दार्जीलिङ, 14 दिसम्बरः कङ्ग्रेसका पूर्व सांसद स्व. एमके सुब्बालाई लिएर संसदमा विवादास्पद बयान दिने झारखण्डका भाजपा सांसद निशिकान्त दुबे आफ्नो बयानमा अड़िग रहेका छन्। यद्यपि आफ्नो बयानले गोर्खा समाजलाई पुगेको आहतका लागि माफी मागेका छन्।
कङ्ग्रेसका पूर्व सांसद सुब्बामाथि दुबेले दिएको विवादास्पद बयान र यो बयानको कारण भारतीय गोर्खाहरूमा व्याप्त आक्रोशलाई लिएर वीर गोर्खा वेभ च्यानलले उनीसँग यससम्बन्धमा टेलिफोनिक कुराकानी गरी प्रतिक्रिया जान्न चाहेको थियो।
यसै कुराकानीअवधि उनले भने, “ भारतमा गोर्खा समाज ठूलो छ, जसले देशका लागि ठूलो बलिदान दिएका छन्। गोर्खा समाजाका लागि म आफ्नो खून दिन तयार छु। गोर्खा समाजका लागि म एकपटक होइन तर लाखौंपटक माफी माग्न तयार छु।’’
आफ्नो बयानमा कायम रहेको भाजपा सांसद दुबेले स्व. मणिकुमार सुब्बालाई नेपाली नागरिक ठानेर सीबीआई जाँच लगाउने कङ्ग्रेस नै रहेको आरोप पनि लगाए। दुबेका अनुसार यसैलाई लिएर उनले स्व. एमके सुब्बामाथि सदनमा बयान दिएका हुन्।
यद्यपि सदनमा दिएको बयान केवल स्व. एमके सुब्बामाथि मात्र रहेको तथा अन्य नेपालीहरूलाई अनुप्रवेशकारी नभनेको पनि यी भाजपा सांसदको दाबी छ।
“ उनलाई (स्व. एमके सुब्बालाई) सीबीआईले नेपाली नागरिक मानेकै कारण कङ्ग्रेसले पार्टीबाट निकालेको थियो। मेरो बयानलाई राम्ररी सुन्नुहोस्, मैले त कङ्ग्रेसलाई अट्याक गरिरहेको थिए। उनी कङ्ग्रेसका सांसद थिए कि थिएनन्? 2008 मा कङ्ग्रेसले उनलाई पार्टीबाट निकाल्यो। कङ्ग्रेसले उनीमाथि चार्जसीट दर्ता गऱ्यो। किनभने 2008 मा केन्द्र र राज्यमा कङ्ग्रेसकै सरकार थियो, हाम्रो होइन। त्यसबेला सीबीआई कस्तो अन्डरमा थियो? कङ्ग्रेसले 2014 मा उनलाई टिकट दिएन। पार्टीबाटै निकाल्यो।”
दुबेको दाबीका अनुसार उनले स्व एमके सुब्बामाथि कुनै बयान दिएनन्, जुन बयान दिए, त्यो कङ्ग्रेसले उनीमाथि लगाएको आरोपमै आधारित थियो।
उल्लेखनीय छ, स्व. सुब्बामाथि दुबेले दिएको बयानको कारण भारतीय गोर्खाहरू आक्रोशित बनेका थिए। उनको बयानको सांसद राजु विष्टले, गोजमुमो-दुईका अध्यक्ष-महासचिव, गोजमुमो पहिलो खेमा, क्रामाकपा, गोजमुमो दोस्रो खेमा, हिल कङ्ग्रेस, गोरामुमो र भागोप आदिले तीखो शब्दमा निन्दा गर्दै सांसद दुबेले गोर्खा समुदायसँग माफी माग्नुपर्ने माग गरेका थिए।