कुरो त्यो समयको हो, जब म माध्यमिक प्रथम श्रेणीमा उत्तीर्ण गर्दा छुट्टीमा आएका मेरा आप्पाले गाउँभरि मिठाइ बाढ़ेका थिए र गर्वसाथ भनेका थिए –‘स्याबास मेरी छोरी।’ हेडमास्टर अम्बर विष्टले ‘छोरीको मार्कस् राम्रो छ, त्यसलाई साइन्स पढ़ाउनु’ भनेपछि आप्पाले मलाई त साइन्स पढ़्नु, पढ़े सरकारी जागिर खाने हुनु भनेका थिए। म त्यही सपनाहरूलाई आकार दिन गाउँलाई छोड़ेर नयाँ स्कूलमा भर्ना भए।
अहो! कति मज्जा लाग्ने दिनहरू, खुशी हुने कारणहरू,मज्जा लाग्नुका कारणहरू नयाँ विद्यालय, नयाँ नयाँ शिक्षक-शिक्षिकाहरू, नयाँ-नयाँ साथीहरू नयाँ वातवरण! अझ भनौँ भने कुखुरे बैंसले छोएका राम्रे-राम्री केटा-केटीहरूका लागि प्रेम प्रस्ताव आउने एक प्रकारको चाड़।
मलाई पनि रङ्ग न ढङ्गको मुटुको अर्थात् पाना आकारको नक्शासहितको प्रेम-पत्र निकै आउनेगर्थ्यो। मलाई ती सब कुरामा चासो नभए तापनि ती प्रेम-पत्र पठाउने प्रेमकुमारहरूकै सामु पत्र च्यात्न भने धेरै मज्जा लाग्नेगर्थ्यो।
एकदिन पत्र च्यात्ने क्रममा एउटा काले केटाले रिससरिको अनुहार साथै स्वरमा भनेको थियो ‘ओइ फुर्की तेरो अनुहारको घमण्ड नगर ल, तेरो अन्वार नि चौरिन्छ ल।’ त्यससमय मलाई त्यो काले केटाको गाली पनि मिठो लागेको थियो र मनमनै आफूलाई सोधेकी थिए ‘ के म यत्ति राम्री छु र?’
स्कूलमा जति नै रमाइलो गरे पनि घरको यादले म दुःखी हुने गर्थें। म त्यस समय मेरो आप्पाको टाढ़ाको आफन्तको घरमा पेइङगेस्टको रूपमा बसेर अध्ययन गरिरहेकी थिएँ। मलाई घरदेखि छुटिनुको पीड़ा त थियो नै तर त्योभन्दा कैयौं गुणा डर त्यो च्याङ्बाको थियो। हो, त्यो लाटा च्याङ्बाको। शारीरिक रूपले कमजोर, एउटा खुट्टा लामो र एउटा खुट्टा छोटो भएर खोच्याउँदै हिँड्ने त्यो लाटा च्याङबा। उमेर त्यस्तै पैंतीस चालीसको हुनुपर्छ,अस्पष्ट बोली अर्थात् मुख राम्रोसित नलाग्ने,त्यसकारण सबैले उसलाई लाटा च्याङ्बा भन्ने गर्थे।
च्याङबा कहिलेकाही आन्टी अर्थात् म बस्ने घरमा आउने गर्थ्यो। उसको अस्पष्ट आवाजले आन्टीलाई ‘हागी’ (आङी) भनेर सम्बोधन गर्नेगर्थ्यो। उसले मलाई प्रथमचोटि देख्दा आन्टीलाई सोधेको थियो- ‘हागी हु हो हो? (आङी ऊ को हो?)’
उसलाई देखेर मलाई यहाँ आउनअघि आमाले मेरा सामान मिलाउँदै भनेका कुरा दिमागमा नाच्न थाल्यो- ‘त्याँ सबसँग बोल्नु होइन नि, मान्छेदेखि जोगिनु, आजकल मान्छे अनुहारले मात्र मान्छे देखिन्छ तर डरलाग्दा हुन्छन् तिनीहरू,तिनका विचार!’आमाले भनेका कुरा सबै दिमागमा नअँटे पनि एउटा कुरा दिमागमा त्यही समय खिलें- ‘मान्छे डरलाग्दा हुन्छन्, डरलाग्दा भनेको लाटा च्याङबा हो!’
किन हो किन मलाई उसको हेराइ सामान्य लागेको थिएनँ त्यससमय। उसको हेराइमा एक पिपासु आत्मा सल्बलाएजस्तो लाग्यो मलाई । खोच्याउने खुट्टा देखेर उप्रति दया उब्जनुका सट्टा, राल चुहिएर भिजेको उसको मुख देख्दा घिन र एक प्रकारको डर पलाएर आएको थियो। आन्टीले च्याङ्बातिर हेर्दै मुस्कुराउँदै भनेकी थिई- ‘ऊ मेरी छोरी हो, त्यसो भए तेरो बैनी बुझिस्।’
त्यो दिनदेखि च्याङ्बा सधैँ आन्टीको घरमा आउन थालेको जस्तो मलाई लाग्न थाल्यो। कहिले हातमा साग बोकेर त कहिले मिठाई, त कहिले फूलको बिरुवा काखीमा च्यापेर। आन्टी फूल भनेपछि हुरूकै हुने, फूलको बिरुवा थाप्दै मलाई अह्राउने गर्थी- ‘लु त नानी, च्याङबालाई चिनीको मिठो चिया बनाइदेऊ, मलाई पनि देऊ अनि तिमी नि खाऊ।’
म डर र घृणामिश्रित मुहार लिएर उसलाई चिया बिस्कुट दिनेगर्थें र दुई हात जोड्थें। उसले पनि राल चुहिएको सिमसार मुखले ‘हि..हि..हि..!’ नमस्कारको प्रत्युत्तरसहित आफ्नो दश औँला जोड्ने गर्थो अनि चिया बिस्कुट खानेगर्थ्यो।
स्कूलमा जब म आफ्नो साथीलाई च्याङ्बा घरमा आएको कुरा गर्थें, उसको शारीरिक अवस्थाको वर्णन गर्थे, साथीहरू मलाई त्यस्तो लाटादेखि टाढ़ो बस्ने सल्लाह दिन्थे। भन्ने गर्थे त्यस्ता लाटाहरूको विचार ठीक हुँदैन अरे।
एकजना साथीले त भनी पनि हाली-‘तँ त साह्रै लाटी छस्, मिठाइमा के के हालेर देला नि! नखाइ त्याँ। मलाई त मम्मीले यस्तो मान्छेदेखि जोगिनु भनेको छ अब्बुई!’ यस्तै कुराहरू त झन् मेरा लागि च्याङ्बालई मन नपराउने थप कारणहरू भइदिएको थियो।
एकदिनको कुरा हो, आन्टी माथि घरको छतमा फूलमा पानी हालिरहेकी थिई। म भने बरण्डामा बसेर पाठ घोक्दै थिए। अचानक च्याङ्बा मेरो सामु देखापर्यो। उसले यताउता चारैतिर हेर्यो अनि फूलको गुच्छा मतिर बढ़ाउँदै भन्यो- ‘हिमलाई हन फछ(तिमीलाई मन पर्छ)।’
उसलाई देख्नसाथ मलाई हुनसम्मको डर लागेर आयो। उसलाई मैले ‘आन्टी! आन्टी!!’ भन्दै चिच्याउँदै धकेलेर पछारिदिएँ। उ पछारिँदा उसको हातबाट फूल साथै ४-५ वटा छुर्पी पनि बटट झर्यो। माथिबाट आन्टी ‘के भयो, के भयो?’ भन्दै अत्तालिँदै तलतिर ओर्लिइन्।
‘च्याङ्बाले … च्याङ्बाले!’ भन्दै म आन्टीलाई पक्रेर रोएँ।
त्यस समय च्याङ्बा खम्बाको भरमा उठिसकेको रहेछ। च्याङ्बा डराएर दुई हात जोड्दै-‘हन हागी हन!(हैन आङी हैन!)’ भन्दै आन्टीलाई के भन्न खोज्दै थियो।
आन्टी भने रिसको झोंकमा औंला ठड्याउँदै च्याङ्बालाई भन्दै थियो- ‘तँ साला कुक्कुर गइहाल् याँबाट। तेरो छोरी जस्तो पो त, पर्खी तेरो आमालाई भनिन भने के र!’
त्यस दिनदेखि च्याङ्बा आन्टीको घरमा आउन छोड्यो। मेरो मनको डर बीसको उन्नाइस हुँदै थियो।
‘ओ सुन्यौ,त्यो च्याङबाले त छेसम्को पैसा सब चोरेछ! त्यसको आमा आँगनमा बसेर फत्फतीराको’थ्यो!’ कला आन्टीले चिया पिउँदै भनी। ‘अम्म..म..म..म.., त्यो त केम् होइन, अस्ति त झन् त्यो पुरानो स्कूलको माथ्लोपटि घोप्टेर,हरेछया…..! भन्नु नि लाजै मर्दो, डिकीहरूले देखेको हरे!’आन्टीले यति भनेर थुक्न बाहिर गई।
त्यो घटना भएको लगभग डेढ़ हप्तापछि म स्कूलबाट घर फर्किंदै थिएँ। प्रायः मेरा साथीहरू पनि अगाड़ि नै कुदिसकेका थिए। बाटो छेउमा अलिक सुनसान जङ्गलजस्तो रूखैरूख भएको ठाउँबाट अचानक च्याङबा फुत्त निस्केर म भएतिर खुट्टा खोच्याउँदै अघि बढ़्न थाल्यो। उसको हातमा भएको त्यो लुगाको सानो गुडिया पनि ऊ खोच्याउँदै आउँदा लिरिक् लिरिक् हल्लिँदै थियो।
‘हुन न (सुन न) ह हिमलाई हाया हर्हु हा (म तिमीलाई माया गर्छु तर)’ त्यस्तो भन्दै मात्र के थियो म जोड़ले चिच्याउँदै रोएँ –‘बचाऊ! हूँ..हूँ..हूँ… बचाऊ!’
च्याङ्बा झन् म भएतिर खोच्याउने खुट्टा बढाउँदै- ‘हुन, हुन, हुन अ(होइन होइन सुन त)’ भन्दै थियो।
म कति जोड़ले कहालिएछु कुन्नि एकै क्षणमा मान्छेहरू जम्मा हुँदै गए। एकजना अङ्कलले त –‘के गरिस् हँ नानीलाई भन् त के गरिस्!’ भनेर दुई थप्पड दिइहाल्यो। यसै बीचमा आन्टी कुदेर भीड़ पन्छ्याउँदै आएर मलाई- ‘के गऱ्यो फेरि यसले?’ भन्दै अङ्गालो हाली।
मैले भने- ‘च्याङ्बाले मलाई पक्रिन खोज्यो!’ भन्दै रूँदै आन्टीलाई च्याप्प पक्रिएँ।
एक दुईजना आन्टी कराउनथाले- ‘यस्तोलाई थानामा हाल्नुपर्छ, लाटा भनेर केई नभन्दा त, छि… छि…!’
त्यति बेलै भीड़बाट आवाज आयो- ‘यस्तोले गाउँ सखाप पार्छ त!’च्याङ्बा भने डरले कामिरहेको थियो। सर्टको टाक एक-दुई जगह चुटिएर, लात, घुस्सी भेटेर तर्सेको मृगजस्तो भएको च्याङ्बा हात जोड़ेर रोइरहेको थियो।
यसैबीच एकजना बूढ़ी चिच्याउँदै भीड़भित्र पसी। ती बूढ़ी बज्यू च्याङ्बाकी आमा रहेछ। ‘यत्ति खोजेको थिस् !’ भन्दै रूँदै उनले पनि च्याङ्बालाई पिट्न थाले। उनीसँगै च्याङ्बा पनि –‘हावा हावा’(आमा आमा) भन्दै रोयो। बूढ़ी बज्यूले म अनि आन्टीतर्फ हात जोड्दै रूँदै भनी –‘चाङ एकपल्टलाई माफ गरिदेऊ यसलाई। अबदेखि पनि यसले यस्तो गर्यो भने म नै यसलाई मारिदिन्छु। चाङ एकपल्टलाई माफदेऊ..।’
त्यसपछि भीड़ हट्न थाल्यो। हामी पनि घर आयौँ।
त्यस रात मैले च्याङ्बालाई आफ्नो दिमागमा नचाउनसम्म नचाएँ। सम्झें उसको त्यो आफूलाई निर्दोष साबित गर्न असमर्थ बनेको बोली,उसको च्यातिएका लुगा, ह्वार्लाङ हुर्लुङ भएको उसको स्वाभिमान,सम्झें त्यो हल्लिरहेको गुडिया। ‘के गर्यो र च्याङबाले?उसको गल्ती के थियो ?’फेरि आमाले भनेका कुरा याद आयो ‘मान्छेहरू डरलाग्दा हुन्छन्,डरलाग्दा हुन्छन् उनीहरूका विचार।’यसरी के के सोच्दा-सोच्दै म निदाई पठाएछु।
भोलि स्कूलमा यो कुरा चर्चाको विषय बन्यो। अङ्ग्रेजीमा भन्नपर्दा म फेमस् भएछु। शिक्षकहरू आउँदैपछि ‘के भयो हरे हिजो?’जस्ता प्रश्न, साथीहरूका ‘अबुई!धन्न केही गरेन!’जस्ता वाक्यहरू। म भने शब्दहीन स्तब्ध।
‘सुनन चाङ् एकपल्ट त सुन।’यो आवाजले म झस्के। बाहिर च्याङबाकी आमा,ती बूढ़ी बज्यू रहेछिन्।
आन्टी भन्दै थिई- ‘हेर्नुहोस आमा, ऊ अहिले अलि ठीक भएको छ, फेरि हल्ला सुन्यो भने डराउला। फेरि अब उसको घरकोले यहाँ नराख्ने पनि हरे। यो कुरा छोडिदिनु आमा, जानु तपाईं।’
‘सुनन चाङ एकपटक मेरो कुरा!’बज्यू भन्दै थिई।
‘हुन त मेरो छोरा लाटा छ बोल्न सक्तैन, तर त्यसको पनि मन छ, इच्छाहरू छ।’म त्यस समय उनीहरूले नदेख्ने गरी बात सुन्न थालें।
बज्यू रूँदै भन्न थाली –‘तिमीले त्यो नानीलाई तेरो बहिनी भन्थ्यो हरे नि चाङ। त्यसले पनि बहिनी सोचेर मिठाई दिएको रहेछ। अनि त्यस दिन बहिनीलाई भनेर फूलको गुच्छा लगिदिँदा नानी डराएछ। त्यहीमाथि तिमीले पनि कुरा नबुझी खेदेछौ।’
आन्टी त केही भन्नै नसक्ने अवस्थामा थिई। फेरि बज्यूले आँसु पुछ्दै भनी- ‘अस्ति पनि च्याङ्बाले यो नानीलाई त्यही सम्झाउनु पर्खेको रहेछ। तिमीलाई म बहिनीलाई जस्तै माया गर्छु तर नराम्रो न सोच भन्न नपाई नानी डरले कराएछ।’
‘आमा, मैले पनि बिहा गरेको भा, मेरो छोरी ऊ जत्रै हुन्थ्यो होला है?’भन्दै च्याङ्बा रोएको कुरा गर्दै बज्यू पनि रून थालिन्। अरू के के भन्दै रूदै थिई, म आँसुसरिको आँखा बोकेर सरासर कोठामा आएँ र ठूलो ऐनामा आफूलाई हेरेँ। यस्तो लाग्यो लङ्गडो च्याङबा होइन लङ्गडो त मेरो विचार रहेछ। आफूलाई शिरदेखि पुच्छरसम्म हेरें र सोचे –‘अपाङ्ग शरीरले हुन्छ कि विचारले हँ?उसो भए अपाङ्ग म रहेछु कि लाटा च्याङबा?’