दार्जीलिङ, 28 दिसम्बरः नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) –विरुद्ध गणतान्त्रिक र शान्तिपूर्ण ढङ्गमा लगातार विरोध गरिरहने गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा) अध्यक्ष विनय तामाङले बताएका छन्।
शनिवार सीएए र एनआरसीविरुद्ध दार्जीलिङदेखि खरसाङसम्म प्रतिवाद पैदल यात्रा शुरु गर्नअघि पत्रकारहरूलाई सम्बोधनअवधि आफ्नो पार्टीले लगातार गणतान्त्रिक ढङ्गमा सीएए र एनआरसीको विरोध गरिरहने पनि बताएका हुन्।
‘पहाड़लाई हामी कुनै पनि अवस्थामा अगणतान्त्रिक बाटोमा लानेछैनौं’, तामाङले थपे, ‘हामी गणतान्त्रिक ढङ्गमा सीएए र एनआरसीको विरोध गर्नेछौं।’
उल्लेखनीय छ, सीएए र एनआरसीको विरोधमा विनयपन्थी युवा मोर्चाद्वारा आयोजित यो प्रतिवाद पैदल यात्रालाई स्वयं विनय तामाङले नेतृत्व गरेका थिए भने यसमा विनयपन्थी युमोलगायत पार्टीका अन्य भातृ सङ्गठनका सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको छ।
अर्कोतिर युमोद्वारा आयोजित यो प्रतिवाद पैदल यात्रामा जनसाधारण पनि सहभागी भइदिने विनय तामाङले अपील गरेका छन्।उल्लेखनीय छ, पहिलो चरणस्वरूप आज दार्जीलिङदेखि खरसाङसम्म 33 किलोमिटर प्रतिवाद पैदल यात्रा हुनेछ। त्यसपछि दोस्रो चरणस्वरूप आउँदो 5 जनवरीदेखि खरसाङको मोटर स्ट्याण्डदेखि सिलगढ़ीको दार्जीलिङ मोड़सम्म पुनः पैदल यात्रा गरिनेछ।