गोर्खाल्याण्ड माग्दै दिल्लीमा क्रामाकपाको धरना

0
1529
गोर्खाल्याण्डका लागि दिल्लीमा धरना दिइँदै।

दार्जीलिङ, 8 दिसम्बर: क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले आइतवारदेखि छुट्टै राज्य गोर्खाल्याण्डका लागि दिल्लीको जन्तरमन्तरमा धरना कार्यक्रम शुरु गरेको छ।

यो धरना भोलिसम्म चल्नेछ। दिल्लीमा गोर्खाल्यान्डका लागि धरना दिनकै लागि क्रामाकपा कार्यकर्ताहरू दार्जीलिङबाट दिल्ली पुगेका थिए। यसैगरी त्यहाँको गोर्खाल्याण्डपन्थी सङ्घ-संस्था गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले पनि धरनामा सहभागिता जनाएको छ।

क्रामाकपाका अनुसार संसदको शीतकालीन सत्र चलिरहेकै बेला छुट्टै राज्य गोर्खाल्याण्डप्रति केन्द्र सरकारको ध्यानाकर्षण गर्नका लागि जन्तरमन्तरमा धरना कार्यक्रम आयोजन गरिएको हो।

“भाजपाले पछिल्लो लोकसभा चुनाउमा आफ्नो सङ्कल्प-पत्रमा दार्जीलिङको स्थायी राजनीतिक समाधान गर्ने प्रतिबद्धता जनाएको छ”, क्रामाकपा केन्द्रिय सचिव मण्डली सदस्य किशोर प्रधानले थपे, “दार्जीलिङको स्थायी समाधान भनेकै गोर्खाल्याण्ड हो। यसैले केन्द्र सरकारले छुट्टै राज्यका लागि पहल शुरु गर्नुपर्छ।”

दार्जीलिङ पहाड़ मात्र होइन, तराई डुवर्सलाई समेटेर गोर्खाल्याण्ड गठन गरी भाजपाले आफ्नो वचन पूरा गर्नुपर्ने प्रधानको माग छ। “हामीले मागिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको माग संवैधानिक माग हो”, उनले थपे, “यसैले केन्द्र सरकारले हाम्रो मागलाई पूरा गर्नुपर्छ।”

यसैगरी उनले क्रामाकपाको एक मात्र अड़ान छुट्टै राज्य गोर्खाल्याण्ड रहेकोले  बङ्गालभित्रको टुलटुले व्यवस्थालाई क्रामाकपाले कदापि  नस्वीकार्ने बताए।

क्रामाकपा जन्मकै गोर्खाल्याण्डका लागि हो। त्यसैले हामी कहिल्यै पनि बङ्गालभित्रको व्यवस्थालाई स्वीकार गर्ने छैनौं”, उनले थपे, “गोर्खाल्याण्डका लागि दिल्लीमा धरना दिने पहिलो पार्टी नै क्रामाकपा हो। हामी गोर्खाल्याण्डका लागि निरन्तर लड़्नेछौं।”

अर्कोतिर, उनले  दार्जीलिङको स्थायी राजनीतिक समाधानको मुद्दालाई सांसद राजु विष्टले उठाइरहेकोले उनको हात दह्रो बनाउन पनि क्राकामपाले यो धरना कार्यक्रम आयोजन गरेको बताए।

यसैबीच आजको धरना कार्यक्रमलाई क्रामाकपाका  शेखर छेत्री, विक्रम छेत्री, किशोर प्रधान, सञ्जीला घिसिङ र विन्द्या डुक्पा तथा जेएसएसएसका उत्तम कुमार छेत्री र अञ्जनी शर्माले सम्बोधन गरेका थिए।

उनीहरूले सबैले गोर्खाहरूलाई न्याय दिनका लागि  केन्द्रको भाजपा सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने बताए। उनीहरूका अनुसार बङ्गालभित्र गोर्खा समुदाय सुरक्षित छैनन्। यसैले गोर्खाल्याण्ड गठनले गोर्खाहरूले साँचो न्याय पाउनेछन्

आजको धरना कार्यक्रममा सहभागीहरूले गोर्खाल्याण्डको माग चर्को नारा आदि लगाएका थिए भने हात हातमा प्ला-कार्डहरू पनि बोकेका थिए। जानकारीका अनुसार आजको धरना कार्यक्रममा मदर्स ग्रुप दिल्ली र अखिल भारतीय गोर्खा लीग भारती तामाङ गुटले पनि सहभागिता जनाएका छन्।

उल्लेखनीय छ, दिल्लीको जन्तरमन्तरमा आयोजित यो गोर्खाल्याण्ड धरनामा सहभागिताका लागि क्रामाकपाले गोर्खाल्याण्डपन्थी राजनीतिक दल र सङ्घ-संस्थाहरूलाई चिट्ठी पठाएर निम्तो गरे तापनि अन्य राजनीतिक दल र सङ्घ-संस्थाहरू आजको धरना कार्यक्रममा सामेल भएनन्।

अर्कोतिर भोलि दोस्रो दिनको धरनामा अन्य सङ्घ-संस्था र राजनीतिक दलहरूले पनि सहभागिता जनाउने आशा गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here