विनयपन्थी युमोद्वारा 29 दिसम्बरको दिन पहाड़ बन्दको घोषणा

0
1365
पत्रकारहरूलाई सम्बोधन गर्दै विनयपन्थी युमो महासचिव अरुण छेत्री र अन्य।

दार्जीलिङ, 23 दिसम्बरः ‘अब पहाड़मा कहिले बन्द हुनेछैन’ भन्ने विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको युवा एकाई गोजयुमोले आउँदो 29 दिसम्बर आइतवारको दिन जीटीए क्षेत्रमा एकदिने बन्दको घोषणा गरेको छ।

यो बन्द राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) र नागरिकता संशोधन कानून (सीएए) -विरुद्ध साङ्केतिक रूपमा डाकिएको विनय तामाङपन्थी गोजयुमो केन्द्रिय समिति महासचिव अरुण छेत्रीले बताएका छन्।

आज दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले साङ्केतिक पहाड़ बन्दको घोषणा गरेका हुन्।

“सीएएमा हामीले देखेको एउटा कमीकमजोरी के छ भने नागरिकता संशोधन ऐनमा अफगानिस्तान, बङ्ग्लादेश र पाकिस्तानबाट जति पनि हिन्दू धर्मावलम्बीहरू आउँछन्, उनीहरूलाई नागरिकता दिएर भारतको नागरिक बनाउने योजना छ। र एनआरसी लागू गरेर भारतवर्षभित्र जो खाँटी नागरिकहरूले दस्तावेज बुझाउन सकेनन् भने उनीहरूलाई देशबाट बाहिर निकाल्ने योजना सरकारले बनाएको छ”, छेत्रीले थपे, “यहाँनेर सम्पूर्ण जनता दिग्भ्रमित भएका छन्। कारण जो अफगानिस्तान, पाकिस्तान र बङ्ग्लादेशबाट आउँदैछन्, उनीहरूको त यहाँका कागज-पत्र छैन। उनीहरूलाई कागज-पत्र कसले दिन्छ भन्दा सरकारले दिन्छ। तर जोचाहिँ खाँटी नागरिक भएर भारत वर्षमा बसेका छन्, उनीहरूको कागज-पत्र छैन भने फेरि देशबाट निकाल्छु भन्ने सरकारको दोहोरो नीति छ। हामी एनआरसीको भन्दा पनि सरकारको यो दोहोरो नीतिको विरोधस्वरूप 29 दिसम्बरको दिन साङ्केतिक रूपमा जीटीए क्षेत्रमा पहाड़ बन्दको आह्वान गर्छौं।”

यसका साथै केन्द्र सरकारले अझैसम्म आफ्नो अड़ान स्पष्ट नगरेकै कारण पनि यो विरोध गरिरहेको उनले थप बताए।

“सरकारले मौखिक रूपमा गोर्खाहरू डराउनु पर्दैन भनेर केही हुँदैन”, उनले थपे, “यदि हाम्रा इस्कुस र करेलालाई पनि एनआरसीले नछुने भए असमका एक लाख 19 हजार गोर्खा एनआरसीबाट छुटेपछि उनीहरूलाई विदेशीको कलङ्क लागेको छ।”

अर्कोतिर, विन्यपन्थी युमो महासचिव अरुण छेत्रीले भारतभरि एनआरसी लागू गर्नअगावै असमका सन्थाल र आदिवासी जातिलाई संरक्षित सूचीमा हालेर देशका अरिजिनल इन्ह्याबिटेन्ट (मूल निवासी)-को दर्जा दिनुपर्ने पार्टीको अड़ानलाई पनि दोहोर्‍याए।

“जबसम्म सरकारको गोर्खा जातिप्रति स्ट्याण्ड क्लियर हुँदैन, जबसम्म हामीलाई प्रोटेक्टेट लिस्टमा हालेर अरिजिनल इन्ह्याबिटेन्टको दर्जा दिनका लागि सरकारले आधिकारिक नोटिफिकेशन जारी गर्दैन, तबसम्म गोर्खा जनमुक्ति युवा मोर्चा, गोर्खा जनमुक्ति मोर्चा यसको विरोधस्वरूप सड़कमा ओर्लिरहनेछन्”, उनले थपे।

यसैबीच, एनआरसी र सीएएको विरोध जनाउँदै विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले पूर्व निर्धारित कार्यक्रमअनुसार, आज केन्द्र सरकार अधीनस्थ सरकारी कार्यालयहरूअघि धरना प्रदर्शन गर्‍यो। जसमा स्थानीय रेलवे स्टेशन, डाकघर तथा अन्य कार्यालयहरू सामेल थिए।

उल्लेखनीय छ, विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले एनआरसी र सीएएको विरोध जनाउँदै धारावाहिक आन्दोलन चलाइरहेको छ। जसमा जिल्लापाल कार्यालय, महकुमा अधिकारी कार्यालयअघि धरना प्रदर्शन, आजदेखि 27 दिसम्बरसम्म केन्द्र सरकार अधीनस्थ कार्यालयहरूमा धरना, पोस्टरिङ आदि सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here