सीएए र एनआरसीविरुद्ध ममताको उपस्थितिमा विनयपन्थी मोर्चा र तृकंले पहाड़मा विराट् ऱ्याली निकाल्ने

0
1786

खरसाङ, ५ जनवरीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड़ भ्रमणअवधि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमा र तृणमूल कङ्ग्रेसले नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोधमा संयुक्त रूपमा दार्जीलिङमा ऱ्याली निकाल्ने विनय तामाङले बताएका छन्।

आइतवार उनले यसबारे जानकारी गराएका हुन्। आजैदेखि मोर्चा दोस्रो खेमाले सीएए र एनआरसीको विरोधमा खरसाङदेखि सिलगढ़ीसम्मको प्रतिवाद पैदल यात्रा शुरु गऱ्यो।

तामाङका अनुसार आउँदो २२ जनवरीको दिनमा गोजमुमो दोस्रो खेमा र तृणमूल कङ्ग्रेसले पहाड़मा संयुक्त ऱ्याली निकाल्नेछ।

सीएए, एनआरसी र एनआरपीविरुद्ध निकालिइने उक्त ऱ्यालीमा राज्यकी मुख्यमन्त्रीसमेत उपस्थित रहनेछिन्।

जानकारीका अनुसार ममता त्यसै दिन अथवा एकदिन अघि नै पहाड़ आउने कार्यक्रम छ। विनयको दाबीका अनुसार उक्त ऱ्यालीमा पहाड़का मानिसहरूले बाक्लो सङ्ख्या सहभागी जनाउनेछन्।

यसका साथै आउँदो १२ जनवरीको दिन विनय तामाङकै अगुवाइमा सीएए र एनआरसीको विरोधमा मोर्चाले कालेबुङमा ऱ्याली निकाल्नेछ। यो ऱ्याली पेदोङदेखि कालेबुङ डम्बरचोकसम्म निकालिइने बताइएको छ।

यसभन्दा अघि विनयपन्थी मोर्चाले सीएए र एनआरसीको विरोधमा आज दोस्रो चरणअनुसार खरसाङदेखि सुकनासम्म पदयात्रा गरेको थियो।

पदयात्रामा मोर्चा दोस्रो खेमा अध्यक्ष विनय तामाङ र महासचिव एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अध्यक्ष अनित थापालगायत अन्य पदाधिकारीहरूसमेतको उपस्थितिमा बाक्लो सङ्ख्यामा मानिसहरूले सहभागिता जनाएका थिए।

पदयात्रा खरसाङदेखि सिलगढ़ी दार्जीलिङ मोड़सम्म भनिए तापनि रात परेको कारण सुकनासम्म पुगेर समापन गरिएको बताइएको छ।

उल्लेखनीय छ, पहिलो चरणअनुसार पछिल्लो २८ दिसम्बरका दिन दार्जीलिङदेखि खरसाङसम्म पदयात्रा निकालिइएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here