दार्जीलिङ, ८ जनवरीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यको गृहमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने दार्जीलिङका सांसद राजु विष्टले माग गरेका छन्।
वास्तवमा दक्षिण दिनाजपुर र सिलगढ़ीको घटनाको सन्दर्भमा विष्टले यस्तो माग गरेका हुन्।
उल्लेखनीय छ, दक्षिण दिनाजपुरमा केही दिनअघि एक 16 वर्षीय युवतीसँग दुष्कर्म गरी बर्बरतापूर्ण हत्या गरिएको थियो भने पछिल्लो आइतवार राति मिरिकनिवासी एक युवतीसँग सालबारीनजिक एक टोटो चालकले दुष्कर्मको कोशिश गर्नका साथै कुटपिट गरेको थियो।
बुधवार यी दुई घटनासन्दर्भमा विष्टले आफ्नो सोशल मिडिया फेसबुक पेजमा लेखेका छन्, ‘राज्यकी गृहमन्त्रीसमेत रहेकी मुख्यमन्त्री ममता ब्यानर्जीले दुष्कर्मको घटनालाई ‘साजानो घटना’ (सजाइएको या योजनाबद्ध गरिएको) घटना भन्नुको सट्टा पीड़ितालाई सहयोग पुर्याउने कुरामा बढ़ी केन्द्रित भएको भए सायद राज्यमा महिलाहरूविरुद्ध हुने अपराधलाई नियन्त्रण गर्न सकिन्थ्यो।’
पीड़िताहरूका अवस्थाप्रति मुख्यमन्त्रीको उदासीनताकै कारण राज्यमा अपराधीहरूले आपराधिक कार्यलाई जारी राख्नसकेको उनको आरोप छ।
‘आज पश्चिम बङ्गालमा महिलाविरुद्ध अपराधको रेकर्ड सबैभन्दा उच्च छ। महिला र बालकबालिकाको बेचबिखनको रेकर्ड सबैभन्दा बढ़ी रेकर्ड छ’, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई कटाक्ष गर्दै विष्टले भनेका छन्, ‘मुख्यमन्त्री ममतालाई पश्चिम बङ्गालकी गृहमन्त्रीको रूपमा निरन्तरता दिने कुनै अधिकार छैन। उनले आफ्नो पदबाट राजीनामा दिएर उनीभन्दा बढ़ी योग्य व्यक्तिको हातमा यो पद सुम्पिनपर्नेछ।’
यसैगरी सांसद राजु विष्टले राज्यको दुःखद् कानून व्यवस्थामा परिवर्तन आउन आवश्यक रहेको बताउँदै महिला र बालकबालिकाविरुद्ध अपराधका घटनाहरूमा तृणमूल कङ्ग्रेस सरकारले आँखा चिम्लेर बसेको थप आरोप पनि लगाएका छन्।