सिलगढ़ी, १९ दिसम्बरः बाक्लो कुइरोको कारण बिहीवार बाघडुग्रा हवाइअड्डामा देशका विभिन्न शहरबाट अवतरण गर्ने ८ मर्निङ फ्लाइट प्रभावित बने।
आज बिहानदेखि नै बाक्लो कुइरोले बाघडुग्रा हवाइअड्डाको रनवेलाई टम्म ढाकेको छ। कुइरोकै कारण नजिकका केही पनि नदेखिने भएको थियो।
जानकारीका अनुसार कोलकाता, चेन्नई, बेङ्ग्लुरु, दिल्ली गोवा, गुवाहाटी र मुम्बईबाट बाघडुग्रा हवाइअड्डासम्म उड़्ने विमानहरू निर्धारित समयभन्दा तीन-चार घण्टा पछि आइपुगेका थिए।
कोलकाताबाट पहिलो फ्लाइट बिहान ७:२० बजे बाघडुग्रा आइपुग्ने थियो। तर, कुइरोकै कारण यो यो फ्लाइट करिब चार घण्टापछि ११:१२ बजे आइपुग्यो। यसैगरी अन्य विमानहरू पनि अबेर गरी आइपुगेकोले यात्रुहरूले धेरै समस्या बेहोरे।
मुम्बईबाट आज बिहान १०:३० बजे बाघडुग्रा हवाइअड्डा आइपुग्ने विमान पनि कुइरोकै कारण एक घण्टाभन्दा बढ़ी समय अबेर गरी ११:३८ बजे अवतरण गरेको थियो। यसैबीच, बाघडुग्रा हवाइअड्डाका निर्देशक पी. सुब्रमणिले बताएअनुसार बाक्लो कुइरोको कारण विमानहरूको उड़ानमा विलम्ब भयो।
उनका अनुसार यात्रुहरूमा पर्न जाने असुविधालाई ध्यानलाई राखेर विमानहरूको उड़ानमा विलम्बबारे सबै यात्रुलाई सन्देश र मेलमार्फत् सूचित गरिएको थियो।
यसैबीच, हिउँदोका लागि विमानहरूको उड़ानको नयाँ सारणी जारी गरिएको छ। बाघडुग्रा हवाइअड्डाका निर्देशकद्वारा जारी परिपत्र (सर्कुल)-का अनुसार चार अन्तर्राष्ट्रिय र ३५ घरेलु उड़ानका लागि नयाँ सारणी जारी गरिएको हो, जुन २८ मार्च २०२० सम्म प्रभावी रहनेछ।