सिलगढ़ी, 19 दिसम्बरः हरियाणाको गुरुग्राममा सिलगढ़ीकी एक एयरहोस्टेसको रहस्यमय मृत्युको घटना प्रकाशमा आएको छ। मृतक एयरहोस्टेजको नाम शर्मिष्ठा सरकार (23) बताइएको छ।
उनी सिलगढ़ीस्थित उत्तर भरत नगरनिवासी हुन्।
जानकारीका अनुसार उनी पछिल्ला केही महिनादेखि गुरुग्रामको डीएलएफ फेज-3 मा पेइङगेस्टमा बस्दै आएकी थिइन्, जहाँ उनलाई कोठाभित्र झुण्डिरहेको अवस्थामा भेटाइएको बताइएको छ।
जानकारीका अनुसार मङ्गलवार बिहान घण्टौंसम्म शर्मिष्ठा कोठाबाट बाहिर ननिस्केको दैलो तोड़ेर हेर्दा सिलगढ़ीनिवासी शर्मिष्ठा झुण्डिरहेको अवस्थामा पाइएको बताइएको छ। सिलगढ़ीमा प्रशिक्षण पूरा गरेपछि उनी एक प्रमुख निजी एयरलाइन्समा क्रू मेम्बरको रूपमा कार्यरत् थिइन्।
पारिवारिक सूत्रका अनुसार शर्मिष्ठा पछिल्ला 6 महिनादेखि गुरुग्राममा बस्दै आएकी थिइन्। मृतकका पिता मिण्टु सरकारको आरोपका अनुसार उनकी छोरीको मृत्यु अत्याचार र उत्पीड़नको कारण भएको हो। यसका साथै स्थानीय थानामा उनले यससम्बन्धमा लिखित उजुरीसमेत गरेका छन्।
“मेरी छोरीको मृत्यु पेइङगेस्टका मालिकको दुर्व्यवहारले नै भएको हो”, उनले भने।
मिण्टु सरकार नेपालमा काम गर्छन्। सरकारका अनुसार छोरीको मृत्युको खबर उनले मङ्गलवार बिहान 2 बजे फोनमार्फत् पाएका हुन्।
शर्मिष्ठा जसकोमा पेइङगेस्ट बस्थिन्, ती मालिकलाई दोष्याउँदै उनले भने, “पीजी मालिकले हाम्री छोरीलाई लगातार सताउने गर्थे। त्यस रात पनि कोठा आइपुगेकी शर्मिष्ठालाई पीजी मालिकले अपमान गरेका थिए। त्यसबेला रुँदै छोरीले मसँग कुरा गरेकी थिइन्। कुराकानीमा उनले पीजी मालिकले आफ्नो फोन ह्याक गरेको र कहीं कतै जाने अनुमति नदिएको बताइरहेकी थिइन्।”
उनले थप भने, “केही समयपछि पीजी मालिकले मलाई फोन गरी शर्मिष्ठाले केही गरेको बताए। जब मैले मेरी छोरीलाई के भयो भनी सोधे, ती पीजी मालिकले कुनै उत्तर दिएनन्। त्यसपछि मैले गुरुग्राम पुलिससँग सम्पर्क गरी घटनाबारे छानबिन गरिदिने आग्रह गरे।
मिण्टु सरकारले थप बताएअनुसार मामिलालाई पुलिसले दखल दिएपछि बुधवार शवको पोस्टमर्टम गरियो। उनीलगायत पीड़ित परिवारले शर्मिष्ठाको मृत्युको उचित जाँच गरी न्याय दिनुपर्ने माग गरेका छन्।
यसैबीच, पीड़ित परिवारको उजुरीपछि पुलिसले आईपीसीको धारा 306 (आत्महत्याका लागि उक्साउनु) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसबारे थाहा पाएपछि घटनास्थलमा पुगेको पुलिसलाई कुनै सुसाइड नोट बरामद भएन। पुसिल त्यहाँ पुग्दा सिलिङ फ्यानमा झुण्डिरहेको अवस्था शर्मिष्ठाको शव बरामद भएको थियो।
जानकारीका अनुसार पुलिसले मामिलाबारे जाँच शुरु गरेको छ। जानकारीका अनुसार फोरेन्सिक टीम घटनास्थलमा पुगेर आवश्यक साक्ष्य जुटाएको छ।