हात्तीको आक्रमणमा फेरि एकजनाको मृत्यु

0
965

सिलगढ़ी, 27 दिसम्बरः मिरिक ब्लकअन्तर्गत पानीघट्टामा शुक्रवार अपराह्न हात्तीको आक्रमणमा एक 51 वर्षीय व्यक्तिले ज्यान गुमाएका छन्। मृतक व्यक्तिको नाम रतन  खवास रहेको बताइएको छ।

जानकारीका अनुसार उनी घाँस काट्न गएका थिए। पछिल्ला केही महिनायता मिरिक खण्डअन्तर्गत तराईमा हात्तीको आतङ्क अत्यधिक बढ़ेको छ, जसको कारण तराईका मानिसहरू त्रस्त बनेका छन्।

पछिल्लो तीन महिनामा तीनजना मानिसले ज्यान गुमाइसकेका छन्।

स्थानीय मानिसहरूका अनुसार क्षेत्रमा एउटा जङ्गली हात्ती पछिल्ला केही महिनायता घुमिरहेको छ, त्यसै हात्तीले रतन खवासलाई मारेको हुनसक्छ। किनभने उक्त हात्तीले यसभन्दा अघि दुईजनाको ज्यान लिइसकेको छ।

प्राप्त जानकारीका अनुसार मृतक रतन पानीघट्टा चियाकमाननिवासी हुन्। उनी पानीघट्टा चियाकमानमा स्टोरकिपर थिए। तर, सन् 2015 देखि नै यस चियाकमान बन्द भएपछि उनी बेरोजगार बनेका थिए भने दैनिक रूपमा घाँस दाउरा गर्न चियाकमान जाने गर्थे।

थप जानकारीका अनुसार आज अन्य तीनजना गाउँलेसँग रतन भुजेल घाँस लिनका लागि गएका थिए। त्यसैबेला अचानक जङ्गली हात्तीले उनीमाथि आक्रमण गरेका हुन्।

अन्य तीनजना साथी भने आफ्नो ज्यान बचाएर त्यहाँबाट भाग्न सफल बनेको बताइएको छ।

यसैबीच पानीघट्टाका तृणमूल कङ्ग्रेस नेता किशोर प्रधानले  मृतक रतन भुजेलका परिवारलाई क्षतिपूर्ति र नोकरी दिनुपर्ने माग गरेका छन्।

पछिल्लो तीन महिनामा यो हात्तीले तीनजनाको ज्यान लिइसकेको छ। र उक्त हात्तीबाट गाउँहरूले सुरक्षा दिन सरकार असफल बनेको छ”, उनले भने। यसका साथै तृणमूल नेता प्रधानले स्थानीय जनतालाई हात्तीको आक्रमणबाट सुरक्षा दिन नसकेकोमा वन विभागको आलोचना गरे।

उल्लेखनीय छ, पछिल्लो 24 अक्टोबरको दिन आफ्ना पतिसँग मर्निङ वक् गरेर फर्किरहेको समय बिहानै हात्तीको आक्रमणमा  परी शान्तिमाया गहतराजले आफ्नो ज्यान गुमाएकी थिइन्।

त्यसदिन हात्तीको आक्रमणमा परी उनका पति मणिकुमार गहतराज पनि घाइते भएका थिए।

त्यसपछि यसको केही दिनपछि अर्थात् 5  नोभेम्बरको बिहान 75 टुक्रे वनबस्तीनिवासी 75 वर्षीय बुद्ध लोहारले पनि हात्तीको आक्रमणमा  परी आफ्नो ज्यान गुमाएका थिए। उनी नक्सलबारी खण्डअन्तर्गत पर्ने विजय नगर चियाकमाननिवासी थिए।

त्यसदिन आक्रोशित च्याँगा बस्तीका मनिसहरूले घण्टौंसम्म पानीघट्टास्थित फरेस्ट अफिसमा घेराउ गरेका थिए।

अर्कोतिर, क्षेत्रमा हात्तीको आतङ्क बढ़ेपछि स्थानीय मानिसहरू आ-आफ्ना घरबाटै बाहिर निस्कन सकिरहेका छैनन्।

यसैबीच च्याँगा बस्तीनिवासी बलदेव शाहले भने, “हात्तीको आतङ्कमा अत्यधिक बढ़ेको छ। यसैले मानिसहरू घरबाट बाहिर निस्कनै सकिरहेका छैनन्।

उनले दिउँसो समय जङ्गली हात्ती छेउछाउकै चियाकमान र गाउँहरूमा घुमिरहेको देखिने गरेको बताएका छन्।

लगातार  एउटै हात्तीको आक्रमणमा परी मानिसहरूले आफ्नो ज्यान गुमाइरहे तापनि अहिलेसम्म उक्त हात्तीबाट गाउँलेहरूलाई सुरक्षा दिन वनविभाग असफल बनेको छ”, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here