ढुङ्गामूढ़ाले घाइते भएका वाहनका चालक। |
सिलगढ़ी, 28 अक्टोबर : तोकेभन्दा कम्ती चन्दा दिँदा बदमाशहरूले आइतवार अपरान्ह सिलगढ़ीमा सिक्किमको वाहनमाथि ढुङ्गामूढ़ा गर्नका साथै चालक तथा केही यात्रुलाई घाइते भएको घटना प्रकाशमा आएको छ।
यो घटना प्रधान नगर थानाअन्तर्गत पर्ने चम्पासरीमा भएको हो। जानकारीअनुसार सिक्किमको एसके 0१ जे 0१७८ नम्बरको यात्रुवाहक वाहन काली पूजाको चन्दा उठाउन बसेका बदमाशहरूले तोड़फोड़ गरेका हुन्। ती बदमाशहरूले गरेको ढुङ्गामूढ़ाले चालक र यात्रुहरूलाई चोट लागेको छ।
आफ्नो नाम बताउन नचाहने एक प्रत्यक्षदर्शीका अनुसार, काली पूजाको चन्दा उठाउनका लागि केही मानिस आज सिलगढ़ीको सर्किट हाउस नजिक भेला भएका थिए। यात्रुहरू लिएर सिलगढ़ीबाट गान्तोक गइरहेको उक्त गाड़ी उनीहरूले रोके। केही मानिसले गाड़ी चालकलाई 500 रुपियाँ चन्दा मागे, तर चालकले 100 रुपियाँ मात्र दिनसक्ने बताए। केही मानिसले अचानक गाड़ीका चालकलाई गाली गर्नथाले। चालकले गाड़ी कुदाएर भगाउन खोजे। त्यसैबेला आक्रोशित मानिसहरूले ढुङ्गामूढ़ा गर्नथाले। चालकको टाउकोमा ढुङ्गाले लाग्दा उनी गम्भीर घाइते भए। अन्य केही चालकलाई पनि ढुङ्गाले लागेको छ। गाड़ीका केही सीसाहरू पनि फुटेका छन्।
स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई जानकारी दिए। प्रधाननगर पुलिस घटनास्थलमा पुग्यो र चालक तथा यात्रुहरूको उद्धार गर्यो। प्रधान नगरका आईसी पङ्कज थापाका अनुसार यो घटना भएकै हो। हामीले लिखित उजुरी दर्ता गर्न भन्यौं, तर अहिलेसम्म एउटा पनि उजुरी पुलिसले प्राप्त गरेको छैन।