छुटेका गोर्खाहरूलाई एनआरसीमा सामेल गरिनुपर्ने माग, आग्सुको अगुवाईमा जन्तरमन्तरमा धरना दिइने

0
1508

दार्जीलिङ, 1 दिसम्बरः राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बाट छुटेका गोर्खाहरूका न्याय माग्दै आउँदो 5 दिसम्बरको दिन दिल्लीको जन्तर मन्तरमा एकदिने धरना प्रदर्शन गर्ने निर्णय गरिएको छ।

अल असम गोर्खा स्टुडेन्ट युनियन (आग्सु)-को अगुवाईमा उक्त धरना प्रदर्शन आयोजन गरिनेछ, जसमा आग्सुलाई असमका शीर्ष सङ्गठनहरूजस्तै असम गोर्खा सम्मेलन, भारतीय गोर्खा परिसङ्घ असम राज्य कमिटी र असम नेपाली साहित्य सभाले पनि सहयोग गर्नेछ।

यसबारे आग्सुका अध्यक्ष प्रेम तामाङले एनआरसीबाट छुटेका गोर्खाहरूका लागि न्याय माग्दै आग्सुको आयोजनमा ‘जन्तर मन्तर जाऊँ’ कार्यक्रम आयोजन गरिने निर्णय लिएका हौं।

“एनआरसीबाट असमका धेरै गोर्खाको नाम छुटेको छ। उनीहरूलाई एनआरसी सूचीमा अन्तर्भुक्त गराउनुपर्छ भन्ने माग हामीले शुरुदेखि नै गर्दै आइरहेका  छौं”, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि तामाङले भने, “यसै मागमा हामीले आउँदो 5 दिसम्बरको दिन ‘जन्तर मन्तर जाऊँ’ कार्यक्रम गर्ने निधो गरेका हौं। हामी जन्तर मन्तरमा यसै मागमा एकदिने धरना दिनेछौं।”

उनका अनुसार धरना कार्यक्रममा आग्सु, असम गोर्खा सम्मेलन, भारतीय गोर्खा परिसङ्घ र असम नेपाली साहित्य सभाका कार्यकर्ताहरूबाहेक एनआरसीमा नाम नपरेका गोर्खाहरूले पनि भाग लिने सम्भावना छ। “800 देखि 1000 सम्म गोर्खाहरू धरना प्रदर्शनमा भाग लिनेछन् भन्ने हामीले सोचेका छौं”, उनले भने।

आग्सु अध्यक्षका अनुसार यसैअवसरमा केन्द्रिय गृहमन्त्री अमित शाहलाई भेट गरी एनआरसीबाट प्रभावित गोर्खाहरूको समस्या र यससम्बन्धित माग यी उल्लिखित सङ्गठनले राख्नेछन्।

“दिल्लीमा गृहमन्त्रीलाई हामी हाम्रो समस्या र माग सविस्तार राख्नेछौं। साथै यी समस्याहरूको समाधान चाँड़ोभन्दा चाँड़ो गरिदिने माग गर्नेछौं”, उनले थपे, “यदि त्यसपछि पनि हाम्रो मागलाई सटीक रूपमा सम्बोधन नगरिए अथवा हामीले भोगिरहेका समस्याहरूको समाधान गर्न कुनै ठोस पहल नगरिए, आगत दिनमा हामी प्रभावकारी रणनीति बनाएर असममा यससम्बन्धमा ठूलो कार्यक्रम गर्नेछौं।”

यसैबीच, एनआरसीबाट छुटिएका असमेली गोर्खाहरूलाई  एनआरसी सूचीमा अन्तर्भुक्त  गर्नुपर्ने मागमा आग्सुको आयोजनमा जन्तर मन्तरमा गरिने धरनालाई गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले समर्थन जनाएको छ।

जीएसएसएस प्रवक्ता अञ्जनी शर्मा भुजेलले उक्त धरना कार्यक्रमलाई पूर्ण रूपले समर्थन जनाउँदै जीएसएसएसले पनि सहभागिता जनाउने बताएकी छन्। यसका साथै उनले दिल्ली-एनसीआरमा बस्ने गोर्खाहरूलाई पनि उक्त धरना कार्यक्रममा सहभागी बन्ने आह्वान गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here