दार्जीलिङ, ११ जनवरीः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -को एक प्रतिनिधि टोलीले शनिवार भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग भेटवार्ता गऱ्यो।
भाजपा महासचिव यादवसँग विमलपन्थी मोर्चाको प्रतिनिधि टोलीले उक्त भेटवार्ता दिल्लीस्थित भाजपा मुख्यालयमा गरेको हो। गोजमुमो (विमलपन्थी)-द्वारा जारी विज्ञप्तिका अनुसार भेटवार्ताअवधि भाजपा महासचिवले पार्टीले ‘सङ्कल्प-पत्र’-मा उल्लिखित गोर्खाहरूका स्थायी राजनीतिक समाधान र गोर्खा जातिका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिने विषयमा भाजपा सरकार लागिपरेको र यस विषयमा यथाशीघ्र ठोस पहल गर्ने तथा आउँदो फरवरी महिनाभित्र गृहमन्त्री अमित शाहसँग राजनीतिक भेटवार्ता गराउने प्रतिश्रति दिएका छन्।
टोलीलाई पार्टीका वरिष्ठ नेता डा. आरबी भुजेल, कर्णल रमेश आले, लीला कुमार गुरुङ, अनिल लोप्चन, नमन राई र तोप्देन भोटिया आदि सामेल थिए।
अर्कोतिर भेटवार्तापछि बोल्दै भाजपा राष्ट्रिय महासचिव भूपेन्द्र यादवले सङ्कल्प-पत्रमा उल्लिखित गोर्खाहरूका माग पूरा गर्नका लागि भाजपा प्रतिबद्ध रहेको ठोकुवा गरेका छन्।
राज्यको शासक दल तृणमूल कङ्ग्रेसद्वारा गोर्खा जनमुक्ति मोर्चाको सङ्घर्ष दबाउनका लागि तृणमूल कङ्ग्रेसद्वारा विभिन्न प्रकारको षड़यन्त्र गरिएको तथा यसका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीसमेत अन्य नेताहरूमाथि झूटा मुद्दाहरूमा फँसाइएको पनि यी भाजपा महासचिवले बताएका छन्।
यसका साथै उनले भाजपा विमलपन्थी मोर्चाको साथमा रहेको औ सङ्कल्प-पत्रमा गोर्खाहरूका लागि सङ्कल्पित मागलाई पूरा गर्ने दाबी गरेका छन्।