विनय र गौरव गोगोईलाई विष्टको चुनौती- ‘अमित शाह गोर्खालाई ‘घुसपैठिया’ भनेको प्रमाण दिउन्’

0
1802
राजु विष्ट (फाइल फोटो)

दार्जीलिङ, १० दिसम्बरः हिजो लोकसभामा नागरिक संशोधन विधेयकमाथि बहसअवधि केन्द्रिय गृहमन्त्री अमित शाहले गोर्खालाई ‘घुसपैठिया’ भनेको कुनै पनि क्लिप प्रमाणको रूपमा देखाउने सांसद विष्टले कङ्ग्रेस सांसद गौरव गोगोई र विनय तामाङहरूलाई चुनौती दिएका छन्।

विष्टले कङ्ग्रेस सांसद गौरव गोगोईको नाम नलिइकनै एकजना कङ्ग्रेस सांसदले खुल्ला रूपमा झूटो बोलेको र त्यसै झूटलाई दार्जीलिङ पहाड़का तृणमूल कङ्ग्रेस समर्थकहरूको एक झुण्डले बोकेर कुदिरहेको पनि बताएका छन्। यसले आफूलाई हल्का रमाइलो लाग्यो उनको भनाइ छ।

‘कङ्ग्रेस सांसद अनि तृणमूल कङ्ग्रेस समर्थकहरू दुवैले गृहमन्त्री अमित शाहले हिजो सदनमा नवागरिक संशोधन विधेयकमाथि चर्चा हुँदा गोर्खालाई घुसपैठिया भनेको दावी गरेका रहेछन्। भारतमा गोर्खाहरूको जनघनत्व सर्वाधिक रहेको दार्जीलिङ संसदीय क्षेत्रलाई म प्रतिनिधित्व गर्दछु। साथै म उक्त बहस हुँदा संसदमा नै उपस्थित थिए’, विष्टले थप भनेका छन्, ‘म साक्षी दिन चाहन्छु, हिजो गृहमन्त्रीले आफ्नो बयानमा गोर्खालाई घुसपैठिया शब्दको प्रयोग गरेका छैनन्। म उनीहरूलाई चुनौती दिन्छु, अमित शाहले गोर्खालाई घुसपैठिया भनेको कुनै पनि क्लिप प्रमाणको रूपमा देखाउन्।’

उनको दाबीका अनुसार यदि ‘शाहले कहींकतै घुसपैठिया शब्दको प्रयोग गरेका छन्, त्यो तृणमूल कङ्ग्रेस र कङ्ग्रेसले भोट ब्याङ्कको रूपमा भित्राएका बङ्ग्लादेशी र रोहिङ्ग्याका लागि भनेका’ हुन्।

‘यसरी तृणमूल कङ्ग्रेस र कङ्ग्रेसले अनावश्यक रूपमा कुरालाई बढ़ाइ-चढ़ाइ गर्नु अनि उनीहरूले गोर्खाको सन्दर्भ कुनै पनि प्रकारले घुसपैठी भोटब्याङ्कसँग जोड़्नु भनेको अमित शाहले उनीहरूको भोटब्याङ्कको राजनीतिमा सफल सर्जिकल स्ट्राइक गरेकोले दलमा छाएको हताशा देखापरेको हो’, भाजपा सांसदले थप भनेका छन्, ‘आफ्नो व्यक्तव्यमा अमित शाहले भारतीय गोर्खाको नाम एकपटक लिएका छन्, जहाँ उनले पूर्वोत्तरमा बस्ने गोर्खा पञ्जाबी, बिहारी अनि अन्य भारतीयहरूले सुर्ताउन नपर्ने अनि उनीहरू जहाँ बसेका भए पनि सुरक्षित रहने भनेका छन्।

यसका साथै उनले कङ्ग्रेस सांसद र गृहमन्त्री शाहको पुतला जलाउने तृणमूल क्याडरहरूलाई अमित शाहको यस्तो कुनै सन्दर्भ प्रमाणित गर्नुपर्ने थप चुनौती दिएका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले झैं कसैले पनि गोर्खाहरूको राष्ट्रप्रतिको योगदानलाई सम्मान गरेका छैनन्। कङ्ग्रेस र तृणमूल कङ्ग्रेसले गोर्खालाई भ्रममा पार्न फैल्याएका यस्ता दुर्भावनापूर्ण हल्लाहरूमा ध्यान नदिने म जनतालाई अपील गर्दछु’, सांसद विष्टले थप भनेका छन्, ‘उनीहरूसँग उनीहरूको भोटब्याङ्कलाई देखाएर अनुहार लुकाउने केही पनि उब्रेको छैन, यसैले उनीहरूले दुर्भावनापूर्ण झूट र हल्ला फैलाइरहेका छन्। हाम्रो उखानले भनेजस्तै कागले कान लाग्यो भन्दैमा कागको पछि कुद्नु हुँदैन, कान छाम्नुपर्छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here