दार्जीलिङ, 8 दिसम्बरः ‘हेल्प द हेल्पनेस इन् विन्टर’ कार्यक्रमअन्तर्गत् कुमाई वेलफेयर सोसाइटीले गाउँ गाउँबाट उठाइएका न्याना वस्त्रादि आइतवार दलसिंहपाड़ा चियाकमानअन्तर्गत जट्टु लाइनमा वितरण गऱ्यो।
सोसाइटीले यसअवसरमा ससानादेखि वृद्ध-वृद्धाहरूसम्मलाई हुने न्याना लुगाहरू बाँड़्यो। यस कार्यका लागि सोसाइटीका सदस्यहरू क्रमैले विमल विश्व, मोनाल राई, रूद्र मगर, जीवन गुरुङ, अमन सुब्बा र सबिना आज जट्टु लाइन पुगेका थिए।
सोसाइटीका सचिव देवराज राई जोनलले दिएका जानकारीका अनुसार आगामी दिनमा पनि सोसाइटीले यस प्रकारको सामाजिक कार्यलाई जारी राख्नेछ।
उनका अनुसार पुनः विभिन्न ठाउँबाट न्याना वस्त्रा आदि सङ्ग्रह गरी आवश्यक मानिसहरूलाई वितरण गर्ने सोच छ। यदि कसैले वस्त्रादि दिन चाहेको खण्डमा सोसाइटीसँग सम्पर्क राखिदिने पनि उनले अनुरोध गर्नका साथै आज बाँड़िएका वस्त्र दिने सहृदयीहरूप्रति आभार प्रकट गरेका छन्।
अर्कोतिर आजको कार्यक्रममा सहयोग पुऱ्याउने दलसिंहपाड़ानिवासी महेन्द्र विश्वप्रति पनि सोसाइटीले आभार प्रकट गरेका छन्।