अनिल लोप्चन। |
अनिल लोप्चन
केन्द्रिय उपाध्यक्ष
गोजयुमो।
एउटा इमान चामलिङ भन्ने मान्छेले मलाई जवाब लेखेछन्। मेरा लागि त्यति समय दिएकोमा उसलाई धन्यवाद। जवाफ पढ़ेपछि उप्रति दया जागेर आयो। विचरा आफ्नो गुटको क्यारेक्टर सबै डिट्टो लेखेछन्। मलाई लगाएका आरोपहरू म क्रमैले जवाफ दिँदैछु :-
१. पहिलो कुरा म गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रीय उपाध्यक्ष होइन भनिएको रहेछ। अध्यक्ष विमल गुरुङले पार्टीबाट निष्कासित गरेको मान्छे विनय तामाङको टीममा हुनेलाई पार्टीमा को के ओहदामा छ भनेर कसरी पो थाहा हुन्छ र? यसैले उसको त्यो आरोपलाई मैले खेल ठट्टा मात्र सम्झिएको छु। आफै असली पार्टीबाट बाहिर बसेर नक्कली ओहदा रमाउनेहरूले यस्तो जानकारी राखेका हुँदैनन्।
२. “पर्सन्टेज कसले उठायो? के जनता अन्धा छन्?” भनेर प्रश्न गरिएको रहेछ। मैले जान्दा चैं ‘सिन्टेक्स बाबा’ उपनामधारी हाम्रो टीममा छैन; इमान चामलिङले आफ्नो टीमपट्टि फर्किएर हेर्नु पऱ्यो।
३. “साढ़े पाँच वर्ष चौकिमा बसेर ६ महिनाका लागि राजीनामा दिनेलाई इमानदार भन्नु कि ढोङ्गी स्वार्थी नेता भन्नु?” भनेर पनि सोधिएको रहेछ। लु नि त! ६ महिना अघि राजीनामा दियो नि त…, तर हामीले थुकेको थुक टिपेर सत्ता सुख भोग्नेहरू चैं हामी कि तिमीहरू? अब भन, को ढोङ्गी र स्वार्थी हो? नाम त इमान रहेछ, जवाफ पनि इमान राखेर नै दिनुपऱ्यो।
४). मलाई जवाफ लेख्दा अध्यक्ष विमल गुरुङलाई मुछेर “मियाद सकिनु आट्दा फेरि चुनाउमा जानपरे निहुँ बनाउन आन्दोलन गरिटोपल्ने नाटकबाजहरू” भनेको रहेछ। यदि हामी नाटकबाज हौँ भने त्यतिबेला जीटीएको खेस्रा जलाउने तिम्रो विनय तामाङ चैं के हो? महानाटकबाज? कि राजनीतिको महादलाल?
५). “विमल गुरुङको गणतन्त्र देखेको आन्दोलनमा जलाउने, भत्काउने, तोडफोड़ गर्न लाउने अनि यस्तो नगर्नेलाई चुरा लगाइदिन्छु, साड़ी लगाइदिन्छु भन्नेले अहिले कसलाई गणतन्त्रको पाठ पढ़ाउन खोजेको?” भन्ने आरोप पनि रहेछ। यो केवल आरोप मात्र हो, तर अहिले त हजुरहरू साँच्चै नै कलकत्ते चुरा लगाएर नै बस्नु भएको छ। यस्तो कुरा अर्कालाई लेख्दा पनि मनमा कुरी कुरी लगेर आउँछ हौ। अहिले इमानहरूले गणतन्त्रको कुरा नगरेकै राम्रो होला। किनभने अहिलेको परिस्थितिमा पहाड़मा गणतन्त्र छ भन्नु ‘गुहु’ सुगन्धित हुन्छ भनेर ढाँटेको जस्तै पो हुन्छ।
६. “विमल खेमाले आदर गर्ने गान्धीचाहिँ पैसामा छापिएको गान्धीलाई मात्र हो” भनेर लेख्दा चैं इमान पनि बेइमान भएर नै लेखेको हो। अहिले पहाड़मा कागजको गान्धीको फूर्ति कसले देखाउँदैछ, फ्लेक सिगरेट खानेले दशैं खर्च बाँड़े भनेर कुन पैसाको धाक देखाउँदैछ, त्यो तिमीले जनतालाई भनिरहनु पर्दैन, त्यो डोकोले थुनेको सत्य हो, बुझ्यौ?
७). “एक करोड़ पचास लाख गोर्खाहरूको राष्ष्ट्रिय चिन्हारी विनय तामङले बेचेको होइनन्, त्यो त १८ सेप्टेम्बर २0११ सालमै विमल गुरुङ र रोशन गिरीले पिन्टेल भिलेजमा जीटीएसँग गोर्खाल्यान्ड आन्दोलन विक्री गर्दा भारतीय गोर्खाहरूको राष्ट्रिय चिन्हारी पनि बेचेका हुन्” भनेर लेख्दा तिम्रो हात अपराधबोधले काँपेन? के त्यति बेला विनय तामाङ, अनित थापा र तिमीहरू आमाको गर्भभित्र थियौं? त्यति बेला किन विरोध गरेनौं? किनभने विमल गुरुङले आन्दोलन ‘ड्रप’ गरेका छैनन् भनेर तिमीहरूलाई थाहा थियो होइन र? धेरै ढाँट्यो भने नि मर्ने बेलामा छातीमा ओजनदार ढक राखेन भने प्राण जाँदैन भनेर उहिलेका बाजे-बोजुले भनेको सुनेको पो थिएँ।
८). इमानले लेखेको रहेछ, “त्यतिबेला यो अनिल लोप्चन भन्ने मान्छे थिएन मोर्चामा उ त पछि आन्दोलन सकिएर जीटीएको टुक्राटुक्री खानुपाउँछ कि भनेर आएको मान्छे हो।” कुरा त ठीक पो हो कि क्या हो। म पार्टीमा पछि आएको हुँ, पहिला थिइनँ। म पार्टीमा आउँदा अध्यक्ष विमल गुरुङको आँखा छलेर तिमीहरूले सबै सोतर खाइसकेको थियौ होला। र, नै म आँउदा टुक्राटुक्री मात्रै उब्रिएको तिमीलाई थाहा भएको रहेछ नि हगि?
९). अन्तमा “यिनी जिताउने होइनन्, हराउने मानिस हुन्।” भनेर लेखिएको रहेछ। एउटा फिल्मी डायलग सुनाउन मन लाग्यो – ‘हारकर भी जितने वालों को बाजीगर कहते हैं|’ अहिले तिमीहरू जितेर पनि हारेको स्थितिमा छौ| यसैले हामीलाई कोतार्ने प्रयास गरिरहन्छौं। हिन्दीमा यसलाई भनिन्छ –‘खिसियानी बिल्ली खम्भा नोचे’। आफ्नो चरित्र आफै लेख्नेहरू अनि आफ्नो नाम आफै काड्नेहरू नेता होइनन्, कुहिरोभित्रका कागहरू हुन्। अन्तमा म पछिबाट पार्टीमा आएको मान्छेलाई यसरी चर्चामा ल्याएकोमा इमानज्युलाई धन्यवाद।