दार्जीलिङ, 20 दिसम्बरः विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले पूर्वघोषित कार्यक्रमअन्तर्गत् शुक्रवार दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकमा नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोधमा ऱ्याली र जनसभा गऱ्यो। आजको ऱ्यालीमा बाक्लो सङ्ख्यामा मानिसहरू सहभागी बनेका थिए।
यसैले पनि ऱ्यालीमा सहभागी मानिसहरूको सङ्ख्या देखेरै विनय तामाङले जनताले सत्य कुरा बुझ्न थालेको स्पष्ट भइसकेको दाबी गरेका छन्। ऱ्यालीमा सहभागी मानिसहरूले एनआरसी, सीएएसँगै भारतीय जनता पार्टीविरुद्ध चर्को नारा लगाएका थिए।
यसैबीच, विनयले देशमा एनआरसी र सीएए लागू गर्नअघि नै भारतीय गोर्खालाई मूलनिवासी (अरिजिनल इन्ह्याबिटेन्टको दर्जा दिनुपर्ने, दार्जीलिङ पहाड़मा पुनः इनरलाइन परमिट लागू गर्नुपर्ने अनि दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लामा सीएएको कारण भारतीय नागरिक बनेका शरणार्थीहरूलाई राख्न नदिने मागका लागि नै आज दार्जीलिङ पहाड़भरि जुलूस र जनसभाको आयोजन गरिएको बताए।
“नागरिकता संशोधन विधेयक लोकसभा र राज्यसभामा पारित भएपछि यो एउटा कानून अर्थात् नागरिकता कानून बनिसकेको छ। यसरी नै एनआरसी कुनै पनि समय यो सरकारले लागू गर्नसक्ने सम्भावना छ। यसैले असममा एनआरसीको लागि जुन प्रक्रिया लागू गरियो, त्यसको कारण अझै पनि करिब 19 लाख जनतालाई डि-भोटर बनाएर डिटेन्सन क्याम्पमा राखिएको छ। जसमा 1 लाख जति गोर्खा पनि सामेल छन्”, तामाङले भने, “यसैले यी 19 लाख जनताको जस्तै अन्य स्थानका गोर्खाको पनि अवस्था नबनोस् भनेर नै हामीले सीएए र एनआरसीको विरोध गरेका हौं। यसैकारण नै हामीले सन् 1990-सम्म जारी रहेको इनरलाइन परमिट पुनः यहाँ लागू गरियोस् भन्ने चाहेका हौं। किनभने, सरकारले इनरलाइन परमिट लागू भएको स्थानमा सीएए लागू नगर्ने भएको छ।”
एक प्रश्नको उत्तरमा उनले भने, “हाल दार्जीलिङ पहाड़का धेरै जनता पनि सीएए र एनआरसीबारे अनभिज्ञ छन्, उनीहरूलाई यसबारे केही थाह छैन।”
उनका अनुसार यदि यी कानूनहरू यहाँ पनि लागू भए हामीले के कस्ता प्रमाण-पत्रहरू तयार राख्नुपर्छ, आदिबारे जागरूक गराउनका लागि शीघ्रै जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने पनि योजना बनाइएको छ।
जसका लागि प्राथमिक शिक्षक सङ्गठन, माध्यमिक शिक्षक सङ्गठन र हेड मास्टर सङ्गठनका सदस्यहरूले दुई महीनासम्म जागरूकता अभियान चलाउने विनयले जनाएका छन्।
“किनभने, हाल प्रायः विद्यालयहरूको विदा छ, यसै विदाको अवधि शिक्षक-शिक्षिकाहरूले आम जनतालाई यसबारे जागरूक गराउने कार्य गरे उचित हुनेछ”, मोर्चा दोस्रो खेमाका अध्यक्षले थपे, “यसका लागि पार्टीले सम्पूर्ण तयारी गरिसकेको छ।”
यसरी नै सीएए र एनआरसीको विरोधमा पार्टीले कानूनी पदक्षेपलाई पनि अघि बढ़ाएर लाने पनि उनले बताएका छन्। आउँदो 25 दिसम्बर क्रिसमसलाई ध्यानमा राखेर पार्टीको आन्दोलनात्मक कार्यक्रमलाई केही शिथिल बनाउने तय गरिएको भए तापनि क्रिसमसपछि गोर्खा जनमुक्ति युवा मोर्चाले आफ्नो कार्यक्रम थाल्ने विनयले जनाए।
यद्यपि, आगामी 23 दिसम्बरदेखि 27 दिसम्बरसम्म केन्द्र सरकार अधीनस्थ कार्यालयहरूमा घेराउ कार्यक्रम गर्ने योजना यथावत रहने पनि बताए।
यसैबीच, उनले दार्जीलिङ र कालेबुङ जिल्लामा इनरलाइन परमिट लागू गर्ने माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई पत्राचार गर्ने भएको पनि जानकारी गराए।
यसैगरी आज नै विनयपन्थी मोर्चाले खरसाङ, कालेबुङ र मिरिकमा पनि सीएए र एनआरसीको विरोधमा ऱ्याली निकालेर जनसभा गरेको थियो। खरसाङमा ऱ्याली स्थानीय आईएनए बस टर्मिनसदेखि मोटर स्ट्याण्डसम्म निकालिइएको थियो भने मोटर स्ट्याण्डमा जनससभा भएको थियो।