दार्जीलिङ, 15 दिसम्बर: राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) र अहिले कानून बनिसकेको नागरिकता संशोधन विधेयक (सीएबी) विरुद्ध आइतवार दार्जीलिङमा विभिन्न जातगत विकास बोर्डद्वारा गठित समन्वयक समितिको अगुवाईमा एक ऱ्याली निकालियो।
स्थानीय रेलवे परिसरदेखि निकालिइएको उक्त ऱ्याली चौरस्तामा पुगेर समापन भएको थियो। ऱ्यालीमा सहभागी विभिन्न जातगोष्ठीका सदस्यहरूले हात हातमा एनआरसी र सीएबी चाहिँदैन भन्ने प्ला-कार्डहरू बोकेका थिए।
ऱ्यालीमा मायाल ल्याङ लेप्चा विकास बोर्डका अध्यक्ष एलएस तामसाङ पनि सहभागी बनेका थिए। यसअवसरमा पत्रकारहरूसँग कुराकारी गर्दै तामसाङले भने, “पहाड़मा एनआरसी लागू गरेर किन यहाँका जनतालाई दुःख दिने कार्य गर्नु?” पहाड़मा एनआरसी र सीएबी लागू गराएर अशान्ति बनाउन खोजिएको विरोधमा नै आज दार्जीलिङमा ऱ्याली निकालिएको पनि बताए।
“दार्जीलिङ पहाड़का जनता सुख-शान्तिमा छन्, यहाँ अशान्ति ल्याउने कार्य गर्नु उचित होइन’’, उनले थपे, “हामी सबै युगौंदेखि मिलेर बसेका छौं। यसैले हामी न एनआरसी मान्छौं, न सीएबी नै।’’
उनले यसोभन्दा ऱ्यालीमा सहभागी अन्यले पनि जोड़दार आवाजमा एनआरसी-सीएबी मान्दैनौं भन्ने नारा लगाएका थिए।
“नागरिकता संशोधन विधेयक लोकसभा र राज्यसभामा पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरी कानून बनिसकेको छ, तरै पनि हामीले यसको विरोध गरिरहेका छौं। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले राज्यमा क्याब र एनआरसी लागू हुन नदिने घोषणा गरिसकेकी छन्, जसलाई समर्थन जनाउनको लागि पनि आज यो ऱ्यालीको आयोजना गरिएको हो’’, मायाल ल्याङ लेप्चा विकास बोर्डका अध्यक्षले थपे, “राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ पहाड़ साथै राज्यवासी जनतालाई सोचेर जुन कदम उठाइरहेकी छन्, त्यसलाई हामी सम्पूर्ण पहाड़वासी जनताले स्वागत जनाउनुपर्छ। उनको यसै कदमलाई साथ दिनका लागि दार्जीलिङ पहाड़का 14 वटा जातले आज यो कार्यक्रमको आयोजन गरेका हुन्।’’
आजको विरोधमा ऱ्याली निकाल्ने जातगोष्ठीहरूमा क्रमैले लेप्चा, भोटिया, शेर्पा, मंगर, लिम्बु, खम्बु राई, तामाङ, खस साथै अन्य थिए, जसलाई राज्य सरकारको तर्फबाट अघिबाटै विकास बोर्ड प्राप्त भइसकेको छ।
उल्लेखनीय छ, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भर्खरै एक बयान जारी गरी पश्चिम बङ्गाल राज्यमा एनआरसी र सीएबी लागू हुन नदिने घोषणा गरेकी छन्। जसलाई दार्जीलिङ पहाड़का विभिन्न जातगत विकास बोर्डले स्वागत जनाउँदै आज यहाँ ऱ्यालीको आयोजन बताइएको छ।