ममतालाई पहाड़का जनताले मनै पराउँदैनन्: विष्ट

0
1321

सिलगढ़ी, 9 जनवरीः राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीको अस्तित्व समाप्त भइसकेकोले 2021-मा हुने राज्य विधानसभाको चुनाउपछि बङ्गालमा भाजपाले सरकार बनाउने दाबी सांसद राजु विष्टले गरेका छन्।

बिहीवार सिलगढ़ीमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद विष्टले यस्तो दाबी गरेका हुन्।

यसका साथै पहाड़मा विनय तामाङ र अनित थापासँग जनता नरहेको कारण ममताको आउँदो पहाड़ भ्रमणले भाजपालाई कुनै असर नपर्ने उनको भनाइ छ।

पहाड़का 90 प्रतिशत जनता भाजपासँग छन्। मोदीजीसँग छन्”, विष्टले थपे, “दिदी (ममता)-ले गोर्खाहरूलाई यति धेरै अत्याचार र उत्पीड़न गरेकी छन्, यसैले गोर्खाहरूले कहिले पनि तृणमूल कङ्ग्रेस र दिदीलाई माफ गर्नेछैनन्। यो निश्चित छ।

दार्जीलिङ यी सांसदको दाबीका अनुसार भाजपाले सिलगढ़ी नगरनिगम पनि जित्नेछ। किनभने सिलगढ़ीमा माकपा कमजोर भएको छ। एक प्रश्नको उत्तरमा उनले पहाड़मा विनय तामाङ र अनित थापाको कुनै जनता नै नरहेको थप दाबी गरे।

यसका लागि उनले पछिल्लो लोकसभा र दार्जीलिङ विधानसभा चुनाउको उदाहरण दिए।

लोकसभा चुनाउमा दुवै आफ्नो बूथ पनि बचाउन सकेनन्। साथै लोकसभा चुनाउकै केही दिनपछि भएको दार्जीलिङ विधानसभा चुनाउमा त विनय तामाङ आफै चुनाउ हारे”, उनले थपे।

विष्टको आरोपका अनुसार अहिलेघरी विनय तामाङ र अनित थापाले जीटीए चलाउन बङ्गालले पैसा दिइरहेकोले पैसाकै लागि ममता र तृणमूल कङ्ग्रेसलाई साथ दिइरहेका छन्।

साथ नदिएको खण्डमा जीटीए चलाउने पैसा बङ्गालले रोक्ने डरले उनीहरूले ममता र तृणमूल कङ्ग्रेसलाई साथ दिन बाध्य बनिरहेको पनि राजु विष्टको भनाइ छ।

अर्कोतिर, 2021-को चुनाउमा हार निश्चित देखेकै कारण ममता ब्यानर्जी चिन्तित भएकोले जनतालाई आफ्नो पक्षमा पार्ने कोशिशस्वरूप सीएए र एनआरसीलाई लिएर नाटक गरिरहेको उनले बताए।

दिदी कहीं कतै पनि जाऊन् तर भाजपालाई कुनै असर हुनेछैन। उनी पहाड़ जाँदा त उल्टै तृणमूल कङ्ग्रेसलाई नोक्सान हुनेगर्छ। किनभने पहाड़ जाँदा केही न केही उल्टो बोल्ने गर्छिन्, त्यसले गोर्खा अझ असन्तुष्ट हुन्छन्”, विष्टले थपे, “पहाड़मा दिदीको कुनै क्रेज नै छैन। कसैले उनलाई मनै पराउँदैनन्।

पहाड़ भ्रमणमा दिदी जाँदा हामीलाई कुनै फरक पर्दैन। पछिल्लो लोकसभा चुनाउमा करिब सात दिन उनी दार्जीलिङ पहाड़मा रहेकी थिइन्। मैले एसएस अहलुवालियाभन्दा दुई गुणा बढ़ी भोटले चुनाउ जिते”, दार्जीलिङका सांसद राजु विष्टले थप दाबी गरे।

यसैगरी पहाड़का सम्पूर्ण जनताले आफूलाई अत्यधिक माया गर्नेगरेको औ पहाड़को समस्याको समाधान आफूमार्फत् नै हुने कुरामा विश्वस्त रहेको उनले ठोकुवा गरे।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here