एनआरसी र सीएएले गोर्खालाई असर नपार्ने केन्द्रबाट वचन प्राप्त भएको छ: विमल

1
1799
विमल गुरुङ (फाइल फोटो)

दार्जीलिङ, १९ दिसम्बरः नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जीले गोर्खा समुदायलाई असर नपार्ने केन्द्रले दिएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमा प्रमुख विमल गुरुङको दाबी छ।

बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले यस्तो दाबी गरेका हुन्।

“भारतीय गोर्खाहरूको हित सोचेर नै अहिले हामी दिल्लीमा दिनहुँ केन्द्र सरकारका मन्त्रीहरूलाई भेटघाट गरी आफ्ना कुरा/अड़ानहरू पेश गरिरहेका छौं। केन्द्र सरकारको पक्षबाट भारतीय गोर्खा समुदायलाई यी कानूनहरूले कुनै असर नपार्ने स्पष्ट वचन प्राप्त भएको छ”, विमलले थप दाबी गरेका छन्, “यसर्थ दार्जीलिङ पहाड़, तराई-डुवर्सवासी एवं भारतभरि छरिएर बसेका गोर्खाहरूलाई म आश्वस्त पार्न चाहन्छु, जबसम्म गोर्खा जनमुक्ति मोर्चा जिउँदो छ, तरबसम्म कुनै पनि भारतीय गोर्खा नागरिकलाई अन्याय हुनेछैन। भारतीय गोर्खाहरूका हक र हितमा गोर्खा जनमुक्ति मोर्चा अन्तिम बिन्दुसम्म घुँड़ा धसेर लागिपर्नेछ।”

यसका साथै  वर्तमान केन्द्र सरकार  दार्जीलिङ पहाड़ तराई डुवर्सवासीको दीर्घकालीन मुद्दाप्रति सकारात्मक रहेको पनि गुरुङले थप दाबी गरेका छन्। अर्कोतिर उनले एनआरसी र सीएएको विरोधमा देशका अन्य ठाउँ र बङ्गालका विभिन्न स्थानमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनमाथि चिन्ता व्यक्त गरेका छन्।

“यसबेला आ-आफ्नो क्षेत्रलाई हिंसात्मक गतिविधिहरूदेखि सुरक्षित  र अलग राखेर केन्द्र सरकारलाई राम्रो सन्देश दिनु हामी भारतीय गोर्खाहरूको कर्तव्य ठहर्दछ”, उनले भनेका छन्।

यसैबीच उनले कसैको भनाइमा हिंसात्मक गतिविधिहरूमा संलग्न नहुने युवाहरूलाई अपील गरेका छन्।

“ती तमाम युवाहरूका भविष्य सोचेर नै अहिले हामी दुःख पीर मर्का झेलेर पनि  आफ्नो मूल मुद्दा बचाइराख्ने कोशिशमा छौं। गोर्खा जनमुक्ति मोर्चा गान्धीवादी सिद्धान्तद्वारा नै लक्ष्य हालिस गर्ने कुरामा विश्वस्त छ”, विमल गुरुङले विज्ञप्तिमा थप भनेका छन्, “म सबैलाई आश्वस्त गराउन चाहन्छु, गोर्खा जनमुक्ति मोर्चा जिउँदो रहुञ्जेल भारतीय गोर्खाहरूलाई कसैले अन्याय गर्न पाउनेछैन।”

अर्कोतिर उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सलाई हिंसात्मक गतिविधिहरूदेखि टाढ़ा राख्ने आह्वान पनि गरेका छन्।

यसका साथै दार्जीलिङ पहाड़, तराई-डुवर्सवासीलगायत भारतभरि छरिएर बसेका गोर्खाहरूका मनमा एनआरसी र सीएएको सन्दर्भमा उब्जिएका शङ्का-उपशङ्का र भयदेखि आफू अवगत रहेको पनि गुरुङको भनाइ छ।

1 टिप्पणी

  1. विमल जीको हस्ताक्षर सहितको विज्ञप्ति स्क्यान गरेर JanaSambaad.com लाई प्रकाशित गर्ने अनुरोध गर्दछु। र विमलजी ले भाजपाको भजन गाउँनु भन्दा यदि अध्यक्ष गुरुङ्ग RSS. BJP को आन्तरिक स्तरमा मानसिक र भौतिक रुपमा कैद हुनु हुन्न भने MP Bist जीलाई संसदमा अलग राज्य गोर्खालैण्डको विधेयक ल्याउँनु भन्नु ऐतिहासिक र महान काम हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here