दार्जीलिङ, १२ जनवरीः आइतवार दार्जीलिङलाई स्वच्छ र हरियाली राख्नहेतु जागरूक बनाउनका लागि साइकल ऱ्याली आयोजन गरियो। यो क्लिन दार्जीलिङ, ग्रीन दार्जीलिङ अभियानकै एक अंशको रूपमा थियो, जसलाई आज हिमालयन माउण्टेरिङ इन्स्टिट्यु र रामाकृष्ण मिशनको सहयोगमा दार्जीलिङ जिल्ला प्रशासनले आयोजन गरेको थियो।
यसका साथै आजको कार्यक्रम स्वामी विवेकानन्दको १५७औं जयन्तीको रूपमा पनि पालन गरिएको थियो।
“आजको कार्यक्रमको मुख्य उद्देश्य स्थानीय मानिसहरूसँग सँगै यहाँ घुम्न आएका पर्यटकहरूलाई स्वच्छ र हरियाली दार्जीलिङबारे जागरूक बनाउनु हो”, दार्जीलिङका एडीएम (डी) वाणीशिखा देले भनिन्। यसैगरी एचएमआईका प्राचार्य जय किशनले आजको कार्यक्रममा राष्ट्रिय युवा दिवसको रूपमा पालन गरिएको औ यस कार्यक्रममार्फत् देशको विकासका लागि युवाहरूको योदगानमाथि प्रकाश पारी उनीहरूलाई यसप्रति अभिप्रेरित गर्ने कोशिश गरिएको बताए।
‘‘हामीले स्वामी विवेकानन्दका शिक्षाहरूलाई आत्मसात गरी अघि बढ़ेको खण्डमा देश र समाजका लागि राम्रो कार्य गर्नसक्छौं’’, उनले भने।
यसैबीच, तेञ्जिङ रक (भाले ढुङ्गा)-बाट निकालिइएको साइकल ऱ्याली साइकल ऱ्याली शहर परिक्रमा गरेर एचएमआई आएर समापन गरिएको थियो।
यसैगरी तेञ्जिङ रकमा ग्रीन बूथ पनि आज उद्घाटन गरियो, यहाँ स्वच्छ र हरियाली दार्जीलिङको अभियानअन्तर्गत मानिसहरूलाई सहभागी गराई १५ दिनसम्म स्वच्छता पहल चल्नेछ।
यसका साथै तेञ्जिङ रक क्षेत्रका पसलेहरूलाई कुड़ादान तथा साइकल ऱ्यालीमा सहभागीहरूलाई स्वामी विवेकानन्दका पुस्तकहरू वितरण गरिएको थियो।