सिलगढ़ीमा बन्द शान्तिपूर्ण सम्पन्न, 10 पिकेटर्स पक्राउ

0
1051

सिलगढ़ी, 8 जनवरीः केन्द्र सरकारको श्रमिकमारा नीतिहरूविरुद्ध तथा श्रमिकहरूका विभिन्न मागमा  बुधवार देशका विभिन्न श्रमिक सङ्गठनले डाकेको भारत बन्द सिलगढ़ी तथा संलग्न क्षेत्रमा शान्तिपूर्ण सम्पन्न भएको छ।

राज्यको शासक दल तृणमूल कङ्ग्रेसले यो भारत बन्दको विरोध गरे तापनि सिलगढ़ी क्षेत्रमा बन्दमा धेरै असर देखियो। केही वाहन र पसललाई छोड़ेर सधैं अत्यन्त व्यस्त रहने सिलगढ़ी प्रायः सुनसान बनेको थियो। यसैबीच, पुलिसले 10 पिकेटर्सलाई पक्राउ गरेको छ। पक्रा परेका दशैजना एसयूसीआईका सदस्य रहेको बताइएको छ।

मोदी सरकारको जनविरोधी नीतिविरुद्ध आह्वान गरिएको बन्दमा शहरका प्रायः सबै पसले समर्थन जनाउँदै आ-आफ्ना पसलहरू बन्द राखेका थिए भने एकाध वाहन मात्र सड़कमा गुड़ेका देखिए।

यसैबीच, नक्सलबारीमा बन्द समर्थकहरूले बिहानै रेल रोके। जसको कारण सिलगढ़ी, बतासे-कटिहारबीच चल्ने रेलहरूको आवागमन ठप्प बनेको थियो।

बन्दकै समर्थनमा आज बिहान माकपा र कङ्ग्रेसका श्रमिक नेताद्वय समन पाठक र आलोक चक्रवर्तीको नेतृत्वमा शहरमा र्‍याली निकालिएको थियो। र्‍यालीको कारण सड़कमा गुड़िरहेका एकाध वाहनहरू पनि केही समय ठप्प बनेका थिए।

अर्कोतिर, बाघडुग्रा विमान जाने र त्यहाँबाट फर्किने यात्रुहरूले भने कुनै प्रकारको असुविधाको सामना गर्न परेन। किनभने बाघडुग्रा क्षेत्रमा केही निजी वाहनहरूका आवागमन सुचारु थियो भने यात्रुहरूका सुविधालाई ध्यानमा राखेर बन्द समर्थकहरूले कुनै प्रकारको बाधा दिएनन्।

यसैबीचउत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी)-का विभिन्न बस भने विभिन्न मार्ग भएर चलेका थिए। ती बसका चालकहरूले आफ्नो सुरक्षाका लागि हेलमेट लगाएका थिए।

बन्द समर्थकहरूले बसमा ढुङ्गामूढ़ा गरेको खण्डमा बच्नका लागि उनीहरूले बस चलाउँदा हेलमेट लगाएका हुन्। हेर्दा हाँस उठ्दो देखिए तापनि केही वर्षयता बन्दावधि बसका चालकहरूले सुरक्षाका लागि हेलमेट लगाउँदै आइरहेका छन्।

अर्कोतिर, सिटु नेता समन पाठकले बन्द सफल भएको दाबी गरेका छन्। बन्द सफल बन्यो। यसलाई धेरै मानिसहरूले समर्थन गरे”, पाठकले थपे, “केन्द्र सरकारको जनविरोधी नीतिसँग कसै मानिस पनि खुशी छैनन् भन्ने कुरालाई बन्दको सफलताले प्रमाणित गर्छ।

उनले बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यसैगरी कङ्ग्रेसको श्रमिक सङ्गठनका नेता आलोक चक्रवर्तीले पनि बन्द सफल बनेको ठोकुवा गरेका छन्।

10 वटा श्रमिक सङ्गठनले डाकेको बन्द सफल हुनुले के प्रमाणित गर्छ भने जनता केन्द्र सरकारसँग खुशी छैनन्। परिवर्तन आवश्यक छ। बन्दलाई सफल बनाउन सहयोग गरेकोमा हामी जनतालाई धन्यवाद दिँदछौं”, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here