दार्जीलिङ, 9 दिसम्बरः राज्यसभा सांसद शान्ता छेत्रीले सोमवार संसदको माथिल्लो सदनमा चियाकमानको मुद्दा उठाउँदै वाणिज्य एवं उद्योग मन्त्रीलाई चियाकमानमा न्यूनतम रोज अधिनियम लागू गर्ने माग गरिन्।
यसका साथै छेत्रीले चियाश्रमिक र आश्रित परिवारहरूका अस्पताल निर्माण गरिनुपर्ने तथा चियाश्रमिकहरूका छोरा-छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनुपर्ने माग गरेकी छन्।
सदनमा शान्ता छेत्रीले चियाश्रमिक र मालिकवर्गका लागि सरकारले चाँड़ै ध्यान पुऱ्याउनुपर्ने माग गरेकी थिइन्। यसअवसरमा उनले विशेषगरी डुवर्सका बन्द चियाकमानहरूको प्रसङ्ग उठाइन्।
चियाकमानले ढाकिएको जनजाति बाहुल डुवर्सका अधिकांश चियाकमान बजारको दर र उत्पादन खर्चको कारण बन्द भइरहेको कारण चियाश्रमिकहरूले जीविकोपार्जनका लागि अन्य विकल्पहरू खोज्न बाध्य बनिरहेको उनको भनाइ थियो।
यसैले चियाको गाछ पुन रोप्न र यसको आधुनिकीकरणका लागि सरकारले छुट दिनुपर्ने पनि उनले माग गरिन्।
‘2011 सम्म चियाश्रमिकहरूको दैनिक ज्याला 67 रुपियाँ थियो। तर, मुख्यमन्त्री ममता ब्यानर्जीले यसलाई बढ़ाएर अहिले 176 रुपियाँ बनाएकी छन्’, छेत्रीले राज्यसभामा भनिन्, ‘चियाश्रमिकहरूको दुःखलाई ध्यानमा राखेर प्रतिकेजी दुई रुपियाँको दरमा चामल र आँटा राज्य सरकारले दिइरहेको छ। साथै चियाश्रमिकहरूको कल्याणका लागि चिया निदेशालय गठन गरिएको छ।’
अर्कोतिर, छेत्रीले आफूलाई ‘चियावाला’ भन्ने प्रधानमन्त्रीले चियाश्रमिकहरूको समस्यालाई गम्भीरतापूर्वक विचार गर्ने दिएका वाचालाई पनि सदनमार्फत् स्मरण गराइन्। यसैअवसरमा उनले नेपालको चियालाई विश्व प्रसिद्ध दार्जीलिङ चिया ब्रान्डमा विश्व बजारमा बेचिरहेकोले यसले दार्जीलिङ चियामाथि नकारात्मक असर परिरहेको यो मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरिन्।