दार्जीलिङ, ४ दिसम्बरः बुधवार सांसद राजु विष्टले सदनमा आफ्नो दार्जीलिङ संसदीय क्षेत्रमा एउटा बहुउद्योग विशेष आर्थिक क्षेत्र (मल्टी इण्डस्ट्रिज स्पेशल इकोनमिक जोन)-को स्थापना गरिनुपर्ने माग गरे।
उनले दार्जीलिङ पहाड़ एडुकेशन हब भएकोले यहाँ प्रतिभाको कुनै कमी नरहेको समेत बताए। साथै यहाँ बेरोजागर समस्या चरममा रहेकोले दार्जीलिङ पहाड़का प्रतिभाहरू आफ्ना वृद्ध आमा-बाबालाई छोड़ेर अहिले गुड़गाउँ, नोएडा, बेङ्ग्लुरु, हैदरबाद, पूर्ण र देशभरिका आईटी र आईटीईहरूमा कार्यरत् रहेको बताए।
विष्टले आज आफूले सांसदमा उठाएको मुद्दाबारे एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। उनले दार्जीलिङ पहाड़मा बहुउद्योग विशेष आर्थिक क्षेत्र स्थापना गरेको खण्डमा रोजगार सिर्जना हुने, जसलाई यो क्षेत्रको ‘ब्रेन ड्रेन’ रोक्नका साथै रोजगार बढ़्नाले अर्थव्यवस्थामाथि प्रभाव कम्ती पर्ने तथा अन्य क्षेत्रमा पनि सुधार हुने अवगत गराएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘हाम्रो क्षेत्रका सबै प्रतिभाशाली युवाहरूले राष्ट्रको विकासमा योगदान दिन सक्षम हुनेछन्। साथै हाम्रो क्षेत्रीय अर्थव्यवस्था देशको आर्थिक मुख्यधारासँग जोड़िनेछ’, विज्ञप्तिमा उनले बताएका छन्, ‘दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्र सड़क, रेलवे र हवाईमार्गसँग राम्रोसँग जोड़िएको छ। यसैले बहुउद्योग विशेष आर्थिक क्षेत्रले विदेशी निवेश र बहुराष्ट्रिय कम्पनीहरूलाई यहाँ आकर्षित गर्नमा मद्दत गर्नेछ।’
यसका साथै यो क्षेत्र उत्तरपूर्वी राज्यहरू र दक्षिण एशियेली देशहरू क्रमैले नेपाल, भूटान र बङ्ग्लादेश जस्ता देशहरूका लागि प्रवेशद्वार रहेकोले बहुउद्योग विशेष आर्थिक क्षेत्र स्थापना गरिएको खण्डमा यो क्षेत्रलाई उद्योग र निर्यात हबको रूपमा स्थापित गर्नमा ठूलो भूमिका निर्वाह गर्ने पनि सदनमा बताइएको विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारले दार्जीलिङ लोकसभा संसदीय क्षेत्रलाई आर्थिक महाशक्तिको रूपमा अघि बढ़्नका लागि मद्दतहेतु पहल गर्नेछ भन्ने पनि विष्टले आशा गरेका छन्।