खरसाङमा ब्रिटिशकालीन घर जलेर स्वाहा

0
1696
आइतवार राति मन्टिभियट गुम्बा नजिक एक घरमा लागेको आगो।

खरसाङ, २९ अक्टोबर : आइतवार राति मन्टिभियट गुम्बा नजिक रहेको एक घरमा आगो लाग्दा जलेर स्वाहा भएको छ।

आगो हिजो राति लगभग १०.३० बजी लागेको स्थानीय प्रत्यक्षदर्शीहरूले जनाएका छन्। रातिको समय भएकोले पनि आगोले यो ब्रिटिशकालीन घरलाई स्वाहा बनाएको हो।
जतिबेला आगलागीको यो घटना घट्यो, त्यसबेला घरभित्र 72 वर्षीया पदमा खाती एकलै सुतिरहेकी थिइन्। भाग्यवश आगो लागेको समयमै थाहा पाएपछि उनले आफूलाई जोगाउन सकिन्। उनले आफूलाई त छरछिमेकहरूको सहयोगले जोगाउन सकिन्, तर घरभित्रका एउटै समान पनि निकाल्न पाइनन्। अहिले सामग्रीको नाममा उनले लगाएको एकसरो लुगा मात्र बाँचेको छ। आगोको लप्का यति छिट्टो फैलिएको थियो, हेर्दा हेर्दै घर जलेर खरानी बन्यो।
घरभित्र रहेका बहुमूल्य सरसमान, नगद राशि गरगहना, आवश्यक र महत्त्वपूर्ण कागज-पत्र सबै जलेर खरानी भएको छ। बिहान अबेरसम्म धुँवा उड़िरहेको थियो।
जलेर खरानी बनेको घर।
आफूले यतिका वर्षसम्म आफ्नो श्रमले स्याहार सुसार गरेर राखेको घर आफ्नै आँखा अघि खरानी बनेपछि घरका मालिक पदमा खाती अत्यन्त दुखित बनेकी छन्। सोमवार बिहान पत्रकारहरूसँग बोल्दै उनले भनिन्, म एकलै सुतिरहेको समय अचानक चारैतिर आगो देखेपछि नानीहरूले मलाई घरबाहिर निकाले। यसअवधि उनले न त चश्मा निकाल्न पाइन्, न त फोन टिप्न भ्याइन्।
जीउमा लगाएको लुगाबाहेक केही निकाल्न सकिनँ। यो घर मेरा ससुराले ब्रिटिशकालीन समयमना नै निर्माण गरेका हुन्, उनले थपिन्,  घरभित्र पुरानो समयका काठका मूल्यवान समानहरू थिए। सुनको गरगहना, नगद राशि, कागज पत्रहरू, आधार कार्ड ब्याङ्क र गाड़ीका कागज पत्रहरू सबै जलेर खरानी भए।
यो घरमा धेरै वर्षदेखि उनी एकलै बस्दै आएकी थिइन्। उनका छोरा बुहारी खरसाङ बाहिर बस्छन्, जो दशैँ  मनाएरै हिजै मात्र फर्केका थिए। यद्यपि घटना सुनेर उनीहरू दुवै खरसाङ पुनः फर्केका छन्।
अर्कोतिर घटनालाई लिएर अग्निशमन विभागले लापरवाही गरेको आरोप पनि उठेको छ। पीड़ित पदमा खातीका आफन्त रनवीर खातीका अनुसार समयमै अग्निशमन विभागका कर्मचारी र दमकल घटनास्थलमा आइपुगेको भए यति ठूलो क्षति हुनबाट जोगिने थियो। उनले आगलागीको घटनापछि तत्कालै अग्निशमन विभागमा फोन गर्दा कल रिसिभ नगरेको तथा बाइकमा गएर अग्निशमन विभागलाई बोलाउन परेको पनि बताए। धेरैपछि दमकल त आयो तर सानो गाड़ी मात्र आएकोले आगो पूर्ण निभाउन नपाई पानी सकिहाल्यो”,  उनले थपे, “त्यसबेलासम्म आगो घरमा पूर्ण रूपले फैलिसकेको थियो।” उनका अनुसार आगो निभाउन अग्निशमन विभागका कर्मचारीहरू पनि  केही थोरै आएका थिए।
उनले आगो निभाउन खरसाङ क्षेत्रका  सबै जाति समुदायका युवाहरू अघि आएर सहयोग गरेका पनि बताएका छन्।
जलेर खरानी भएको घरको अवशेष।
उनका अनुसार आफ्ना बाजे डीबी खातीले सन् 1950 अघि नै इङ्ग्ल्यान्डबाट इन्जिनियरिङ गरेर आई यो घर बनाएका थिए। ब्रिटिशकालमै आरसीसी बिल्डिङको रूपमा बनाएको यो घरलाई खरसाङ क्षेत्रमै हेरिटेज बिल्डिङको रूपमा मानिन्थ्यो। घर अघि रहेको बिजुलीको पोलबाट सट् सर्किट भएर लागेको आगोले यो हेरिटेज बिल्डिङलाई खरानी बनाएको उनको भनाइ छ।
घटनास्थलमा खरसाङ थानाका आईसी, राज्यसभा सांसद शान्ता छेत्री, खरसाङ महकुमा कार्यालयका प्रतिनिधिलगायत सोमवार गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) उपाध्यक्ष अनित थापा पुगेका थिए।
यसैबीच स्थानीय मानिसहरूले पनि घटनास्थलमा दमकल अबेर गरी आएको आरोप लगाएका छन्। फोन गर्दा पनि कल रिसिभ नगरेको तथा अबेर गरी कम्ती पानी भएको सानो गाड़ी आएको उनीहरूको आरोप छ।
यता, अग्निशमन विभाग खरसाङका प्रभारी अजीत घोषले यो आरोपलाई खण्डन गरेका छन्। घटनास्थलदेखि अग्निशमन कार्यालय टाढ़ामा रहेकोले यस्तो आरोप उठेको घोषको स्पष्टीकरण छ। आगो लागेको  धेरै समयपछि मात्र आफूहरूले घटनाबारे थाहा पाएको उनको दाबी छ।
उनले राति सुतिरहेको सुतिरहेको समय भएकोले आगो लागेको थाहा नपाएको, तरै पनि जानकारी पाउनसाथै दार्जीलिङ र खरसाङबाट एक-एक दमकल गाड़ी आगो निभाउन घटनास्थलमा पुगेको बताए। केन्द्रका प्रभारी घोषले थप बताएअनुसार खरसाङमा तीनजना चालक छन्। ड्युटीको समय सातामा एकजना चालक रहन्छ।  उनले अग्निशमन विभागले भोगिरहेको पानीको समस्यालाई सुल्झाउनका लागि खरसाङ बजारमै पानीको ट्याङ्की राख्ने स्थानीय प्रशासनलाई प्रस्ताव दिएको जनाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here