विद्यार्थीहरूका अनुकरणी कार्य, हिउँदे विदाको समय परोपकारी कार्यमा

0
963

कालेबुङ, ३० दिसम्बरः हिउँदे विदामा घर आएका कालेबुङका केही विद्यार्थीले आफ्नो हातमा रहेको समयलाई मानवीय सेवाका परोपकारी कार्यमा खर्चिने महत् सोच बनाएका छन्।

अहिले उनीहरू कालेबुङको डम्बर चोकमा जुटेर आवश्यक मानिस र नानीहरूका लागि न्याना लुगाफाटा र खाता-किताब सङ्ग्रह गर्ने कार्य गरिरहेका छन्।

जानकारीका अनुसार यो कार्य भोलि अर्थात् मङ्गलवारसम्म चल्नेछ। उनीहरूले सङ्ग्रहित न्याना लुगाफाटा र खाता किताब आवश्यकीय मानिस र ससाना नानीहरूलाई प्रदान गर्नेछन्।

नयाँ वर्षपछि अनाथ आश्रम र विभिन्न गाउँमा पुगेर वितरण गर्ने योजना बनाएको विद्यार्थी आयस्ता छेत्रीले बताएकी छन्।

विपन्न आर्थिक अवस्थाको कारण कठ्याग्रिने जाड़ोमा राम्रोसँग न्याना लुगाफाटा लगाउन नपाउने मानिसहरू तथा ससाना नानीहरूका लागि थोरै भए तापनि सहयोग गर्नका लागि यो कार्य शुरु गरेको यी विद्यार्थीहरू बताउँछन्।

घुमेर विदाको समय बिताउनुभन्दा यस्ता कार्य गरेर कसैलाई सहयोग पुऱ्याउनु मन प्रफुल्लित हुने मानवीय सेवाका कार्य हो’, अनिसा लोहारले भनिन्।

यो मानवीय सेवा कार्यमा लागिपरेका विद्यार्थीहरू सबै कालेबुङबाहिर अध्ययन गर्छन्। अहिले उनीहरू विदामा कालेबुङ आएका छन् भने नयाँ सोच लिएर अघि आएका विद्यार्थीहरूको पहललाई नागरिक समाजले प्रशंसा गरिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here