एक दर्जनभन्दा बढ़ी विमलपन्थी मोर्चा कार्यकर्ता पक्राउ

0
1837
पक्रा परेका विधान देवन र शरण लामा।

दार्जीलिङ, 30 नोभेम्बरः शुक्रवार मध्यराति विमल गुरूङपन्थी गोर्खा जनमुक्ति मोर्चा समर्थक आशिष राई (४२) -लाई जोरबङ्लो पुलिसले पक्राउ गरेको जानकारी पुलिस सूत्रबाट प्राप्त भएको छ।

सिम्कुना वन बस्ती मुण्डाकोठी निवासी राईलाई हिजो राति करिब 1.30 बजे उनको घरबाटै पुलिसले पक्राउ गरेको बताइएको छ। राईविरुद्ध विभिन्न मुद्दा रहेको पुलिसले बताएको छ।

हिजै राति विमलपन्थी गोजमुमो खरसाङ महकुमा सहसचिव विवेक तामाङलाई पनि खरसाङ पुलिसले पक्राउ गरेको जानकारी पाइएको छ। यसैगरी हिजै राति पुलबजार थाना पुलिसले बिजनबारी क्षेत्रबाट शरण लामा र विधान राईलाई पक्राउ गरेको बताइएको छ। सूत्रका अनुसार हिजो राति र आज सखारै गरी पुलिसले विभिन्न क्षेत्रका करिब 13 जना विमलपन्थी मोर्चा कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्रा पर्नेहरूमा दिपेन मोक्तान र अशेष स्याङ्बो (रङ्ग्ली क्षेत्र), विवेक तामाङ (खरसाङ) र आशिष राई (सोनादा मुण्डाकोठी), जितेन राई र राजेन लिम्बू (सिङ्ताम), कुमार गुरागाईं (सुकेपोखरी), ललितचन्द्र प्रधान र रञ्जन सोताङ (रिम्बिक लोधोमा), पुकार राई (दिलाराम) र नरेन्द्र छेत्री (पोख्रेबुङ), शरण लामा र विधान राई (बिजनबारी क्षेत्र) रहेको विमलपन्थी मोर्चाका प्रवक्ता बीपी बजगाईंले बताएका छन्। यसभन्दा तीन दिनअघि दार्जीलिङ सदर पुलिसले मणि गुरुङलाई पनि पक्राउ गरेको थियो।

उल्लेखनीय छ, दुई दिनअघि मात्रै विमल गुरुङपन्थी गोजमुमोले दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा एक खुल्ला सभाको आयोजना गरेको थियो। जसमा कैयौं विमलपन्थी गोजमुमो समर्थकले सहभागिता जनाएका थिए। तर त्यस सभा हुनअघिदेखि नै पुलिसले विमलपन्थी गोजमुमो कार्यकर्ताहरूको पक्राउ गर्न शुरु गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here