खरसाङ, 10 नोभेम्बरः हिजो राति प्रबन्धकपक्षले नोटिस टाँसेर चम्पट कसेपछि आजदेखि लङ्भ्यु चियाकमान बन्द भएको छ। जसको कारण यहाँका 11 सयभन्दा बढ़ी श्रमिक/कर्मचारी बिचल्लीमा परेका छन्।
जानकारीका अनुसार लङ्भ्यु चियाकमानमा केही महिनायता गतिरोध सिर्जना भएको थियो। यस चियाकमानका श्रमिकहरूले पछिल्ला दुई महिनायता न वेतन पाएका थिए न राशिन नै।
विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का नेता प्रणाम रसाइली जनसंवादलाई बताएका अनुसार यस चियाकमानका कर्मचारी (स्टाफ) -हरूले पछिल्लोपटक दिएको 12 प्रतिशतको बोनसमा पनि आधा मात्र पाएका थिए।
जसको कारण पनि यो चियाकमानमा गतिरोध सिर्जना भएको थियो। उनका अनुसार यो गतिरोधलाई साम्य गरी कमानलाई सुचारू चलाउनका लागि श्रमिक सङ्गठनहरूले लगातार पहल गरेका थिए। यद्यपि हिजै राति नै प्रबन्धकपक्षले कमान बन्द गरिएको नोटिस टाँसेर चम्पट कसेका छन्।
अर्कोतिर प्रबन्धकपक्षद्वारा टाँसिएको नोटिसमा श्रमिकवर्गमा कार्यसंस्कारको अभाव, घरी घरी धरना गेट सभा आदिको कारण चियाको उत्पादनमा कमी तथा निर्मित चियालाई बिक्रीका लागि बाहिर लैजान नदिएको कारण कमान बन्द गर्नपरेको बताइएको छ।
नोटिसका अनुसार बन्दावधिभरि श्रमिकहरूलाई वेतन नदिने पनि बताइएको छ भने अन्य आवश्यकीय सेवाहरू भने सुचारू रहने जनाइएको छ।