कालेबुङ, १२जनवरीः नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-ले यदि पहाड़का जनतालाई शरणार्थी बनाएको खण्डमा जनताको सुरक्षाका लागि आफू शहीद बन्ने दाबी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बताएका छन्।
आइतवार सीएए र एनआसीविरुद्ध पेदोङदेखि कालेबुङ डम्बरचोकसम्म निकालिइएको पदयात्रालाई सम्बोधन गर्दै उनले दाबी गरेका हुन्।
“यदि एनआसी र सीएएले गोर्खा जातिलगायत यहाँका अन्य जातिलाई शरणार्थी बनाउँछ भने शरणार्थी बनाउनअघि तपाईंहरूको रक्षाका लागि म शहीद बनेको हुन्छ”, विनयले भने।
गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङमाथि यसअवसरमा कटाक्ष १० मार्च २०१० -मा गोली ठोकेर मर्छु भनेर घोषणा गरे तापनि गोली नठोकेको बताए।
“तर जनताको सुरक्षाका लागि कहिले म शहीद हुन्छु, त्यो तारिख भने बताउँदिन”, तामाङले भने, “किनभने एनआरसी र सीएए यहाँ लागू गरेसम्म मैले केही गर्नुपर्दैन।”
सीएए र एनआरसीलाई दार्जीलिङ पहाड़मा लागू हुनबाट रोक्नका लागि आफ्नो अन्तिम हतियार प्राण त्याग रहेको ठोकुवा गरे।
“अन्त्यमा मेरो हतियार मैले मेरो प्राण तपाईंहरूका लागि त्याग्नुबाहेक अरू विकल्प छैन”, विनयले थपे, “आज मैले यो ऐतिहासिक जग्गा स्व. डम्बरसिंह गुरुङको जग्गामा भन्दैछु।”
पहाड़का ८७.२ प्रतिशत जनतासँग जमिनको कागज-पत्र नभएको कारण भोलिको दिनमा पहाड़मा एनआरसी र सीएए लागू भएमा दार्जीलिङ पहाड़का अधिकांश जनतालाई असर पर्ने हुनाले आफूहरूले सीएए र एनआरसीको विरोध गरिरहेको पनि विनयले स्पष्ट पारे।
यसअवसरमा उनले एनआरसी र सीएएको लगातार विरोध गरिरहेको दोहोर्याए भने जनतालाई दुःख नदिइकनै नेताहरू सड़कमा ओर्लिनुपर्ने ‘नयाँ सोच-नयाँ विचार’ पार्टीले लिएकोले पछिल्लो दशैंमा दशैं पनि नभनी चियाश्रमिकहरूका लागि २० प्रतिशत बोनसका लागि आफू आमरण अनशन बसेको बताए।
साथै आफू अनशन बसेकै कारण दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले 20 प्रतिशतको बोनस पाउनसकेको दाबीसमेत गरे।
अर्कोतिर, उनले एनआरसी र सीएएविरुद्ध जनतालाई सचेत बन्ने आह्वान पनि गरे।
उल्लेखनीय छ, आज बिहान करिब ९:३० बजेदेखि पेदोङ खेल मैदानबाट निकालिइएको उक्त र्याली कालेबुङस्थित डम्बरचोकमा समापन गरिएको थियो। र्यालीलाई तामाङ स्वयंले अगुवाइ गरेका थिए।
यसअवसरमा मोर्चा (दोस्रो खेमा) कालेबुङका कार्यकर्ताहरूका बाक्लो सहभागिता रहेको थियो।
स्मरणरहोस्, एनआरसी र सीएएविरुद्ध विनयपन्थी मोर्चाले निकालेको यो पदयात्रा तेस्रो हो।
यसभन्दा अघि पछिल्लो २८ दिसम्बरको दिन दार्जीलिङदेखि खरसाङसम्म र त्यसपछि पछिल्लो ५ जनवरीको दिन खरसाङदेखि सुकनासम्म पदयात्रा निकालेको थियो।