दार्जीलिङ, 8 दिसम्बरः ‘कतातिर टाले अर्कोतिर भत्किहाल्छ’ भनेजस्तै अवस्था अहिलेघरी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को भएको छ। किनभने साङ्गठनिक कार्यलाई लक्षित गरी पार्टी अध्यक्ष मन घिसिङले समष्टि भ्रमण शुरु गरिरहेको बेलामा नै गोरामुमो समर्थकहरू भटाभट पार्टी त्यागेर विनयपन्थी मोर्चामा सामेल भइरहेका छन्।
पछिल्लो एक सातायता भटाभट गोरामुमो कार्यकर्ताहरूले गोजमुमो (दोस्रो खेमा)-को झण्डा समातिरहेका छन्।
यसैक्रममा आइतवार सालु चियाबारीका 18 घर गोरामुमो कार्यकर्ताहरू विनयपन्थी मोर्चामा सामेल भएको दाबी गरिएको छ।
आज चुङथुङ-मेराबुङ-तामसाङ समष्टिअन्तर्गत सालु चियाबारीमा बसेको एक सभाकै अवसरमा ती गोरामुमो कार्यकर्ताहरूले पार्टी त्यागेर विनयपन्थी मोर्चाको झण्डा समाएको दाबी छ।
सभामा युवा मोर्चा केन्द्रिय समिति महासचिव अरुण छेत्री प्रमुख रूपले उपस्थित थिए।
बिस्तारै गोरामुमो, भाजपा, र विमलपन्थी गोजमुमोसँग जनताको मोहभङ्ग हुनथालेकोले उनीहरू बिस्तारै आफ्नो पार्टीमा सामेल भइरहेको विनयपन्थी मोर्चाको दाबी छ।