दार्जीलिङ, 23 दिसम्बरः शहीद विक्रम छेत्री (29) सोमवार पञ्चतत्त्वमा विलीन भएका छन्।
बिजनबारीस्थित बड़ारेनिवासी नायक विक्रम छेत्रीको पुणेस्थित आर्मी अस्पतालमा उपचारको क्रममा 21 दिसम्बरको दिन निधन भएको थियो भने आज पैतृक गाउँ बड़ारे ल्याइपुर्याइएको थियो, जहाँ पूर्ण सैनिक सम्मानसहित उनको अन्तिम संस्कार गरियो।
पारिवारिक सूत्रका अनुसार पछिल्लो 14 दिसम्बरको दिन ड्युटीअवधि करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए, त्यसपछि उनी पुणेस्थित आर्मी अस्पतालमा उपचाराधीन थिए, जहाँ शनिवार उनको मृत्यु भएको हो।
2010 मा भारतीय सेनामा भर्ना भएका उनी 5/1 गोर्खा राइफल्समा कार्यरत् थिए। उनको मृत्युको खबरले बड़ारे शोकमा डुबेको छ भने परिवारको अवस्था बेहाल बनेको छ।
छोरोको मृत्युको असहनीय पीड़ाले विक्रमका आमा-बाबाको अवस्था बेहाल भएको छ। उनले आफूपछि आमा-बाबा, दिदी-बहिनी र दाजु-भाइलाई छोड़िसकेका छन्।
पारिवारिक सूत्रका अनुसार दशैंमा एक महिनाको छुट्टी बिताएर ड्युटी फर्केका थिए।