एनआरसी र सीएबीबारे विरोध जारी राख्ने, विनयले भने- यो लड़ाइँ हाऱ्यो भने जाति हार्नेछ

0
1046
कालेबुङमा शनिवार पत्रकारहरूलाई सम्बोधन गर्दै विनय तामाङ।

कालेबुङ, १४ दिसम्बरः पछिल्लो चार दिनदेखि नागरिकता संशोधन विधेयक (सीएबी) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) विरुद्ध धरना प्रदर्शन गरिरहेको विनयपन्थी गोजमुमोले भोलि अर्थात् आइतवार सुकनामा सभा गर्ने बताइएको छ।

शनिवार कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष विनय तामाङले यसबारे जानकारी गराएका हुन्। उनका अनुसार भोलि सुकनामा एनआरसी, सीएबी र इनरलाइन परमिट गरी तीनवटा विषयमा चर्चाका लागि सभा बसिनेछ।

सभामा पार्टीका केन्द्रिय समिति,  २३ वटा भातृसङ्गठनका केन्द्रिय समिति, ४५ वटै समष्टिका सभापति/सचिवलगायत दुईजना प्रतिनिधि, कालेबुङ जिल्ला समिति तथा दार्जीलिङ, खरसाङ र मिरिक महकुमा समितिका पदाधिकारीवर्ग गरी करिब ६०० जना उपस्थित रहने विनयको दाबी छ।

उल्लिखित तीन विषयलाई जनमानसमा पुऱ्याउन तथा आफूहरूको मागबारे केन्द्रको ध्यानाकर्षण गराउन भोलिको सभाबाट राजनीतिक कार्यक्रमहरूको घोषणा गरिने पनि उनको भनाइ छ। यसका साथै एनआरसी र सीएबीविरुद्ध अहिले गरिरहेको धरना प्रदर्शनलाई जारी राख्ने उनले बताएका छन्।

‘‘यो मुद्दालाई राजनीतिक स्वार्थले नहेर्नुहोस्। यो विनय तामाङ, अनित थापा र कालेबुङको मुद्दा भयो भनेर नसम्झिनुहोस्। यसमा राजनीतिक-गैरराजनीतिक सबै व्यक्तिहरूले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’’, विनयले थपे, ‘‘किनभने यो लड़ाइँ हाऱ्यो भने जाति हार्नेछ। जित्यो भने जातिले जित्नेछ। यो चुनाउ होइन, आज मैले जिते, भोलि अर्को जातिले जित्नेछन्। यो लड़ाइँ जातिको लड़ाइँ भएकोले हाऱ्यौं भने भावी पिँढ़ीले सराप्नेछ।’’

यसैबीच, तामाङले सीएबी असंवैधानिक रहेको र गोर्खा जातिलाई पनि यसले असर गर्ने भएकोले आफ्नो पार्टीले विरोध गरिरहेको बताए। ‘‘हामीले सीएबीबाट दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी र अलिपुरद्वारमा अलग राख्नुपर्छ, यहाँ शरणार्थी राख्न पाइँदैन भन्ने माग गरिरहेका छौं। किनभने यी जिल्लाहरूमा शरणार्थी राखिएको खण्डमा हाम्रो जनसाङ्ख्यिकीय परिवर्तन हुनेछ’’, उनले थपे, ‘‘सीएबीबाट हाम्रो क्षेत्रलाई अलग राखे, हाम्रो विरोध रहनेछैन। त्यसैगरी एनआरसी लागू गर्नअघि नै गोर्खाहरूलाई मूलनिवासीको दर्जा दिएर संरक्षित सूचीमा राख्नुपर्छ। साथै दार्जीलिङ-कालेबुङ जिल्लामा इनरलाइन परमिट पुनः शुरु गरिनुपर्छ।’’

सीएबीको प्रावधानमा बङ्ग्लादेश, पाकिस्तान र अफगानिस्तानबाट आएका शरणार्थीहरूलाई हेर्नुहोस्, उनीहरूलाई एक नम्बरको नागरिकता दिइँदैछ, त्यसो भए हामी दुई नम्बरको नागरिकमा जाँदैछौं, यो ठूलो खतरा हो’’, मोर्चा दोस्रो खेमाका अध्यक्षले भने।  

उनले अहिले भइरहेको धरना प्रदर्शन आगत दिनमा थप उग्र हुने चेताउनी पनि दिएका छन्। उनका अनुसार विरोध प्रदर्शन गणतान्त्रिक ढङ्गमा उग्र हुनेछ, तर हिंसात्मक हुनेछैन।

अर्कोतिर, संविधानको धारा २४३ एम (३) –ले गोर्खाहरूका लागि सुरक्षा कवच रहेको र यसले नै भारतीय गोर्खाहरूलाई बचाउँछ भन्ने गोरामुमोको तर्कलाई सोझै खण्डन गर्दै उनले भने, ‘‘धारा २४३ एम (३) निरस्त भएको धेरै भइसक्यो।’’

यसै प्रसङ्गमा उनले गोरामुमोका पूर्व प्रवक्ता एवं वर्तमानमा दार्जीलिङका भाजपा विधायक नीरज जिम्बामाथि कटाक्ष गरे।

“दार्जीलिङमा त्यति ठूला संविधान विशेषज्ञ छन् भन्ने मलाई थाहै छैन। मैले त बाहिर हैदराबाद बोलाइरहेको छु”, उनले थपे, “त्यस्तो थाह पाएको भने म नीरज भाइलाई बोलाउनु थिए, त्यति बेला पैसा पनि लाग्नेथिएन। उनले त भारतको मात्र होइन, ५०-५१ वटा देशको संविधान खाएको रहेछ।”

उल्लेखनीय छ, पछिल्लो ११ दिसम्बरको दिन दार्जीलिङ प्रेसगिल्डमा पत्रकारहरूलाई सीएबी मुद्दाबारे सम्बेधन गर्ने क्रममा भाजपा विधायक नीरज जिम्बाले आफूले करिब ५० वटा देशको संविधानको अध्ययन गरेको दाबी गर्दै विनय तामाङले सीएबीलाई लिएर गरिरहेको विरोधमाथि कटाक्ष गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here