दार्जीलिङ, ११ दिसम्बरः नागरिक संशोधन विधेयकले गोर्खालाई छुँदै नछुने भएकोले गोर्खा समुदाय योसँग अलिकति पनि डराउनु नपर्ने भाजपा वियेधक नीरज जिम्बाको ठोकुवा छ।
बुधवार प्रेसगिल्डमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले डाकेरको पत्रकार सम्मेलनमा बोल्दै यी भाजपा विधेयकले यस्तो ठोकुवा गरेका हुन्। पत्रकार सम्मेलनमा जिम्बालगायत गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्ड, गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामालगायत अन्य उपस्थित थिए।
‘‘नागरिक संशोधन विधेयकले गोर्खालाई छुँदैन। यसैले गोर्खा समुदाय सीएबीसँग अलिकति पनि डराउनु पर्दैन’’, जिम्बाले ठोकुवा गरे। उनले यसअवसरमा विनयपन्थी मोर्चामाथि तीखो कटाक्ष गर्दै तृणमूल कङ्ग्रेसँग लागेर अहिले सीएबी र एनआरसीलाई लिएर विनयपन्थी गोजमुमोले जनतामा भ्रम फैलाइरहेको बताए।
नीरज जिम्बाको दाबीका अनुसार पहाड़का मानिसहरूसँग आफू बस्दै आएको जमिनको कागज-पत्र छैन भने सीएबी र एनआरसीसँग डराउनु पर्दैन। किनभने सीएबी गोर्खा समुदायका लागि होइन।
‘‘यो नागरिकता संशोधन विधेयक केवल तीन देश क्रमैले पाकिस्तान, बङ्ग्लादेश र अफगानिस्तानबाट प्रताड़ित बनेर आएका हिन्दुलगायत अन्य केही सम्प्रदायका लागि हो’’, उनले ठोकुवा गरे, ‘‘यसले भारतीय गोर्खालाई छुँदै छुँदैन। यसैले पनि गोर्खा समुदाय अन्य पार्टीको भूल बुझाइबाट डराउनु हुँदैन। सीएबीको कुरा छैन हामी यसबाट प्रभावित हुँदै हुँदैनौं। एनआरसीबाट पनि गोर्खा प्रभावित नबनिने गृहमन्त्री अमित शाहले भनिसकेका छन्।’’
जिम्बाले सीएबी र एनआरसीले गोर्खाहरूलाई नछुने बताए तापनि मानिसहरूलाई आधारभूत दस्तावेज भने आफूसित सुरक्षित गर्ने सुझाएका छन्।
अर्कोतिर पत्रकार सम्मेलनअवधि जिम्बाले गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले सीएबीलाई अरूले सिकाएको भरमै जे पायो त्यो बोलिरहेको भन्दै विनय तामाङले सीएबीलाई लिएर फेद न टुप्पोको तर्क नगरेकै राम्रो हुनेसमेत बताएका छन्।
‘‘दार्जीलिङका लागि जहिल्यै केही राम्रो हुने आँटेको हुन्छ, बङ्गालले षड़यन्त्र गरेर विरोध गर्नेहरू जन्माउँछ। पहिला ८६ –मा पनि त्यस्तै भयो, हाम्रैहरूले विरोध गरेको कारण हामी दार्जीलिङ गोर्खा हिल काउन्सिलमा बिसाउनु पऱ्यो। २००७ मा छैटौं अनुसूची पाउनैलाग्दा विरोध भएर जीटीएजस्ता थोत्रे व्यवस्था आउनुपऱ्यो। २०१७ –मा पनि गोर्खाल्याण्ड जनआन्दोलनमा पनि साथीहरू सम्झौतामा गएर बङ्गाल लागेर कस्तो दुर्गति भयो’’, उनले भने, ‘‘आजदेखि सीएबीको विरोधमा शुरु भएको विक्षोभ प्रदर्शन पनि यस्तै एक षड़यन्त्र हो। यो दार्जीलिङका लागि हुनआँटेको स्थायी राजनीतिक समाधानको बाटोमा बाधा उत्पन्न गर्ने चाल हो।’’
यसैले अहिले नै सीएबीको विरोध गर्नु ऐतिहासिक भूल हुने नीरज जिम्बाको ठम्याइ छ। यद्यपि देशमा एनआरसी लागू हुनअघि नै यसका विविध समस्याबाट गोर्खा समुदायलाई बचाउनका एक प्रतिनिधि टोलीले गृहमन्त्रीसित भेट गर्ने योजना बनाइरहेको पनि जिम्बाले बताए।
उनका अनुसार गृहमन्त्रीसँग भेट गर्नका लागि सांसद राजु विष्टले एक प्रतिनिधि टोली गठन गर्नेछन्, जुन टोलीले केन्द्रिय गृहमन्त्री शाहसँग भेट गरी सीएबी र एनआरसीबारे चर्चा गर्नेछ।
यसैअवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले विनयपन्थी मोर्चाद्वारा चोकबजारमा गृहमन्त्री अमित शाह र सांसद राजु विष्टको पुतला दहन गरिएको घटनाप्रति पनि निन्दा गरेका छन्। उनले सांसद राजु विष्टले दिल्लीमा राम्रो काम गरिरहेको दाबी पनि गरे।