शाह र विष्टको पुतला जलाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु होः विमल

0
1250
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 10 दिसम्बर: राज्य सरकारको उक्साइमा विनय तामाङ र अनित थापाहरूले अहिले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को नागरिक संशोधन बिल (सीएबी)-को विरोध गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले बताएका छन्।

यसका साथै उनले सत्तापक्षले दार्जीलिङ पहाड़, तराई-डुवर्समा  राष्ट्रिय नागरिक पञ्जी र नागरिक संशोधन बिललाई लिएर दुष्प्रचार गरिरहेको भन्दै यसमा खेद प्रकट गरेका छन्।

मङ्गलवार गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘विनय तामाङ-अनित थापाहरूले तृणमूल कङ्ग्रेस पार्टीको उक्साइमा लागेर यी कानूनहरूको विरोध गरेको हो, जो निन्दनीय छ। भारतीय गोर्खाहरू यो देशका खाँटी नागरिक हुन्। यसैले राष्ट्रहितका लागि दुवै कानूनको हामी समर्थन गर्छौं।’

उनले थप भनेका छन्, ‘राष्ट्रहितका लागि देशको वर्तमान सरकारले लिएको कदमको विरोध गर्नु भनेको आफैलाई भारतीय नागरिक हुनुमा सन्देह उत्पन्न गराउनु हो।’

विमलको दाबीका अनुसार राज्य सरकारको आशीर्वादमै विनय तामाङहरूले मुद्दाकै अभावमा अहिले एनआरसी र सीएबीको विरोध गरिरहेका छन्।  ‘हामीलाई यस्ता मुद्दाहरूमा अल्झाएर हाम्रो दीर्घकालिक छुट्टै राज्यको मागलाई छताछुल्ल पार्ने राज्य सरकारको षड़यन्त्रदेखि दार्जीलिङ पहाड़, तराई, डुवर्सका जनता सजग बसिदिने म आह्वान गर्न चाहन्छु’, उनले भनेका छन्।

यसका साथै विमलले आफूहरू एनआरसी र सीएबीको कारण उत्पन्न असमञ्जयता विषयमा केन्द्र सरकारसँग लगातार सम्पर्कमा रहेको तथा दीर्घकालिक छुट्टै राज्यको मागलाई  फत्ते गर्न बारम्बार कोशिश गरिरहेको दाबी गरेका छन्।

‘यस्तो अवस्थामा विनय तामाङ-अनित थापाहरूले भारतका गृहमन्त्री अमित शाह अनि सांसद राजु विष्टको पुतला जलाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो भन्ने हाम्रो टेक छ’, गुरुङले विज्ञप्तिमा थप भनेका छन्, ‘दार्जीलिङ पहाड़ तराई अनि डुवर्सका जनतालाई विनय तामाङ-अनित थापाहरूको यस्तो कार्यमा  साथ नदिन म सबै सबैमा अपील गर्छु।’

अर्कोतिर उनले हिजो राति नागरिक संशोधन विधेयकमाथि बहसअवधि गृहमन्त्री अमित शाहले एनआरसी लागू  भारतीय गोर्खाहरू देशबाहिर जानुपर्ने कुरालाई असत्य भनेको तथा गोर्खा समुदायको नाम उल्लेख गर्दै उनले गोर्खालगायत पञ्जबी, बिहारी, मारवाड़ीहरू कसैलाई पनि एनआरसी प्रक्रियाले असर नपर्ने कुरा सदनमा राखेको तथा सांसद राजु विष्टले सदनमा जोड़दार प्रकारले तृणमूल कङ्ग्रेसले गोर्खा जातिमा विभाजन ल्याउन षड़यन्त्र रचेको भन्दै गृहन्त्री अमित शाह र सांसद राजु विष्टलाई गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट धन्यवाद दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here