सीए अपहरणकाण्डमा सुकनाका व्यक्ति पनि पक्राउ

0
1227
पत्रकारहरूलाई सम्बोधन गर्दै पुलिस आयुक्त त्रिपुरारी अर्थव।

सिलगढ़ी, 13 जनवरीः सिलगढ़ी पञ्जाबीपाड़ानिवासी चार्टर्ड अकाउण्टेण्ट (सीए)  किशन अग्रवाल (47)- अपहरणकाण्डमा पक्रा पर्ने आरोपी चार अपहरणकारीमध्ये एकजना एसआईटी रोड सुकनानिवासी रञ्जीत घिमिरे (45) रहेको पुलिसले बताएको छ।

सिलगढ़ी र बिहार पुलिसले एक संयुक्त छापामारी अभियान चलाएर बिहार र उत्तर प्रदेश राज्यको सीमा गोपालगञ्चमा अपहृत सीए अग्रवाललाई उद्धार गर्नका साथै चारजना अपहरणकारीलाई पक्राउ गरेको थियो।

यसका साथै पुलिसले फिरौतीको रूपमा मागिएको पैसा पनि बरामद गरेको बताइएको छ।

सोमवार सिलगढ़ी पुलिस आयुक्त त्रिपुरारी अर्थवले एक पत्रकार सम्मेलन डाकेर अपहरणकाण्ड र पक्रा परेका आरोपी अपहरणकारीहरूबारे जानकारी गराए।

उनले बताएअनुसार पक्रा पर्नेहरूमा सुकनानिवासी रञ्जीत घिमिरेलगायत असमनिवासी रविन उराँव (24) र अनवर हुसैन (27) तथा बिहारनिवासी फैज अहमद (20) रहेका छन्।

पुलिसले उनीहरूबाट फिरौतीको रूपमा मागिएको 47 लाख रुपियाँ, दशवटा मोबाइल फोन, पिस्टोल, जिउँदो कारतुस र टीयूभी 330 वाहन पनि जफत गरेको पुलिस आयुक्त अर्थवले बताए।

उनका अनुसार चारै आरोपी अपहरणकारीमाथि भारतीय दण्डसंहिताको धारा 385, 387, 25 (1बी) (ए)/26/35 अन्तर्गत् मुद्दा दर्ता गरिएको छ।

अहिले चारैजना आरोपी अपहरणकारीलाई बिहारको मोतीपुर थाना राखिएको तथा कागजी औपचारिकता पूरा भएपछि सिलगढ़ी ल्याइने उनले बताएका छन्।

उल्लेखनीय छ, पछिल्लो मङ्गलवार बिहानै अग्रवाल आफ्नै घरबाट बेपता बनेका थिए। पछि अपहरणकारीहरूले उनलाई छोड़्नका लागि 5 करोड़ फिरौती राशि मागेका थिए।

यसपछि 11 जनवरीको दिन परिवारले बिहारको गोपालगञ्ज पुगेर अपहरणकारीहरूलाई 47 लाख दिएका थिए।

त्यसपछि पुलिसले उक्त स्थानलाई चिह्नित गरी पुलिस सक्रिय बनेको थियो। यसमा सिलगढ़ी पुलिसलाई बिहार पुलिसले सहयोग गरेको थियो।

यसपछि नै पुलिसले चार आरोपी अपहरणकारी पक्राउ गरी सीए किशन कुमार अग्रवाललाई उद्धार गर्न सफल बनेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here