सिलगढ़ी, 26 दिसम्बरः गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफ्नो पार्टीको युवा एकाइद्वारा 29 दिसम्बरको दिन बन्द फिर्ता लिने अपील गरेका छन्।
आज पिण्टेल भिलेजमा पत्रकारहरूलाई सम्बोधन गर्दै विनयले युमोलाई बन्द लिने अपील गरेका हुन्। जनतालाई दुःख नदिई नेतृत्वहरू सड़कमा ओर्लेर विरोध कार्यक्रम गर्नुपर्ने बताउँदै बन्दको सट्टा बरू दुई चरणमा प्रतिवाद ऱ्याली (प्रोटेस्ट मार्च) गर्ने आह्वानसमेत गरेका छन्।
पहिलो चरणको प्रतिवाद ऱ्याली 28 दिसम्बरका दिन बिहान 8:30 बजेदेखि दार्जीलिङको ओल्ड सुपर मार्केटदेखि खरसाङको मोटर स्ट्याण्डसम्म हुनेछ भने दोस्रो चरणको प्रतिवाद ऱ्याली 5 जनवरी बिहान 8:30 बजेदेखि खरसाङको मोटर स्ट्याण्डदेखि सिलगढ़ीको दार्जीलिङ मोड़सम्म रहनेछ।
यसका आउँदा दिनहरूमा पनि सीएए र एनआरसीको विरोधमा अन्य कार्यक्रमहरू पनि गर्ने र ती कार्यक्रम गणतान्त्रिक र शान्तिपूर्ण ढङ्गमा लगातार जारी रहने विनयको भनाइ छ।
यसका साथै आफ्नो अपीललाई मानिलिँदै युवा मोर्चाले 29 दिसम्बरको दिन डाकिएको 24 घण्टे बन्दलाई फिर्ता लिने कुरामा आफू आशावादी रहेको पनि उनले बताएका छन्।
उल्लेखनीय छ, युवा मोर्चा (विनयपन्थी)-ले नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोधमा आउँदो 29 दिसम्बरको दिन बन्द बन्दको घोषणा गरेको थियो।
अर्कोतिर, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले विनयपन्थी युमोद्वारा डाकिएको बन्दलाई जनताविरोधी बताएको थियो।
गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले हिजो पत्रकारहरूलाई सम्बोधन गर्दै ‘अबदेखि पहाड़ बन्द हुनेछैन’ भन्ने विनयपन्थी मोर्चाले आफै पहाड़ बन्द डाकेर दोहोरो नीति देखाएको औ आइतवार डाकिएको बन्दले सरकारलाई प्रभाव नपरेर केवल दैनिक आयमा जीवन धान्नेहरूको आयआर्जन मात्र प्रभावित बन्दसमेत बताएका थिए।