दार्जीलिङ, 5 दिसम्बरः अखिल भारतीय गोर्खा लीगका अध्यक्ष मदन तामाङ हत्याकाण्डका दोषीहरूले उचित सजाय पाउनुपर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष मन घिसिङले बताएका छन्।
बिहीवार दार्जीलिङमा पत्रकारहरूसँग कुरकानी गर्दै घिसिङले यस्तो मत प्रकट गरेका हुन्। “मदन तामाङ हत्याकाण्डका दोषीहरूले सजाय नपाएको कारण न्यायको माग गर्दै उनकी धर्मपत्नी भारती तामाङ चौरस्तामा अनशन बसेकी थिइन्। उनको अनशनलाई गोरामुमोले पनि समर्थन जनाएको थियो”, उनले थपे, “ किनभने गोरामुमोले मदन तामाङका हत्याराहरूले उचित सजाय पाएको हेर्न चाहन्छ।’’
मन घिसिङका अनुसार अनशनमा भएकी भारतीय तामाङलाई ऊर्जा र हिम्मत दिनका लागि चौरस्ता पुगेका उनीमाथि विभिन्न मुद्दा लगाइएको थियो। आज यसै मुद्दाको सुनवाइका लागि उनी अदालत पुगेका थिए।
उनले थप बताएअनुसार सर्वदलीय बैठकमा लिएको निर्णयानुसार स्व. मदन तामाङकी पत्नी भारती तामाङ चौरस्तामा अनशन बसेकी थिइन्।
“उक्त अनशनलाई हामी पनि समर्थन जनाउन गएका थियौं। ताकि उनले अझै हिम्मत पाउन् भन्ने हाम्रो सोच थियो’’, मन घिसिङले थपे, “तर त्यस अनशनलाई समर्थन जनाएको कारण हामीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।” उनले अझ भने, “अहिलेसम्म पनि भारती तामाङ न्यायको प्रतीक्षामा छिन्, उनले न्याय पाइसक्नुपर्ने हो। त्यस घटनामा लिप्त दोषीहरूले सजाय पाउनुपर्ने हो। तर यति वर्ष बितिसक्दा पनि न्याय पाउन नसकेको स्पष्ट छ।’’