खरसाङ, 13 दिसम्बर: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –को जनचेतना सङ्घर्ष समितिले रोहिणी रोडमा पुनः उठाउन शुरु गरिएको टोल ट्याक्स बन्द गरिनुपर्ने माग गरेको छ।
समितिको दाबीका अनुसार टोल ट्याक्सबाट उठेको पैसामार्फत् जीटीएले रोहिणी रोडको मरम्मती गरिरहेको छैन। ‘रोहिणी रोड जनताका सुविधाका लागि गोरामुमो अध्यक्ष स्व. सुवास घिसिङले बनाएका हुन्’, समितिकी अध्यक्ष मञ्जिला तामाङले भनिन्, ‘कुनै पार्टीको फण्डका लागि बनाएका होइनन्। टोल ट्याक्सको नाममा कसैले पार्टी फण्ड उठाउनु पाउँदैन।’
उनका अनुसार टोल ट्याक्सबाट प्रतिदिन पैसा के कति उठ्छ औ कहाँ जान्छ भनी खोजी गर्नका लागि समितिले निकट दिनमा आरटीआई गर्नेछ। यसभन्दा अघि पनि टोल ट्याक्सलाई लिएर समितिले आरटीआई गरिसकेको मञ्जिला तामाङको भनाइ छ।
“राज्यकी मुख्यमन्त्री स्वयं उपस्थित भएर यो रोहिणी रोडलाई सुवास मार्ग भनेर आधिकारिक घोषणा गरेकी हुन्, त्यसबेलाका जीटीए अध्यक्ष विनय तामाङ पनि उपस्थित थिए”, उनले थपिन्, “राष्ट्रिय राजमार्ग 55 अन्तर्गत् पगलाझोड़ामा घरी घरी पैह्रो गएर दुःख दिने भएकोले जनताको दुःख नहोस् भनेर सुवास घिसिङले यो बाटो आफै बसेर बनाएका हुन्। जनताले दुःख नपाउन् भन्ने उनको सोच थियो। यसैले यो रोडको नाम सुवास मार्ग भइसकेपछि आज जसरी जीटीएले टोल ट्याक्स उठाउँदैछ, त्यो सुवास घिसिङको नामलाई बदनाम गर्नु हो भन्ने हामीलाई लागेको छ।”
उनले सुवास घिसिङको नाममा मार्गबाट पैसा उठाएर गोजी भर्ने कामलाई जनचेतना सङ्घर्ष समितिले स्वीकार नगर्ने बताइन्। टोल ट्याक्सको विरोधमा चालकहरू पनि अघि आउनुपर्ने बताएकी छन्।
उल्लेखनीय छ, समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा समितिको एक टोलीले बिहीवार रोहिणी टोल ट्याक्सको परिभ्रमण गरेको थियो। यो परिभ्रमणपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले रोहिणी रोडमा जीटीएले पुनः टोल ट्याक्स उठाउन शुरु गरेकोमा तीखो शब्दमा आपत्ति जनाएकी हुन्।