दार्जीलिङ, १३ दिसम्बरः बिहीवार लोकसभामा झारखण्डका भाजपा सांसद निशिकान्त दुबेले कङ्ग्रेसका पूर्व सांसद स्व. मणिकुमार सुब्बामाथि दिएको बयानलाई लिएर राजु विष्टले तीखो शब्दमा निन्दा गरेका छन्।
उल्लेखनीय छ, सांसद निशिकान्त दुबेले हिजो सदनमा बोल्दै असमको तेजपुरबाट तीनपटक सांसद निर्वाचित भएका एमके सुब्बालाई नेपालका नागरिक बताएका थिए। साथै उत्तर-पूर्वी राज्यहरूमा कङ्ग्रेसका यी पूर्व सांसद सुब्बाले बङ्ग्लादेशी र बाहिरका मानिसहरूलाई व्यापक सङ्ख्यामा अनुप्रवेश गराएको गम्भीर आरोपसमेत लगाएका थिए।
यसै बयानको निन्दा गर्दै विष्टले शुक्रवार एक विज्ञप्ति जारी गरी हिजो सदनमा आफू उपस्थित नरहेको बेला आफ्नो पार्टीका सांसद निशिकान्त दुबेले तेजपुरका पूर्व गोर्खा सांसद मणिकुमार सुब्बामाथि दिएको गलत बयानकै कारण आफूले स्व. सुब्बाका परिवारसँग माफी मागेको बताएका छन्। उनी (सांसद दुबेले)-द्वारा गरिएको दाबीलाई म निन्दा गर्छु’, विष्टले भनेका छन्, ‘उनको यस्तो गलत बयानका लागि म स्व. सुब्बाका परिवारप्रति माफी माग्छु।’
सीबीआईले पूर्व सांसद सुब्बाविरुद्ध नेपालका नागरिक रहेको आरोप लगाएको तर उक्त अदालतमा कहिले प्रमाणित नभएको बताउँदै अबउसो बोल्नअघि सही तथ्य एकत्रित गर्ने विष्टले दुबेलाई सुझाउ दिएका छन्। साथै सांसद दुबेको यस्तो गलत र आपत्तिजनक बयानले आफूलाई पनि चोट पुगेको उनले बताएका छन्।
यसैले स्व. सुब्बाका परिवारलगायत डेढ़ करोड़ भारतीय गोर्खाहरूमाथि चोट पुग्ने यस्तो गैरजिम्मेवारीपूर्ण गलत बयानका लागि सांसद दुबेले आफ्नो बयानलाई फिर्ता लिँदै माफी माग्नुपर्ने पनि यी दार्जीलिङका सांसदले बताएका छन्।
‘उनको (दुबेको) ज्ञान र जानकारीको कमीले मेरो भावनालाई पनि चोट पुऱ्याएको छ। यसैगरी असमलगायत डेढ़ करोड़ भारतीयलाई उनको यस्तो बयानले चोट पुगेको छ’, सांसद राजु विष्टले थप भनेका छन्, ‘असम र गोर्खा समुदायका पूर्व निर्वाचित प्रतिनिधिविरुद्ध दिएको टिप्पणीलाई फिर्ता लिएर उनले एक माफीनामा जारी गर्नेछन् भन्ने मलाई आशा छ।’
यसका साथै स्व. सुब्बाकी पत्नी ज्योति सुब्बालाई फोन गरी आफ्नो पार्टीका सांसद दुबेद्वारा दिइएका गलत बयानका लागि आफ्नोपक्षबाट माफी मागेको पनि उनले जनाएका छन्। ‘दशकौंदेखि असमका मानिसहरूको प्रतिनिधि गर्ने परिवारका हुनुको नाताले उनीहरू सार्वजनिक कार्यालयको गड़बड़ी तथा केही सदस्यहरूद्वारा ज्ञानको कमीको कारण प्रदर्शित असंवेदनशीलतालाई बुझ्छन्’, विष्टले भनेका छन्, ‘म आगामी दिनमा स्व.सुब्बाकी पत्नीलाई भेट गरी उनीबाट आशीर्वाद लिनेछु।’
अर्कोतिर यसै बयानलाई लिएर आज आफूले लोकसभाका अध्यक्ष ओम बिड़लालाई भेट गरी उक्त बयानलाई संसदको रेकर्डबाट हटाउने माग गरेको तथा लोकसभा अध्यक्षले यसबारे आवश्यक कार्वाही गर्ने आश्वासन दिएको विष्टले विज्ञप्तिमा बताएका छन्।