सिलगढ़ी, 3 दिसम्बरः पाठशालाको श्रेणीकोठाभित्रै एक ६ वर्षीय छात्रासँग दुष्कर्म गरेको आरोपमा लोहागढ़ प्राथमिक पाठशालाका एक ५१ वर्षीय शिक्षकलाई सोमवार पानीघट्टा पुलिसले पक्राउ गरेको छ।
जानकारीका अनुसार आरोपी शिक्षक सिटोङ-१ निवासी हुन् भने केही वर्षअघिदेखि लोहागढ़ प्राथमिक पाठशालामा कार्यरत् थिए।
अर्कोतिर, यो घटनालाई पानीघट्टा थानाका प्रभारी तपन दासले पनि पुष्टि गरेका छन्। उनका अनुसार सोमवार पक्राउ गरिएको आरोपी शिक्षकलाई आज खरसाङ अदालतमा प्रस्तुत गरिएको थियो भने जेल हिरासतमा पठाइएको छ।
जानकारीका अनुसार यो घटना पछिल्लो बिहीवार घटेको हो। आफ्नो प्राइभेट पार्टमा पीड़ा महसुस गरेपछि पीड़ित बालिकाले आमालाई घटनाबारे बताइएकी थिइन्। जानकारीका अनुसार मिठाई दिने प्रलोभन देखाएर ती शिक्षकले बालिकालाई श्रेणीकोठाभित्रै आफ्नो वासनाको शिकार बनाएको थियो।
जानकारीका अनुसार त्यसबेला अन्य विद्यार्थीहरू बाहिर स्कूल मैदानमा खेल्नमा व्यस्त थिए। शुरुमा पीड़ित छात्राकी आमाले आफ्नी छोरीको कुरामा विश्वास नै गर्न सकिनन्। त्यसैले उनले तत्कालै उजुरी गरिनन्।
यो घटनाबारे उनले आफ्ना पतिलाई बताए। त्यसबेलासम्म छात्रालाई पीड़ा असहनीय भएको थियो। यसपछि उनीहरूले शुक्रवार पानीघट्टा पुलिस आउट पोस्टमा लिखित उजुरी गरे। यसैगरी घटनाबारे प्रधानाध्यापकबारे जानकारी गराउँदा ती प्रधानाध्यापकले सहयोग नगरेको तथा घटनालाई लुकाउने कोशिश गरेको पीड़ित बालिकाका आमा-बाबाले आरोप लगाएका छन्।
यसैबीच, पुलिसले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा मेडिकल परीक्षण गर्दा दुष्कर्म गरिएको पुष्टि भयो। यसपछि सोमवार आरोपी शिक्षक पानीघट्टा थानामा आएर आत्मसमर्पण गरेपछि पुलिसले पक्राउ गर्यो। पुलिस प्रभारी दासका अनुसार आरोपी शिक्षकमाथि मुद्दा दर्ता गरिएको छ।
अर्कोतिर, मङ्गलवार प्राइमेरी स्कूल बोर्ड जीटीएकी अध्यक्ष छिरिङ दाहाल, मिरिक सर्कलका अतिरिक्त निरीक्षक नवाङ छिरिङलगायत अन्य अधिकारीहरूले लोहागढ़ प्राथमिक पाठशालाको भ्रमण गरे।
यसअवसरमा छिरिङ दाहालले स्कूलका प्रधानाध्यापक र अन्य शिक्षणकर्मीहरूलाई यस प्रकारको घटना अबउसो भविष्यमा पनि घटेको खण्डमा कठोर कारबाही गर्ने चेताउनी दिइन्।
यसैगरी दाहालसहित उक्त टोलीले पीड़ित परिवारसँग पनि भेट गरी न्यायको आश्वासन दिएको बताइएको छ।
यसैगरी, उनीहरू पानीघट्टा पुलिस थाना पुगेर पुलिसलाई यो मामिलालाई हल्का रूपमा नलिने सुझाए।
यस घटनाबारे बोल्दै उनले भनिन्, “आरोपीलाई कठोरभन्दा कठोर सजाय दिइनुपर्छ, ताकि भविष्यमा यस्तो अपराध गर्ने हिम्मत कसैले नगरुन्। आरोपी शिक्षकले एक सानी बालिकासँग श्रेणीकोठाभित्रै यस्तो ठूलो अपराध गर्ने हिम्मत कसरी गर्यो, म छक्क परेको छु।’’
अर्कोतिर, गैरसरकारी सङ्गठन च्याँगा नारी सेवा समितिका अध्यक्ष दिवाकरी छेत्री र अन्य सदस्यहरूले आज प्रधानाध्यापकसँग भेट गरी आरोपी शिक्षकलाई तत्कालै स्कूलबाट निलम्बित गर्नुपर्ने माग गरेका छन्।
“स्कूलको श्रेणीकोठाभित्रै यति ठूलो अपराध हुनु र अन्य शिक्षक र कर्मचारीहरू अनभिज्ञ रहनु ठूलो लाजको कुरा हो। स्कूलभित्रै यस्तो घटना घट्छन् भने छात्राहरू कहाँ सुरक्षित छन्”, छेत्रीले भनिन्, “यस्तो जघन्य अपराध स्कूलभित्रै हुनथाले आमा-बाबाले आफ्ना नानीहरूलाई कसरी स्कूल पठाउन सक्नेछन्?”