विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाले दिसम्बर महिनादेखि तराई-डुवर्समुखी कार्यक्रम शुरु गर्ने निर्णय गरेको छ। बिहीवार एक कार्यक्रमबीच पार्टी अध्यक्ष विनय तामाङले यसबारे जानकारी गराएका हुन्।

तराई-डुवर्समा चाँड़ै पार्टीको साङ्गठनिक बैठकसमेत आयोजन गर्ने बताउँदै तामाङले आफ्ना पार्टीका पदाधिकारीहरूलाई साङ्गठनिक कार्यक्रमलाई लिएर तराई-डुवर्स जानुपर्ने सुझाएका छन्।

उनका अनुसार पार्टीले 15 देखि 20 दिसम्बरभित्र पार्टीले डुवर्स र सिलगढ़ीमा एक-एकवटा इन्डोर मिटिङ आयोजन गर्नेछ। यसका लागि अघिबाटै यी दुईहरूमा रहेका पुरानो कमिटीले सहयोग गर्नेछ। साथै नयाँ कमिटी गठन नभएसम्म केन्द्रिय समितिको पर्यवेक्षक समूहले बैठक आयोजन गर्नेछ भने नयाँ समिति गठन भएपछि यी क्षेत्रहरूमा थप कार्यक्रम आयोजन गरिनेछ।

अहिलेघरी आफ्नो पार्टीले चियाबारी र सिन्कोनाबगानका मानिसहरूलाई जमिनको अधिकार दिलाउनका लागि पर्जापट्टाको मुद्दालाई प्रमुखता दिइरहेको बताए। ताकि एनआरसी लागू भएको खण्डमा चियाबारी र सिन्कोनाबगानका मानिसहरूलाई सुरक्षा प्रदान गर्न सकियोस्।

यसैगरी विनयले एनआरसी लागू हुनअघि नै गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्ने माग गरिरहेको पनि बताए।

“हामी सबै नै गोर्खाल्याण्डको समर्थनमा छौं। तर योसँगै हामीले हाम्रो क्षेत्रलाई आर्थिक रूपले बलियो बनाउन चाहन्छौं”, उनले थपे, “हामी हाम्रो घरलाई बलियो बनाउन चाहन्छौं। त्यसपछि हामी हाम्रो लड़ाइँ लड़्नेछौं।”

यसअवसरमा उनले भाजपाको पनि आलोचना गरे। पछिल्लो दश वर्ष गोर्खाहरूलाई मूर्ख बनाउने भाजपालाई अब पुनः पाँच वर्ष मूर्ख बनाउन नदिनका लागि सबै एकजुट हुनुपर्ने बताए।

“हिजो सांसद राजु विष्टले प्रधानमन्त्रीलाई ज्ञापन दिइरहेको देखेको थिए, विगतमा हामी विमल गुरुङसँगै हुँदा धेरै ज्ञापन चढ़ाएका हौं, तर केही भएन”, उनले भने। आज यसैअवसरमा डुवर्सका भाजपा कार्यकर्ता रोहित थापालगायत अन्य विनयपन्थी मोर्चामा सामेल भएका छन्। शुरुमा विमलपन्थी मोर्चामा रहेका थापा पछिल्लो लोकसभा चुनाउअघि भाजपामा सामेल भएका थिए।

उल्लेखनीय छ, पछिल्लोपटक बोनसका लागि विनय तामाङ आमरण अनशन बसेको समयमा दार्जीलिङ आएर तामाङको अनशनलाई समर्थन जनाएका थिए भने त्यसैबेला उनी विनयपन्थी मोर्चामा सामेल भएको खबर फैलिएको थियो। यद्यपि आफू विनयपन्थी मोर्चामा सामेल भएको कुरालाई भोलिपल्टै रोहित थापाले खारेज गरेका थिए।

आजको कार्यक्रममा विनयपन्थी मोर्चाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here