इरिगेसन पुग्दा रमेशले ह्वीलबेल खोलिसकेको रहेछ। बिहानको मिरिरिरि घाममा पानीले पखालिएका चियापातहरू टल्किए। जनवरीको चिसो भर्खरै फैलिएको छ बगानमा। शीतलाई छुनुपर्छ, टेक्नुपर्छ, त्यसमा उभिनुपर्छ। शीत, पसीना, धूलो, धुवाँ र श्रमिक सासको गन्ध मिसिएर चियाको स्वाद तयार हुन्छ। त्यसमा हात खुट्टाको चोटबाट चुहेका रगत पनि मिसिन्छ र स्वाद टर्रो हुन्छ।
चियाका पातहरू पानीमा नुहाउन थालेपछि रमेश ढुङ्गामाथि आई उभियो। माझिटारतिर हेरिरहेको देवचन्द्रले रमेशलाई भन्यो, “म पनि जान्छु।”
“नजा तँ।” रमेशले भन्यो।
“किन?”…
“तेरो आँखाको रङ फेरिएकै छैन।” देवचन्द्रको अनुहारमा हेरेर भन्यो रमेशले।
“तँ चाहिँ किन गा’को त?”
“प्रब्लम छ।” भन्यो रमेशले। “रक्सी पनि नखा तैँले।” भन्यो फेरि।
“काम सजिलो छैन त्यहाँ। छोरा छोरीभन्दा ठूल्ठूलो ढुङ्गा उचाल्नुपर्छ। सक्दैनस् तँ।”
“तँ चाहिँ हनुमान हो त?”
“प्रब्लम छ भाइ।” भन्यो रमेशले। त्यसपछि खकनमा दुवै हात पालैपालो छिराएर ब्याग आङमा चढ़ायो र हिँड़्यो पनि।
दाजु भाइजस्ता यी दुई साथीभाइ हुन्। इरिगेसनमा पानी मिलाउँछन्। जाड़ो लाग्दा र टेन्सनमा रक्सी खान्छन्। खोल्ने र बन्द गर्ने दुईवटा समयमा इरिगेसनमा हुन्छन् यी दुई। पाइप र पानीबाट पाउँछन् हप्ता खर्च यिनीहरूले।
रमेशले माझिटार जाने तेस्रो गोलाइ काटेपछि देवचन्द्र पनि घरतिर हिँड़्यो।
ऊ अलिकति छिटो आइपुगेछ। उसको पछिपछि आइपुगेको पिक्अप भ्यानले तल्लो घरको बालुवा ल्याएर खनाउन थाल्यो। इरिगेसनकै बाटो भएर पिक्अप भ्यानले रङ्गीतको बालुवा ओसार्छ गाउँमा।
सोह्र बाई बीसको घर बनिँदैछ। तल्लोपट्टि दिदीको। मिस्त्रीहरूको गफ सुनिरहेको रहेछ दिपेन्द्रले। उँधो फर्केर करायो देवचन्द्रले,
“दिपेन्द्र! दिपेन्द्र!”
तलबाट कुनै आवाज आएन। उसले त्यसपछि हल्ला गरेन।
निक्कैबेर पछि पिक्अप भ्यान त्यहाँबाट गएपछि दिपेन्द्र घर आयो। दिपेन्द्रलाई देखेर करायो देवचन्द्र,
“रमिता हेर्नुभन्दा काम गर् तँ पनि।”
“म यस्तो काम गर्दिनँ।”
“कमान जा तेसो भा।”
“कमान त मरे पनि जान्न।” घरभित्र पसिसकेको दिपेन्द्र फेरि आँगनमा निस्कियो। त्यसपछि कुनै आवाज आएन। देवचन्द्रले आँगनतिर हेर्यो, दिपेन्द्र त्यहाँ थिएन।
ऊ धुम्धुम्ती बसिरहेको थियो, बाहिर सधैं सुनेको नारी स्वरले गुनगुनाएको सुन्यो, “मुन्नी बद्नाम हुई डार्लिङ तेरे लिए।”
दैलोभित्र पस्दा गीत सकियो। रत्ना रहिछ। दोकानबाट ल्याएको चिनीको पोका ताकमा राख्दै भनी, “राशिनको सकेछ।”
“डाइबेटिस हुँदा चाख्लास्।” भन्यो देवचन्द्रले।
“तिमी पो रक्सी खान्छौ।” चिनीलाई प्लास्टिकको बट्टामा खन्याउँदै भनी रत्नाले। किचनको जस्केलोमा बसेर घुरेनतिर हेरिरह्यो देवचन्द्रले। किचनको दाहिनेतिर टाँड़ बनाएर चलाउँदै गरेको जुठेल्नीबाट मैला पानी बग्दै तल कच्छुको फेद भिजाउँदै आँपको फेदमा पुगेको छ।
“साह्रै मैला भइसक्यो यो तल।” देवचन्द्रले भन्यो र उठेर गई घुरेनतिर थुक फ्याँक्यो।
“टोइलेट-बाथरूम बनाओस् बाउले त्याँ भन्दै थियो त्यसले।” भनी रत्नाले।
देवचन्द्र बोलेन। ध्वनीविहीन जवाफ उड़िरह्यो हावामा। त्यो जवाफ किचनको धुवाँमा मिसियो। उसले कच्छुको फेदलाई नै हेरिरह्यो। उसले यसरी हेरिरहँदै रत्नाले किचनको काम सकी।
एकछिन् कतातिर हराएको दिपेन्द्र फेरि आइपुग्यो र भन्यो, “लगायो एउटा पोस् काकीहरूको।”
आमा बाबुबाट पर्खेको उत्तर त्यसले पाएन। आमा बाबुलाई पनि यस्तो कुरामाथि, यो बेला बहस गर्नु अनर्गल लाग्छ। जीवन र घर व्यवस्थासित तारतम्य नमिल्ने विषयजस्तो लाग्छ यो। विषय नै उनीहरूको होइनजस्तो लाग्छ। दिपेन्द्र सधैँ तल्लो घरबाट आएपछि तल्लो घरको चर्चा गर्छ। काकीको बढ़ीबढ़ाइ गर्छ; काकीको छोराको कुरा गर्छ। तल्लोघर मानो कुनै शहर हो, कुनै सुशासित राज्य हो अथवा प्रविधिसम्पन्न व्यवस्था हो। त्यसले तल्लो घरलाई मात्रै मनपराउँछ। त्यो त्यहीँ मात्रै जान्छ। त्यसको मुखमा तल्लो घरको प्रशंसा गर्नु सिवाय अरू कुनै कुरा छैन। तल्लो घरलाई त्यसले जीवन नै देखेजस्तो गर्छ। ऊर्जा, शैली र सूत्रको स्रोत त्यहाँ छ जस्तो गर्छ। त्यसको कल्पनालाई पोषण दिने संसाधन त्यसले तल्लो घरमा भेटेजस्तो गर्छ।
बाबु आमाले क्यै नभनेपछि ऊ टी.भी. खोलेर टेनस्पोर्ट्स हेर्न थाल्यो।
“अब त पिक्अप आँगनमै आइपुग्छ भन्दै थियो त्यसले।” भनी रत्नाले।
कन्सिरी तात्तिएजस्तो भयो देवचन्द्रको। कराइपठायो, “हो, यस्तै टेन्सनले गर्दा रक्सी खान्छु म।”
“भनेको मात्रै पो त।” भनी रत्नाले, “बद्ली काम सारिदेऊ बरू यसैलाई।”
नसुनेजस्तो गरेर देवचन्द्र आँगनमा आयो र तल्लो घरतिर हेरिरह्यो। आँगनको डीलबाटै सुन्दैछ, टेनस्पोर्ट्समा रूनी फुटबल खेल्दैछ चेल्सीपट्टिबाट। छेउमै आएर भाले बास्यो। देवचन्द्रले खुट्टा उच्चाल्यो र लात हान्यो तर भालेलाई लागेन।
बेलुकी छिट्टै लाग्यो इरिगेसनतिर देवचन्द्र। इरिगेसन पुग्दा मेलोबाटै छोटा रङ्गीत झरेको हरिप्रसाद बैदार दुईजना केटासित उकालो आउँदैरहेछ। देवचन्द्रलाई भेटेपछि तीनैजना बिसार।
“ल्यायौ?” भन्यो देवचन्द्रले।
“छैन। कोइरीकोले सकेछ। न ढुङ्गा छ, न कूर छ, न माछा छ। यूपीएस लाएर सकेछ।” हरिप्रसादले भन्यो।
“खोलालाई थाम्ने क्यै’छैन। खोलाको वेग मात्रै ठूलो छ। बिगार्छ एकदिन।” भन्यो देवचन्द्रले।
“छिट्टै आएछस् त।” हरिप्रसादले सोध्यो।
“के गरिरा’नु घरमा? टाइमपासको लागि कोठेबारी धरी छैन।” भन्यो देवचन्द्रले।
“कमान हेर्नुपर्छ। यो ज्यान अल्झाउने त्यान्द्रोलाई हेर्नुपर्छ। यै कमानको गीत लेख्छ, उपन्यास लेख्छ। इतिहास पनि छाप्छ।” भन्यो हरिप्रसादले।
“अरू लेखे पनि, इतिहास मर्नु धेर दिन छैन अब।”
“किन?”
“तिमी नै होइनौ अस्ति कमानमा मरद सकिसक्यो भन्ने?” देवचन्द्रले सम्झायो।
पोहोरको दशैंमा बोनस बढ़ाउनुपर्ने मिटिङमा जाँदा हरिप्रसादले यसै भनेको हो देवचन्द्रलाई। उसलाई याद आयो। त्यो दिन बोनसको चर्चा भयो तर मरद घटेको विषयमा चर्चा भएन। हरिप्रसाद एकछिन् घोरियो। “कमानका केटाहरूलाई कमानकै रोजीरोटीको समय प्रतिकूल कमसल व्यवस्थाले हट्टा बाहिर गर्यो” भन्न खोजेको होला हरिप्रसादले।
अहिले ऊ बोलेन।
समयले त्यो पिँढ़ीलाई कुनै पनि व्यवस्थासित स्थायी सम्झौता गरेर बस्न नहुने मानसिकता दिएको छ। जीवनलाई बचाउन पनि वैचारिक र व्यावहारिक दुवै व्यवस्थाको जरूरत हुन्छ। स्थायी सम्झौताले मान्छेका अनेक आकांक्षाहरूको गतिरोध गर्छ।
छोराको मनचाल्दा बुझेको यो कुरा देवचन्द्रले।
“कम्पनी-सरकारले बुझ्नुपर्छ यो सप्पै।” भन्यो देवचन्द्रले। “पार्टी-पोलिटिक्सले पनि बुझ्नुपर्छ।” फेरि भन्यो।
हरिप्रसादले कुरापट्टि ध्यान नदिएर बरू पल्लो पाखातिर हेर्यो। त्यो पाखाबाट आँखा सार्दै माझिटार पुर्यायो। माझिटारको तेर्सो बाटोमा सड़क मरम्मत हुँदैछ। सिलगढ़ी जोरथाङगामी गाड़ीहरू दगुरिरहेछन् धूलोभित्र।
“कत्तिबेला आइपुग्छ रमेश? साह्रो काम छोप्छ। मर्छ नि।” भन्यो हरिप्रसादले।
“प्रब्लम छ अरे।”
“तँ पनि त भर्खर फर्केको।”
“अहिले त खा’को पनि छुइनँ।” भन्यो देवचन्द्रले। अलिकति हाँस्यो पनि।
“कमानलाई होइन, कमानेलाई सराप लागेको छ भन्छ उहिल्यै।” हरिप्रसादले भनेपछि सररर हावा चल्यो। उसले ज्याकेटको चेन उकालो सार्यो। हावा फेरि सरर चल्यो। जाड़ो जाड़ो भयो। गोजीबाट रजनीगन्धा निकाल्यो, टुप्पो च्यात्यो र च्यातिएकोबाट एक हातले समाएर मुखमा एक फ्वाँक हाल्यो।
“तँ पनि उल्टा कुरा मात्रै गर्छस्।” भनिराखेर हरिप्रसाद बाटो लाग्यो। साथका दुई केटा पनि पछिपछि लागे।
साँझमा कल बन्द गरिसक्दा रमेश आइपुग्यो लखतरान भएर। भुइँमा थ्याच्च बस्यो, यताउता पालाकपुलुक हेर्यो र देवचन्द्रलाई हेरेर भन्यो,
“ल्याइनस्?”
“ल्याइनँ।” भन्यो देवचन्द्रले।
“कस्तो हौ।” भनेर नराम्ररी अनुहार बिगार्यो रमेशले।
एकछिन् सुस्ताएपछि तिनीहरू पनि हिँड़े।
महिना दिनभित्रै तल्लो घरको छत ढलाइ सकियो। देवचन्द्रले परिवारै भएर सघायो। एक बेलुकी रत्नाले भनी,
“अर्को हप्ता टिकट काट्ने अरे।”
लुगा लाउँदै देवचन्द्रले रत्नालाई हेर्यो। जिज्ञासाहरू जुझेजस्ता भए।
“पैसा भन्दै थियो।” भनी फेरि रत्नाले।
“भोलि खर्च थाप्न त्यै’जाओस्। माझिटार जाने काम छ मेरो।” भन्यो देवचन्द्रले।
“बिस्तारो बोल न।” टीभी हेर्दै गरेको छोरोले सुन्यो होलाजस्तो लाग्यो रत्नालाई। बाबु छोराका विषयहरूबीच मध्यस्थ हुनु हिन्दी सिरियलहरूबाट सिकेकी छे रत्नाले।
केहीबेरपछि देवचन्द्र इरिगेसनतिर लाग्यो। गएर बसिरह्यो ढुङ्गामा। घाम लागेको थियो। घामले बरू न्यानो दियो। उसलाई निद्रा लागेजस्तो भयो। रमेश छिट्टो आए हुन्थ्यो जस्तो लाग्यो। मनका कुराहरू भन्ने ठाउँ रमेश। अलिकति हाँस्ने ठाउँ रमेश। रिस खनाउने ठाउँ रमेश। पर्खिरह्यो। पर्खिरहँदा, चियापातलाई कतिपल्ट भिजायो पानीले। पानी घुमेको दृश्य हेरिबस्यो उसले। जीवन पनि चियापातजस्तै लाग्यो। सुख-दुःख पनि त्यो पानीको चक्रजस्तै लाग्यो जीवनमा। सुखले छोड़्दै जान्छ, दुःखले छुँदैजान्छ; दुःख तर्किँदै जान्छ, सुखले हात मिलाउँदै आउँछ। चियापात बाँचिरहेछ। चियापात हेर्नलाई चियापातै रहेछ जीवनको ऊर्जा। देवचन्द्रलाई लाग्यो तर, चियापात हेरेर जीवनजस्तै बाँचिएको नहुँदोरहेछ। त्यो ऊर्जाले दुःख सहने योग्य मात्रै बनाउँदोरहेछ, जीवनै त दिएको नहुँदोरहेछ। देवचन्द्रको मन साह्रै खेल्यो।
पर्खंदा पनि नभएर कल बन्द गर्दै थियो, टुप्लुक्क आइपुग्यो रमेश।
“कस्तो ढिलो गरेको।” रिसाएजस्तो गर्यो देवचन्द्र। रमेश बोलेन। रमेशको आँखा पनि अचेल तरान नभा’को जस्तो लाग्छ देवचन्द्रलाई। “तलै लाएर आइस कि क्या हो।” भन्यो देवचन्द्रले।
रमेश बोलेन।
“के भा’को छ तँलाई?” भन्यो फेरि।
“प्रब्लम” मात्रै भन्यो रमेशले।
“नरिसा ल; एउटा कुरा भन्छु। अघिदेखि पर्खेको। माझिटारको पैसा अलिकति दे सापट मलाई।”
“किन?”
“टिकट काट्नु।”
“उँभो जानु?” भन्यो रमेशले।
“उँधो जानु। जाने अरे।”
“जानु दे। अघाड़ि पैसा पा’को भा’ म पूनामा हुन्थे एतिबेला।”
“ट्याक् मान्दैन।”
“जानु दे। कमानमा हिँड्यो भने तैँजस्तो मात्ने हुन्छ।” रमेशले व्यङ्ग्य गर्यो।
“तल्लो घरले गर्दा त्यसको मन ठेकानमा छैन।”
“पैसा रुङेर पाइँदैन भन्ने त्यसले पनि बुझ्यो होला। बजारजस्तो हुँदै गरेको गाउँ सब बाहिरको पैसाले गर्दा हो। हप्ताको चार सय सत्तर पनि पैसा हो?”
“रक्सीमै जान्छ त्यो नाथे।” देवचन्द्रले भन्यो। देवचन्द्रको कुरा सुनेर अहिले रमेश हाँस्यो तर त्यसको आँखामा “प्रब्लम” झुण्डिरहेकै जस्तो थियो।
“मरदको लागि होइन कमान। मरदको लागि त संसार छ, उँधो।” रमेशले भन्यो।
समय, श्रम र पैसालाई बुझेका छोराछोरी गाउँको पारम्परिक संसाधन र व्यवस्थाको विरोध गर्छन्। एकदेखि अर्को निकासको खोजीमा छन् यिनीहरू। यत्रो मनोवैज्ञानिक कुरालाई भन्ने भाषा नहुँदा रमेश रक्सी खान्छ।
दुवै गाउँतिर लागे।
अनि एकदिन दिपेन्द्रहरू उँधो लागे। तिनीहरू गएपछि घर शून्य लागिरह्यो देवचन्द्रलाई। रमेशसित पनि पारा मिलेको छैन। त्यो पनि ढिलो आउँदैछ माझिटारबाट। त्यसको बेलुकीको ड्युटी मिलाउनुपर्दैछ देवचन्द्रले।
आज बिहान त्यसको आँखामा हिजको रक्सी सधैंभन्दा धेरै थियो। देवचन्द्रले करायो, “कन्ट्रोल गर् ओइ।”
“गर्दैछु।” भन्यो रमेशले।
दुईजनाले इरिगेसनमा गएर दुईजना केटाको सहायतामा पाइप सारे। माझिटार जानलाई हत्तारिएको रमेश ढिलो भयो भनेर ओह्रालो लाग्यो। रमेश गएपछि अल्छी लाग्यो देवचन्द्रलाई। अल्छी लाग्दै घर आयो ऊ। ऊ सीधै राशिन थाप्न गयो। राशिन बोकेर उकालो लाग्यो। तल्लो घरको लागि बालुवा बोकेर आएको पिक्अप भ्यानले उसलाई नाघेर गयो। घरमा आएर आफै खाना बनायो। रत्नालाई पनि दियो। एकक्षण ढल्कियो र फेरि स्कूल डाँड़ातिर गयो। त्यहाँ गएर तासमा बस्यो। निक्कैबेर तास खेल्यो। पैसा सकेपछि भेस्ट खोल्यो। देवचन्द्रले जितेको छैन कतै। नजितेरै पनि बाँचिरहेकोमा उसलाई सन्तुष्टि छ। सन्तुष्टि उसलाई ठूला हतियार लाग्छ जीवनमा। उसको छोरो दिपेन्द्र भने सन्तुष्टिको विरोधी छ। त्यसको विरोधी अभिनयलाई बोध गरेको छ देवचन्द्रले।
बेलुकी इरिगेसनमा गएर कल बन्द गरी रमेशलाई नपर्खी आयो देवचन्द्रले। खाना खाएर रत्नाले ‘जोधा अकबर’ हेर्दै थिई। ऊ निदाएछ। अचानक रत्नाले उठाउँदा ऊ तर्स्यो।
“तल्लोपट्टि फोन आ’को छ। रमेश सेन्सलेस छ अरे।”
“काँ?”
“घरमा।”
लुगा लाएर सिउसिउ जाड़ोमा देवचन्द्र ओह्रालो लाग्यो। रमेशको घरमा पुग्दा फेदाङ्मा निस्किँदैरहेछ। सँघारमै भेटेर भन्यो उसले, “कपट भेटेको छ।”
भित्र पस्दा एनजीओको सुनिल भाइले हुट्हुटाउँदैरहेछ “हस्पिटल, हस्पिटल लानुपर्छ।”
देवचन्द्र पनि चप्पलमै चढ़्यो भ्यानमा।
बिहानपख रमेशले संसार छोड़्यो।
घर आएर दिउँसो खल्लो मानिरहेको देवचन्द्रले रत्नालाई भन्यो, “त्यसको पैसा दिनुथ्यो।”
“…….” रत्नाले आँखाले मात्र हेरी।
“के खायो सालाले। प्रब्लम छ मात्रै भन्थ्यो।”
“प्रब्लम त्यै हो। त्यै क्या…।” रत्नाले भनी।
रत्नालाई हेरिबस्यो देवचन्द्रले। कुरा बुझेन र एकछिन् पर्ख्यो।
“तल्लोघर।” रत्नाले भनी फेरि। “धन्न हाम्रोचाहिँ उँधो गयो।”
देवचन्द्रले अझै रत्नाको कुरा बुझेन।